क्याम्पस प्रमुखलाई कार्यकक्षमै दुर्व्यवहार, विद्यार्थी दले मोसो

जनकपुरधाम – जनकपुरको रामसागर रामस्वरुप बहुमुखी क्याम्पस प्रमुखलाई कार्यकक्षमै मोसो दलेका छन्।

क्याम्पसको अवस्था दिनानुदिन बिग्रिँदै गइरहेको जनाउँदै पटक–पटक सुधार गर्न आग्रह गरेपनि प्रमुख विजयलाल दासले बेवास्ता गरेपछि विद्यार्थीहरुले उनको कार्यकक्षमै गएर मोसो दलेका हुन्।

राजपा नेपाल निकट विद्यार्थी संगठन राष्ट्रिय विद्यार्थी संघको अगुवाईका विद्यार्थीहरुले आइतबार दिउँसो कार्यकक्षमा पुगेर मोसो दलेको संघका केन्द्रीय महासचिव रञ्जित निष्पक्षले बताएका छन्। यस्तै, विद्यार्थीहरुले प्रमुखलाई केहीबेर कार्यकक्षमै थुनेको बताइएको छ।

क्याम्पसमा नियमित पठनपाठन हुनुपर्ने, राम्रो प्रोफेसरको व्यवस्था हुनुपर्ने, कक्षाकोठामा बिजुलीबत्ती तथा झ्यालढोकाको व्यवस्था हुनुपर्ने, शौचालय व्यवस्थित हुनुपर्ने लगायतको १६ बुँदे मागसहितका् ज्ञापनपत्र राष्ट्रिय विद्यार्थी संघले क्याम्पस प्रमुखलाई बुझाएको थियो।

तर, ज्ञापनपत्र पश्चात क्याम्पसको अवस्था सुधार नभएको र क्याम्पस प्रमुख दासले अटेरी गरेको जनाउँदै बाध्य भएर राष्ट्रिय विद्यार्थी संघ, संघका राराब इकाई कमिटी लगायतका विद्यार्थीहरुले मोसो दलेको विद्यार्थी संघले जनाएको छ।

गत १५ दिनदेखि राराबका विद्यार्थीहरुले क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरी आन्दोलन गर्दै आएका थिए। आइतबार बाध्य भएर मोसो दलिएको राराबमा अध्ययनरत विद्यार्थी कुलदीप साहले बताएका छन्।

पुस १, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्