प्रदेश-५मा धेरै भण्डारण क्षमता भएको कोल्ड स्टोर सञ्चालन

दाङ– लमही नगरपालिका वडा नं. ३ टिकुलिगढमा निर्माण भएको प्रदेश ५ को सवै भन्दा धेरै भण्डारण क्षमता रहेको कोल्ड स्टोर परिक्षणको रुपमा सञ्चालनमा आएको छ।

तीन हजार दुई सय मेट्रिक टन भण्डारण क्षमता भएको कोल्ड स्टोर परिक्षणको रुपमा सञ्चालनमा आएको राप्ती उद्यम प्रालीका अध्यक्ष देवानजंग चौधरीले जानकारी दिए।‘कोल्ड स्टोर निर्माणको अन्तिम चरणमा पुगेको छ । तर, हामिले परिक्षणको रुपमा सञ्चालन गरिरक्यौं’चौधरीले भने–‘अव यसको औपचारीक उद्घाटन गर्न मात्रै बाँकी छ । परिक्षणको क्रममा किसानलाई सेवा समेत दिएका छौं ।’

कोल्ड स्टोर परिक्षणको रुपमा सञ्चालनमा आईसकेपनि निर्माणको अन्तिम चरणमा रहेको छ। ९ करोड ६८ लाख ५० हजार ९ सय ३८ रुपैयाँ कुल लागत कोल्ड स्टोर निर्माण भैरहेको हो। करिब ९ करोड बरावरको कार्य सम्पन्न भई सकेको छ।

नेपाल सरकार, कृषि तथा पशुपंक्षी बिकास मन्त्रालय, साना तथा मझौला कृषक आय स्तर बृद्धि आयोजना, नेपालगंजसँग २०७२ साल चैत्र ९ गते सम्झौता भई दुई करोड ९९ लाख ४२ हजार ७ सय ७६ रुपैयाँ पुरक अनुदान र राप्ती उद्याम प्रालीको संयुक्त लगातमा कोल्ड स्टोर निर्माण भएको हो । कम्पाण्ड, गार्ड तथा कार्यालय भवन बनाउन बाँकी छ।

कोल्ड स्टोरमा ३ वटा मल्टी चेन्बर रहेको र परिक्षणको रुपमा १ वटा च्याम्वर सञ्चालनमा ल्याइएको हो । गत फागुन महिना देखि आलु, फलफुल तथा धान भण्डारण गरिएको छ। परिक्षणकै क्रममा एक सय २३ मेट्रिक टन आलु सुरक्षित भण्डारण गरिएको हो ।

सबैभन्दा बढि लमही न.पा. ८, सतबरिया निवासी सनिराम चौधरीले चार हजार ७ सय ५० किलो आलु भण्डारण गरेका छन् ।‘आफ्नै ठाउँमा कोल्ड स्टोर सञ्चालनमा आउदा धेरै सजिलो भयो’ चौधरीले भने–‘जिल्ला बाहीर जानु पर्ने बाध्यता थियो। अब त्यो बाध्यता हट्यो ।’ त्यसैगरी स्थानीय ब्यापारीबाट ४८ मेट्रिक टन फलफुल भण्डारण गरिएको छ। सुरेश फलफुल पसल, लमहीले सबै भन्दा बढी २६ मेट्रिक टन फलफुल भण्डारण गरेको छ ।

पुस २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्