झोला र कापी दिएर परिवारको जिम्‍मा

उद्योग र पसलबाट १४ बालश्रमिकको उद्धार

दाङ-घोराहीका विभिन्‍न पसल तथा उद्योगमा कार्यरत १४ जना बालश्रमिकको उद्धार गरी परिवारको जिम्मा लगाइएको छ।

घोराही उपमहानगरपालिका र युनिसेफको सहयोगमा हिमालयन शान्ति तथा विकास अभियान हिप्डेक नेपालले उद्धार गरेका १४ जना श्रमिक बालबालिकालाई नगर प्रमुख नरुलाल चौधरीले आवश्‍यक शैक्षिक सामाग्रिहरु सहित माला लगाएर परिवारको जिम्मा लगाए।

कामबाट उद्धार गरिएका बालबालिकाहरुलाई विद्यालय भर्ना गर्ने सहमति अनुसार परिवारलाई आयआर्जनका लागि जनही १५ हजार रुपैयाँ व्यवसायी खर्च समेत दिईएको छ।

उद्धार तथा पुर्नःस्थापना गरिएका बालबालिकाहरुमा घोराही १४ का सन्दिप परियार, विकास बिक, सागर बुढाथोकी, चन्दा विश्वकर्मा, विजय विक, वडा नम्बर १५ का धनबहादुर डाँगी, कमल सार्की, वडा नम्बर ३ का आशिर्बाद चौधरी, वडा नम्बर १३ का मिलन परियार, प्रेम विक, वडा नम्बर ७ का तुलसा विक रहेका छन्।

त्यसैगरी, तुलसीपुर १८ का सुरेश नेपाली, बंगलाचुली ४ का धनबहादुर घर्ती, केशब नेपालीलाई पनि कामबाट उद्धार गरेर परिवारमा पुर्नःस्थापना गरिएको छ । विद्यालय जानका लागि उनिहरुलाई पोशाक, झोला, कापि, कलम उपलब्ध गराईएको छ भने अभिभाबकलाई १५ हजार रुपैयाँका दरले व्यवसाय गर्न रकम दिईएको छ ।

ग्रिल उद्योग, गाडी धुलाई सेन्टर, होटल, फर्निचर उद्योग, जुत्ता सिलाउने पसलबाट उनिहरुलाई उद्धार गरेर परिवारमा पुर्नःस्थापना गरिएको हिप्डेकका अध्यक्ष विकिरण गौतमले जानकारी दिए

पुस २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्