महिलाको राष्ट्रिय प्रतियोगिताका लागि पूर्वाधार निर्माण तीव्र

गौचरण र ड्राइभिङ सिक्ने थलो स्वरुप फेरिएर बन्यो क्रिकेट मैदान

दाङ – तीन वर्षअघि लमहीको क्रिकेट मैदान नाममा मात्रै सीमित थियो। मैदानको आकार थियो। तर, खेल खेल्ने लायक भने थिएन।
गौचरण र ड्राइभिङ सिक्ने थलो बनेको लमहीको क्रिकेट मैदानको अहिले रुप फेरिएको छ। चारैतिर पक्की पर्खाल। किनारै किनार नाला।

वर्षाको पानी यही नाला हुँदै खोलामा मिसिने छ। जसले गर्दा मैदानको स्वरुपलाई वर्षाको पानीले बिगार्ने छैन। कालो माटो हालेर मैदान सम्याइएको छ। मैदानको स्वरुप फेरिएपछि खेलाडीहरु उत्साहित बनेका छन्।

‘तीन वर्षअघि ढुङ्गै–ढुङ्गा, झारै–झार थियो, कहिले महोत्सव लगाउने त कहिले गाडी सिक्ने थलो बनेको थियो,’ क्रिकेट खेलाडी अमित तामाङले भने, ‘अहिले मैदानले रुप फेरेको देख्दा खुशी लागेको छ। अब यो मैदानमा नियमित खेल होस्, देश विदेशका खेलाडीहरु भित्र्याउन सकियोस्।’

पूरानो मैदान।

लमहीको क्रिकेट मैदानले नेपालको चर्चित अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता हुने कीर्तिपुरको क्रिकेट मैदानलाई ओझेल पार्न सक्ने क्षमता यो मैदानसँग रहेको क्रिकेट खेलको मैदान विज्ञ क्युरेटर प्रफुल्ल सागर प्रधानले बताए।

‘यही अवस्थामा यो मैदानलाई थप पूर्वाधार विकास गर्दै अघि बढाउन सकियो भने यसको भविष्य उज्ज्वल छ,’ उनले भने, ‘नाम चलेको क्रिकेट मैदानलाई ओझेल पार्न सक्छ।’

महिलाको राष्ट्रिय प्रतियोगिताको तयारी

लमहीको क्रिकेट मैदानमा राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता हुने भएको छ। आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत माघ २५ गतेदेखि फागुन ३ गतेसम्म हुने महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता लमहीको क्रिकेट मैदानमा आयोजना गरिने प्रदेश खेलकुद परिषद प्रदेश ५ का अध्यक्ष भीम ओलीले बताएका छन्।

स्वरुप फेरेको त्रिकेट मैदान।

‘राष्ट्रियस्तरको महिलाहरुको क्रिकेट प्रतियोगिता लमहीको क्रिकेट मैदानमा हुँदैछ,’ उनले भने, ‘यसको तयारीमा जुटेका छौँ, मैदानमा थप आवश्यक पर्ने पूर्वाधारहरु बनाउन जुटेका हौँ, यो प्रतियोगिताले लमही क्रिकेट मैदानको चर्चा देश विदेशसम्म पुग्ने छ।’ लमहीमा राष्ट्रिय प्रतियोगिता हुन थालेकोमा यहाँका खेलाडी, खेलप्रेमीहरु उत्साहित बनेका छन्।

पिच निर्माणको काम शुरु

लमही क्रिकेट मैदानमा पाँच वटा पिच (बलिङ र व्याटिङ गर्ने स्थान) निर्माण गर्ने योजना बनाइएको छ। त्यही योजनाअनुसार पिच निर्माणको कार्य अघि बढाउन राष्ट्रिय खेलकुद परिषदले मैदानका विज्ञ क्युरेटर प्रफुल्ल सागर प्रधानलाई लमही ल्याएको छ। प्रधानकै रेखदेख र प्राविधिक सल्लाह अनुसार पिच निर्माण हुने छ।

क्रिकेट मैदानमा पिच बनाउन आएका क्यूरेटरलाई मैदानबारे जानकारी गराउदै खेलाडी। तस्बिरः दशरथ घिमिरे/देश सञ्चार

पिच बनाउन आवश्यक पर्ने माटो र कच्चा पदार्थको खोजी भैरहेको देउखुरी क्रिकेट क्लबका सचिव पवन शर्मा रिजालले बताए। नेपालमा बनिरहेका क्रिकेट मैदानहरु भारतीय क्रिकेट मैदानकै प्राविधिको आधारमा भइरहेका छन्।

पिच निर्माण गर्न राखेपले १५ लाख बजेट विनियोजन गरेको छ। त्यही बजेटले महिलाहरुको राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पिच तयार गरिने छ।

नगर विकासको तीन करोड लगानी

लमहीको क्रिकेट मैदान बनाउन नगर विकास समितिले झण्डै तीन करोड रुपैयाँ लगानी गरेको छ। आर्थिक वर्ष २०५८÷०५९ बाट मैदान बनाउन थालिएको हो।

विभिन्न चरणमा गरेर मैदानमा झण्डै तीन करोडको लगानी लागेको नगर विकास समितिका सव–इञ्जिनियर तुलसीराम अर्यालले बताए।

यस्तै राष्ट्रिय खेलकुद परिषदले अहिलेसम्म जम्मा ६० लाख लगानी लगाएको छ। पिच बनाउन यस वर्ष खर्च गर्न लागेको १५ लाख रुपैयाँसहित राखेपको जम्मा लगानी ७५ लाख हुने छ।

पुस २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्