ज्ञानेन्द्रले सत्ता छोड्नुअघि गिरीको त्यो भविष्यवाणी

२०६२ मंसिर/पुसतिरको कुरा हो। शाही कदम (२०६१ माघ १९) को विरोधमा दैनिकजसो नेपाली कांग्रेस, नेकपा एमाले लगायत तत्कालीन ७ राजनीतिक दल र पछि नेपाली कांग्रेस प्रजातान्त्रिक (शेरबहादुर देउवा सभापति) सडकमा होमिइसकेको थियो। निरंकुश राजतन्त्र चाहिँदैन भन्दै टुँडिखेल/रत्नपार्न लगायत स्थानमा दिनहुँ नाराजसलुस/धर्ना हुने गर्थ्यो। त्यही मेसो पारेर शाही कदमको औचित्यका बारे सञ्चार समूह नेपालमा ७ राजनीतिक दलका प्रतिनिधि र सरकारमा सहभागी मन्त्रीबीच साक्षात्कार हुने निधो भयो।

त्यतिबेला रिपोर्टर्स क्लब, सञ्चार समूह, संवाद समूह लगायत प्लेटफर्म दलहरुलाई आफ्ना धारणा सुन्ने प्रमुख माध्यमहरु पनि बनेका थिए। ठ्याक्कै मिति चाहिँ याद छैन अहिले, सञ्चार समूह नेपालका अध्यक्ष रामहरी चौलागाईँले बिहान ११/१२ बजेका लागि तत्कालीन मन्त्रिपरिषदका उपाध्यक्ष डा. तुल्सी गिरी, नेकपा एमालेका नेता केपी शर्मा ओली र कांग्रेस उपसभापति सुशील कोइरालालाई साक्षात्कारका लागि बोलाएका थिए। म रत्नराज्यलक्ष्मी क्याम्पसमा पत्रकारिता पढ्दै गरेको। हरेक दिनजसो राजनीतिक घटनाक्रमबारे चासो हुने। दाजु बासुदेव दाहाल रेडियो नेपालको घटना र विचार र परिवेश कार्यक्रम सञ्चालक हुनुहुन्थ्यो। उहाँले यस्ता साक्षात्कार कार्यक्रम हुँदा मलाई सुन्न आइज है भन्ने सधैँ। मोहन दाइ (मोहन श्रेष्ठ, मोहन ढुंगेल), रेसन पौडेल, कर्णप्रखर धिताल दाइले पनि यस्ता कार्यक्रममा मलाई छुटाउनु हुँदैन थियो, आइज भाइ कार्यक्रममा भनेर। म पनि चासो दिएर हरेकजसो यस्ता कार्यक्रममा उपस्थित हुने। त्यस दिन पनि मन्त्रिपरिषद् उपाध्यक्ष गिरी तथा ७ राजनीतिक दलका तर्फबाट ओली र कोइराला सञ्चारसमूह नेपालको साक्षात्कार कार्यक्रममा अतिथि बन्ने निधो भएछ।

त्यही अनुसार ७९ वर्षीय गिरी निर्धारित समयमै सञ्चारसमूहमा पुगे। नजिकैबाट गिरीलाई कहिल्यै नदेखेको मैले। अग्लो कद, लाम्चो चेहरा र दौरासुरुवालमा उपस्थित उनलाई नजिकैबाट देखेँ। रामहरिले उनलाई रिसिभ गरे। अनि अन्य दुईजना अतिथिलाई पुनः कल गर्न थाले रामहरि। तर गिरी आएको चाल पाएरै होला सायद, ओलीले गिरी आएको कार्यक्रममा आउन नसक्ने जनाउ दिए। लगत्तै अर्का अतिथि कोइरालाले पनि स्वास्थ्यको कारण देखाउँदै उपस्थित हुन नसक्ने बताए। कार्यक्रम सञ्चालक रामहरि हतासमा देखिए। बाहिर–भित्र गर्दै ओली र कोइरालाका पीएलाई फोन दबाउन थाले।

तर, नआउने नै निधो भएको पुष्टि भो। यसबारे केहीबेरमा रामहरिले ओली र कोइराला साक्षात्कारमा उपस्थित नहुने कुरा गिरीलाई सुनाए।

हुन त राजा त्रिभुवनसँग संगत तथा महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्रसँग राजकाज/राज्य सञ्चालनमै सामेल भइसकेका गिरीलाई त्यसले कुनै महत्व राख्दैन थियो होला। २०१७ सालपछि मन्त्रिपरिषद उपाध्यक्ष, मन्त्रिपरिषद अध्यक्ष, प्रधानमन्त्री हुँदै राजा ज्ञानेन्द्रको शासनमा मन्त्रिपरिषदको वरिष्ठ उपाध्यक्ष थिए उनी। गिरीपछि वरियतामा कीर्तिबाबु (कीर्तिनिधि विष्ट) थिए। उपाध्यक्ष। तर, आफू उपस्थित भएको कार्यक्रममा नआएकोमा उनको ७ दलका नेताप्रति पनि आक्रोश नै देखिन्थ्यो। कस्तो संयोग पनि। विसं २०१५/१६ साल कांग्रेसका तत्कालीन महामन्त्री गिरीका स्वकीय सचिव थिए रे सुशील। अहिले उननै सुशीलबाटै गिरी उपस्थित कार्यक्रम बहिस्कार। त्यो औपचारिक साक्षात्कार सुरु हुनु अघि गिरीले भनेका थिए, ‘प्रजातन्त्र/बहुदलको कुरा गर्ने, अनि फरक आस्था र विचार राख्नेसँग तर्कबहस नगर्ने पनि प्रजातन्त्र हुन्छ।’ त्यो अनौपचारिक कुराकानीमै रामहरि र दाजु बासुदेव दाहालसँग गिरीले भनेका थिए, ‘मैले राजनीति गर्दा उहाँहरु भर्खर बामे सर्दै हुनुहुन्थ्यो, अहिले मलाई राजनीतिक सिकाउन मिल्छ र?” हुन पनि गिरी उमेरले पनि कोइराला भन्दा १३ वर्ष र ओली भन्दा २६ वर्ष जेठा र राजकाजमा त कुरै नगरौं। कार्यक्रम सुरु भयो, गिरीले करिव ४५ मिनेट जति शाह कदमको बचाउमा धारणा राखे। त्यही क्रममा एकजना पत्रकारले गिरीलाई प्रतिप्रश्न गरे– ‘जनमत भएका दलहरुलाई बाहिर राखेर कसरी समस्या समाधान हुन्छ?’

त्रिभुवनदेखि राजाको संगत गरेका गिरीले महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्रका पालामा मन्त्री, मन्त्रीपरिषद उपाध्यक्ष, अध्यक्ष र प्रधानमन्त्री जस्ता महत्वपूर्ण राजकीय ओहोदामा बसे। कुनै आर्थिक अनियमितता जस्तो कलंक नभोगेका उनी सधै निर्दलीय पञ्चायती व्यवस्थाको आफ्नो मूल्यमान्यताबाट विचलित भएनन्। उनै गिरी मंगलबार ९३ वर्षको उमेरमा संसारबाट विदा भए।

उपाध्यक्ष गिरीले उल्टै प्रतिप्रश्न गरिहाले– ‘तपाई कुन जनमतको कुरा गर्नुहुन्छ ? ५/६ वर्ष अघिको जनमत र अहिलेको जनमतको तुलना गर्ने आधार के हो ?’ महाराजधिराजले चुनावमा आउन आह्वान गर्दा नमानेको को हो ?’

फेरि अर्को प्रश्न पत्रकारबाटै आइहाल्यो– धर्ना तथा आन्दोलनमा जनलहर नै छ नि?

गिरीको जवाफ थियो– ‘हेर्नुस, टुँडिखेल/रत्नपार्क आसपास कार्यक्रम भइरहँदा एकछिन सबारी जाम पर्‍यो भने हजारौंको भीड हुन्छ, के त्यो भीड आन्दोलनकारीको हुन्छ? के त्यो दलहरुको जनमत भन्ने?’ हुन पनि गिरीले नै भनेको सही ठहरियो, २०५६ को आम निर्वाचनमा पहिलो र दोस्रो दल बनेका नेपाली कांग्रेस र नेकपा एमालेले २०६२/६३ को जनआन्दोलनपछि पहिलो संविधानसभा चुनावमा लज्जास्पद हार बेहोरे । जनमत उनीहरुले भनेभन्दा विल्कुल फरक माओवादीको पक्षमा गयो।

साक्षात्कार अवधिभर राजाको शाही कदमको पक्षमा बोलेका गिरीको बेलुका तथा भोलिपल्ट सरकारी सञ्चारमाध्यममा समर्थनमा समाचार आयो। तर निजी सञ्चारमाध्यमले उनका अभिव्यक्तिलाई आफू अनुकुल समाचार बनाए। भोलिपल्ट आन्दोलनरत दलहरु सरकारसँग झनै चिढिए। सरकार परिस्थितिलाई भड्काउन लागेको आरोप नेताहरुले लगाए। आन्दोलन र धर्नाका कार्यक्रमले निरन्तरता पायो। त्यसको केही सातापछि दाजुसँगै गिरीलाई सिंहदरबारमै भेट्ने मौका मिल्यो। करिव ३० मिनेटको भेटमा गिरीले निकै सकसपूर्ण र जटिल परिस्थिति आउने आकलन सहित आफ्ना धारणा सुनाए।

‘हेर्नुस बासुबावु, परिस्थिति जटिल वन्दै छ, राजालाई गलाउन विदेशी शक्तिहरुको ओहोरदोहोर बाक्लो हुँदै आएको छ, यसले मुलुकलाई झनै कठिन बाटोमा लैजाने देखिन्छ।’ हुन पनि त्यो राजनीतिक अवस्थालाई नजिकबाट नियालेका गिरी, त्यही बेलाका गृहमन्त्री कमल थापा, सञ्चारमन्त्री टंक ढकाल लगायतहरु विदेशी शक्तिको आडमा ७ राजनीतिक दलहरुले राजा विरुद्ध आन्दोलन गरिरहेको आरोप लगाएका थिए।

त्यसको पुष्टि समयक्रममा भयो पनि। त्यो भेटको अन्तिममा गिरीले भनेका थिए,  ‘प्रजातन्त्र भन्दा ठूलो कुरो देश हो, देश नै तहसनहस बनाउने खेलमा विदेशी शक्ति छन्, यसबाट मूक्त गराउन अब कठिन हुँदै गएको छ।’ त्यो भेटको अढाइ महिना नपुग्दै ज्ञानेन्द्रले वैशाख ११ गते शाही घोषणा मार्फत शासनसत्ता राजनीतिक दलकै हातमा फिर्ता गरे। यसप्रति उनी असन्तुष्ट थिए पनि भनिन्छ। सायद त्यही घोषणा नेपालबाट राजतन्त्रको उन्मूलन र गणतन्त्र प्रवेशको प्रस्थान विन्दू बन्यो। त्रिभुवनदेखि राजाको संगत गरेका गिरीले महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्रका पालामा मन्त्री, मन्त्रीपरिषद उपाध्यक्ष, अध्यक्ष र प्रधानमन्त्री जस्ता महत्वपूर्ण राजकीय ओहोदामा बसे। कुनै आर्थिक अनियमितता जस्तो कलंक नभोगेका उनी सधै निर्दलीय पञ्चायती व्यवस्थाको आफ्नो मूल्यमान्यताबाट विचलित भएनन्। उनै गिरी मंगलबार ९३ वर्षको उमेरमा संसारबाट विदा भए।

उनको राजनीतिक मूल्यमान्यता अहिलेको पुस्ताका लागि असान्दर्भिक पक्कै हुनसक्छ। हरेक मानिसका आ–आफ्नै वैयक्तिक आस्था हुनसक्छन् पनि तर वरिष्ठ राजनीतिज्ञ तथा राष्ट्रवादी राजनेता गिरीबाट अहिलेका राजनीतिज्ञले धेरै कुरा सिक्नसक्छन्। राजनीतिमा नैतिकता, मूल्यमान्यता, आदर्श, निष्ठा भन्नेकुराले निकै महत्व र अर्थ राख्छ, त्यो सबै गुण उनै गिरीमा थियो। पञ्चायती व्यवस्थाका हिमायती गिरी पञ्चायत, बहुदल, लोकतन्त्र, गणतन्त्र हुँदै संघीय लोकतान्त्रिक व्यवस्थामा आइपुग्दा पनि आफ्ना मूल्यमान्यताबाट सधै अविचलित रहे। आफ्नो आस्था र विश्वास बरु आफैँमा सीमित गराए तर उनलाई मन नपरेको राजनीतिक व्यवस्थासँगै कहिल्यै पनि सम्झौता गरेनन्। सत्ता स्वार्थ र फाइदाका लागि दगुर्ने तथा मौकै पिच्छे आफ्नो रुप बदल्ने नेताका लागि गिरीको अविचलन, निष्ठा, नैतिकता र सम्झौताहीन लक्ष प्रेरणाका स्रोत बन्न सक्छन्। वरिष्ठ राजनीतिज्ञ एवं पूर्वप्रधानमन्त्री गिरीका यी आदर्श पछिसम्म जीवित रहने छन्। स्वर्गीय गिरीप्रति हार्दिक श्रद्धाञ्जली!

पुस ३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्