ललितपुर प्याट्रियट्स इपिएलको फाइनलमा

काठमाडौँ- ललितपुर प्याट्रियट्स  एभरेस्ट प्रिमियर लिग-इपिएल क्रिकेटको फाइनलमा पुगेको छ। मंगलबार भएको  पहिलो क्वालिफायर्समा ललितपुरले काठमाडौँ किङ्स इलेभेनलाई एक विकेटले हरायो। पहिला ब्याटिङ गरेको काठमाडौँ एक सय ८ रनमा सिमित भएको थियो।

ललितपुरले ९ विकेट गुमाएर अन्तिम बलमा विजयी रन पुरा गरेको थियो। ललितपुरको पालीमा कुशल भुर्तेलले २९, योगेन्द्र कार्कीले २८ र कप्तान ज्ञानेन्द्र मल्लले २१ रन बनाए। पवन सर्राफ १९ रन जोडेर आउट भए। ५४ रन जोड्दा ६ विकेट गुमाएको ललितपुरले सातौँ विकेटका लागि २७ रनको साझेदारी गरेको थियो। ललितपुरलाई अन्तिम ओभरमा जितका लागि ८ रन आवश्यक थियो। उसले अन्तिम चार बलमा दुई दुई रन गरेर ८ रन जोडेको थियो।

यसअघि काठमाडौँलाई सस्तोमा समेट्न ललितपुरका पवन सर्राफ र योगेन्द्र कार्कीले तीन तीन विकेट लिए। सन्नी पटेलले पनि दुई विकेट लिए। काठमाडौँका लागि तीन जना ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन जोड्न सके।

रोहन मुस्ताफाले ३२, सागर पुनले २८ र सिद्धान्त लोहनीले १६ रन जोडे। अमित श्रेष्ठले ९, केभिन ओबरायनले एक र नरेश बुढाएरले एक रन जोडे भने राजु रिजालले खाता खोल्न सकेनन्।   पवनले चार ओभरमा एक मेडन राखेर १३ रन खर्चिए। योगेन्द्रले २.५ ओभरमा १८ रन दिए।

काठमाडौँले अब दोस्रो क्वालिफायर्समा पनि खेल्ने छ। बुधबार हुने भैरहवा ग्लाडियटर्स र चितवन टाइगर्सबीचको खेलको विजेताले  काठमाडौँसँग दोस्रो क्वालिफायरमा खेल्ने छ।

पुस ३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्