मेरो अन्त्येष्टि साधारण र सम्मानित तरिकाले गर्नू: तुलसी गिरी

पूर्वप्रधानमन्त्री तथा वरिष्ठ राजनीतिज्ञ डा. तुलसी गिरीले आफ्नो अन्त्येष्टि सामान्य र आत्मसम्मानपूर्ण तरिकाले गर्न मृत्युअघि नै इच्छा गरेको उनकी पत्नी सराह गिरीले जानकारी गराएकी छन्।
डा. गिरीका पत्नी सराहका अनुसार उनले इच्छा गरेअनुसार बुधबार दिउँसो तीन बजे सम्मान र आत्मसम्मानपूर्ण तवरले अन्त्येष्टि गरिनेछ।
निधनअघि नै डा. गिरीले आफ्ना साथीहरु आएर सामान्य तरिकाले आफ्नो अन्त्येष्टि गर्ने जानकारी पत्नीलाई गराएका थिए।
‘साधारण व्यक्तिको जसरी र आत्मसम्मानपूर्ण तरिकाले अन्त्येष्टि गर्न उहाँले भन्नुभएको थियो,’ सराहले भनिन्।
बुधबार दिउँसो पशुपतिस्थित विद्युतीय शवदाहगृहमा दिउँसो तीन बजे उनको अन्तिम बिदाइ गरिनेछ।
मंगलबार बिहान बुढानिलकण्ठ स्थित आफ्नै निवासमा डा. गिरीको निधन भएको थियो।