म्यानचेस्टर युनाइटेडद्धारा माउरिन्हो बर्खास्त, सफल प्रशिक्षकको दुखद बहिगर्मन

लन्डन- क्लबको लगातार कमजोर प्रदर्शनपछि म्यानचेस्टर युनाइटेडले प्रशिक्षक जोसे माउरिन्होलाई बर्खास्त गरेको छ। ५५ वर्षीय माउरिन्हो दुई वर्ष अघि म्यान युनाइटेडमा आवद्ध भएका थिए।

प्रिमियर लिग र च्याम्पियन्स लिग जित्ने लक्ष्यसहित आबद्ध गरिएका माउरिन्होले टोलीलाई अपेक्षित सफलता दिलाउन नसकेपछि बर्खास्तमा परेका हुन्। जारी प्रिमियर लिग सिजन म्यान युनाइटेड १७ खेलपछि शीर्षस्थानको लिभरपुलभन्दा १९ अंकले पछाडि छ।

माउरिन्हो आएयता म्यान युनाइटेडले नयाँ खेलाडीका लागि चार सय मिलियन पाउन्डभन्दा बढी खर्च गरेको थियो। यसबीचमा ११ खेलाडीलाई आबद्ध गरिएको थियो। इन्टर मिलान, रियल म्याड्रिड, चेल्सी र एफसी पोर्टोका पुर्व प्रशिक्षक समेत रहेका माउरिन्होले म्यान युनाइटेडमा लिग कप र युरोपा लिग जितेका थिए।

घरेलु लिगमा यसै साता लिभरपुलले म्यान युनाइटेडलाई ३-१ गोलले हराएपछि प्रशिक्षक माउरिन्हो थप दबाबमा आएका थिए।

सन् २०१३ सर एलेक्स फर्गुसनले क्लब छाडेयता म्यान युनाइटेडले प्रिमियर लिगको उपाधि जित्न सकेको छैन। फर्गुसनले २७ वर्ष म्यान युनाइटेडमा प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए। त्यसबीचमा म्यान युनाइटेड प्रिमियर लिग इतिहासमा सबैभन्दा बढीपटक उपाधि जित्ने टोली बनेको थियो।

म्यान युनाइटेडले अन्तरिम प्रशिक्षकका रुपमा माइकल क्यारिकलाई नियुक्त गरेको छ। क्लबले सिजनको अन्त्यपछि मात्र लामो समयका लागि नयाँ प्रशिक्षक नियुक्त गर्ने जनाएको छ। म्यान युनाइटेड यो सिजन च्याम्पियन्स लिगमा भने नकआउट  चरण पुगिसकेको छ।

अब कता जालान् माउरिन्हो 

समकालिन विश्व क्लब फुटबलमा माउरिन्हो सफल प्रशिक्षकमध्ये पर्छन्। उनले हालसम्म ८ वटा क्लबमा प्रशिक्षण गरेका छन्। म्यान युनाइटेडमा आउनु अघि सम्हालेका पछिल्ला चार क्लबमा उनले कम्तीमा घरेलु लिगको उपाधि जितेका थिए।

उनले पोर्चुगिज क्लब एफसी पोर्टोका लागि दुई पटक घरेलु लिग तथा एक एक पटक युरोपियन च्याम्पियन्स लिग र यूईएफए कपको उपाधि जितेका छन्। उनले चेल्सीका लागि तीनपटक प्रिमियर लिगको उपाधि जिते।

इन्टर मिलानका लागि उनले दुईपटक घरेलु लिग र एकपटक युरोपियन सुपर कपको उपाधि जितेका थिए। रियल म्याड्रिडमा उनले एकपटक घरेलु लिगको उपाधि जिते। निकै रिसाहा र झोक्की स्वभावका मानिने माउरिन्होलाई अब कुन क्लबले आबद्ध गर्ला ? निश्चित छैन।

 

पुस ३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्