पोषणगृह बन्यो प्रतिष्ठानका डाक्टरको आवास, कुपोषित बालबालिका सेवाबाट बञ्चित

दाङ – दाङसहित रुकुम, रोल्पा, सल्यान जिल्लाका कुपोषित बालबालिकाको उपचारका लागि स्थापना भएको पोषण पुनर्स्थापना गृहलाई डाक्टरको आवास बनाइएपछि कुपोषित बालबालिका सेवा उपभोगबाट बञ्चित भएका छन्।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले पोषण गृहलाई डाक्टरको आवासको रुपमा प्रयोग गरेपछि कुपोषित बालबालिका उपचार बाट बञ्चित हुन पुगेका छन्।

दाङका विभिन्न क्षेत्रका सरोकारवालाहरुले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई तत्काल पोषण पुनर्स्थापना गृहसञ्चालनमा ल्याउन आग्रह गरेका छन्।

पोषण गृह स्थापना गर्ने नेपाल युथ फाउण्डेशन, नागरिक समाज, मानव अधिकारकर्मी र पत्रकारहरुको एक टोलीले मंगलबार प्रतिष्ठानमै पुगेर तत्काल पोषण गृहलाई सञ्चालनमा ल्याउन आग्रह गरेका हुन्।

ट्राफिक चोकमा रहेको गृह पछिल्लो समय राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा आएदेखि बन्द अवस्थामा रहेको छ। कुपोषित बालबालिकाको उपचार गर्दै आएको गृहमा प्रतिष्ठानले डाक्टरहरुको आवास बनाएको छ। उपचार रोकिएको छ।

युथ फाउण्डेशनका संयोजक मानबहादुर क्षेत्री, फकला थारु, नागरिक समाज दाङका सचिव लक्ष्मी आचार्य, मानव अधिकार सञ्जालका सदस्य विनोद केसी, मुक्त कमलरी विकास मञ्चका अध्यक्ष सुनिता चौधरीसहित पत्रकारहरुको टोलीले प्रतिष्ठानका सहनिर्देशक डा. वसन्त लामिछानेलाई ज्ञापनपत्र बुझाउदै तत्काल पोषण पुनर्स्थापना गृह सञ्चालनमा ल्याउन आग्रह गरेको हो।

उक्त प्रतिनिधि मण्डलले चिकित्सकहरुलाई आवासको व्यवस्था अन्यत्रै गर्न सकिने जनाउँदै कुपोषित बालबालिकाको उपचारमा लापरबाही नगर्न आग्रह गरेको छ।

आवासभन्दा बालबालिकाको उपचार ठूलो भएको उल्लेख गर्दै तत्काल पोषण पुनर्स्थापना गृहसञ्चालनमा नल्याए अदालत जाने युथ फाउण्डेशनले चेतावनी दिएको छ।

नागरिक समाजका सचिव लक्ष्मी आचार्यले चिकित्सकहरुलाई आवासका लागि अनेत्र कोठाको व्यवस्था गर्न सकिने विकल्प हुँदाहुँदै पनि बालबालिकाको उपचारलाई नै प्रभावित पार्नु लज्जाको विषय भएको बताएका छन्।

यसैबीच, पोषणगृहमा उपचारमा खटिने ८ जना कर्मचारीले साउनदेखि तलब नपाएको गुनासो गरेका छन्। प्रतिष्ठानका सहनिर्देशक लामिछानेले आफूहरुले थप व्यवस्थित पोषण पुनर्स्थापना गृह सञ्चालन गर्न लागेको जानकारी दिए।

अस्पतालको बालबालिका भर्ना वार्ड नजिकै एउटा कोठामा १० बेडको भर्ना तथा उपचार कक्ष स्थापना गर्न लागेको र केहीदिनमै कामले पूर्णता पाउने बताएका छन्।

पुस ३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्