एकताका लागि राणा र लोहनीको फोन कुरेर बसेको छुः कमल थापा

नेपालगञ्ज – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओली निरीह भएको टिप्पणी गरेका छन्।

पार्टीको ५ नम्बर प्रदेशस्तरीय प्रशिक्षण तथा सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष थापाले सरकारले भ्रष्टाचार नियन्त्रण, शान्ति सुरक्षा, रोजगार सिर्जना, राष्ट्रिय अखण्डताको सवालमा केही गर्न नसकेको बताएका हुन्।

‘मैले ओलीसँग बसेर काम गरेको छु, उहाँ प्रखर राष्ट्रवादी हुनुहुन्छ, तर नियत खराब नभएपनि नियति सामु लाचार हुनुहुन्छ,’ थापाले भने, खुलेआम राष्ट्र विखण्डनको आवाज उठाउनेदेखि जघन्य अपराधका अपराधीलाई कारबाही गर्न सक्नु भएको छैन।’

थापाले सरकारले धर्म परिवर्तनलाई प्रोत्साहन गरेको बताए। बहुसंख्यक हिन्दू धर्मावलम्बीलाई चिढाउने काम सरकारले गरिरहेको आरोप लगाएका थापाले यस्तो रवैयाले ढिलोचाडो धार्मिक द्वन्द्व सिर्जना हुने बताए।

धार्मिक स्वतन्त्रसहितको हिन्दू राष्ट्र र राजसंस्थासहितको लोकतन्त्रको बहस चलाउन पर्ने आवश्यक औल्याए। चल्दै गरेको नेपाली कांग्रेसको महासमिति बैठकमा समेत प्रमुखता पाएको हिन्दू राष्ट्रको सवालमा थापाले भने, ‘हिन्दु राष्ट्र र राजासहितको प्रजातन्त्रको विकल्प नै छैन।’

एकता सवालमा अध्यक्ष थापाले पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीको फोन कुरेर बसेको बताए। ‘कात्तिकको २६ गते एकता हुने निर्णय भएको थियो। २५ गते राणा र लोहनीले चुनाव चिन्हको कुरालाई लिएर ४–५ दिनको समयमा माग्नु भयो,’ थापाले भने, ‘त्यो ४–५ दिन अझैसम्म आएको छैन, म राणा र लोहनीलाई पर्खेर बसिरहेको छु।’

राप्रपाका महामन्त्री राजेन्द्र लिङदेनले चुनाव हारेको भएपनि आफुहरु नहराएको दावी गरे। उनले राप्रपाको हिन्दू राष्ट्र र राजासहितको प्रजातन्त्रको एजेण्डा मजबुत रहेकाले एउटा चुनाव हार्दै आत्तिहाल्न नपर्ने दोहोर्याए।

राप्रपाका नेता एवं नेपालगञ्ज उपमहानगरपालिका मेयर धवलशमशेर राणाले जसरी पनि पार्टी एकता गर्नैपर्ने बताए। ‘राप्रपामा एजेण्डाको सवालमा कुनै विमति छैन,’ राणाले भने, ‘नेताहरुको व्यक्तिगत टकरावले गर्दा एकता हुन सकेको छैन।’ उनले राप्रपा भन्ने नामै परिवर्तन गरेर अघि बढ्नु पर्ने आवश्यकता औल्याएका छन्।

पुस ३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्