कृषि कर्मले फेरिएको भूमिहीन परिवारको दैनिकी

परिश्रमी प्रेमदैयाः जमीन छैन त के भयो? छन् मेहनती हातपाखुरा

बंगुर स्याहार्दै प्रेमदैया चौधरी। तस्बिरः दशरथ घिमिरे/देश सञ्चार।

दाङ – पढ्ने उमेरमा मालिकको घरमा कमैयाँ बसेपछि अक्षर चिन्ने कुरै भएन। तर, सन्तानलाई जसरी पनि अक्षर चिनाउने धोको थियो उनलाई। विद्यालयमा भर्ना गरिन्। पढाउने–लेखाउने खर्च जुटाउन मजदुरी गरेर आएको पैसाले दुई छोराको फिस तिर्थिन् गढवा गाउँपालिका वडा नम्बर–५ बाँकी निवासी प्रेमदैया चौधरी।

घर बाँस ऐलानी जग्गामा छ। खेती गर्ने जग्गा छैन। अरुको जग्गा जोतेर खाने खर्च जुटाउँदै आएकी प्रेमदैयाले एक वर्षयता बंगुर पाल्न थालिन्। १३ वटा बंगुर खोरमा छन्। १६ हजार मूल्यमा एउटा बंगुर बेचेकी छिन्। ‘खाने खर्च नहुँदा अरुसँग सापटी मागेरसम्म छाक टारेँ,’ उनले भनिन्, ‘कम्ता दुःख थिएन, भोकभोकै प्यासप्यासै पनि बस्यौँ।’

जिल्ला समन्वय समितिका अध्यक्ष जितेन्द्रमान नेपाली प्रेमदैयाको बंगुर खोरको अनुगमनमा।

हरेक मानिससँग आ–आफ्नै किसिमका दुःख हुन्छन्। तर, हरेक दुःखको कारण हुन्छ, र त्यसका समाधान पनि हुन्छ भनेझैँ बंगुरपालनबाट आम्दानी हुन थालेपछि प्रेमदैया उत्साहित छिन्। बिहान र साँझ बंगुरसँगै बिताउने प्रेमदैया दिउसो मजदुरी गर्दैआएकी छिन्।

आफ्नो जग्गा नहुँदाको पीडा यो परिवारले भोगेको छ। ‘कहिले को आउछ, हप्काउँछ, कहिले को आउछ, जतिबेला पनि डर हुन्छ,’ उनले भनिन्, ‘घरबासको आधार पत्र त छ, तर पूर्जा छैन, ढुक्कसँग बस्ने अवस्था छैन, सरकारले जग्गा नभएकाहरुलाई पूर्जासहितको जग्गा दियो भने धेरै सजिलो हुने थियो।’

प्रेमदैया चौधरी र गाउँलेहरु।

जग्गाको लालपूर्जा पाउने आशामा बसेकी प्रेमदैयाले बंगुरपालन व्यवसाय सुरु गर्न स्वान संस्थाले सञ्चालन गरेको परियोजनाबाट ३० हजार रुपैयाँ घुम्तीकोषमार्फत उपलब्ध गराएपछि सजिलो भएको हो।

‘मजदूरी गरेर घर खर्च जुटाउने हामीमा व्यवसाय सञ्चालन गर्न लगानी जुटाउने हिम्मत हुने कुरै भएन, समूहमा बसेपछि घुम्तीकोषको अवसर आयो। त्यो अवसरले धेरै परिवर्तन दिलाउन थालेको छ,’ उनले भनिन्, ‘खेत जोत्ने जाँगर छ। तर, आफ्नो खेत छैन। व्यवसाय गर्ने मन छ तर लगानी छैन। यस्तो समस्या भोगेका हामी भूमिहीनलाई लगानी जुटाइदिए धेरै गर्न सकिन्थ्यो।’

पुस ३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्