कांग्रेस विधानमा सहमति जुट्यो, पदाधिकारी आठ, केन्द्रीय सदस्य १६१ सदस्यीय

काठमाडौं – लामो रस्साकस्सीपछि नेपाली कांग्रेसको विधानमा सहमति जुटेको छ । उपसभापति विमलेन्द्र निधिको संयोजत्वमा गठित कार्यदलले आठजना पदाधिकारी र एक सय ६१ जना केन्द्रीय सदस्य रहने गरी विधानलाई अन्तिम रुप दिएको हो ।

अब कांग्रेसमा सभापतिसहित दुई जना उपसभापति, दुईजना महामन्त्री, दुई जना सहमहामन्त्री र एकजना कोषाअध्यक्ष रहनेछन् । कार्यदल सदस्य रमेश लेखकका अनुसार कोषाअध्यक्ष बाहेक अरु सबै पदाधिकारी प्रत्यक्ष निर्वाचित हुनेछ ।

कांग्रेसको अहिलेको विधानमा ८५ सदस्यीय केन्द्रीय कार्यसमिति र ६ जना पदाधिकारी रहने व्यवस्था छ । जसमा एक÷एकजना उपसभापति, महामन्त्री र सहमहामन्त्री सभापतिले मनोनित गर्दै आएका थिए भने सभापति, एकजना महामन्त्री र कोषाअध्यक्ष प्रत्यक्ष निर्वाचित हुने प्रावधान छ ।

अब संशोधित विधानमा पदाधिकारीसहित एक सय ६१ केन्द्रीय सदस्यमध्ये ५४ जना समावेशी कोटाबाट निर्वाचित हुनेछन् । जसको ५० प्रतिशत अर्थात २७ जना महिला हुनुपर्नेछ । लेखकका अनुसार ३३ जना केन्द्रीय सदस्य भने सभापतिले मनोनित गर्ने व्यवस्थामा विधानमा राखिनेछ ।

कांग्रेसको विधानमा संघ, प्रदेश र जिल्ला तीन तहमा संसदीय बोर्ड रहनेछन् । संघीय संसदीय बोर्डमा पदाधिकारी आठजनासहित जम्मा १७ जना रहने व्यवस्था विधानमा गरिएको छ ।

त्यस्तै संघीय निर्वाचन क्षेत्रबाट महाधिवेशनमा सभापतिसहित २५ जना प्रतिनिधि चुनिनेछन् । प्रदेश अधिवेशनका लागि प्रदेश निर्वाचन क्षेत्रबाट सभापतिसहित १७ जना चुनिने लेखकले जानकारी दिए । त्यसैगरी एक संघीय निर्वाचन क्षेत्रबाट महासमिति सदस्यमा ११ जना छानिनेछन् ।

कार्यदलले सहमित जुटाएको विधानलाई बुधबार बिहान केन्द्रीय कार्यसमितिले स्वीकृत गरेर छपाइका लागि पठाइने कार्यदलका अर्का सदस्यले जानकारी दिए । उनका अनुसार बुधबार छाप्न पठाइने र बिहीबार मात्र विधानको मस्यौदा महासमिति सदस्यको हामा पुग्नेछ ।

पुस ३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्