आजका मुख्‍य खबरहरु: कांग्रेसको विधानमा सहमति, रहेनन् डा. तुलसी गिरी

लामो रस्साकस्सीपछि नेपाली कांग्रेसको विधानमा सहमति जुटेको छ। उपसभापति विमलेन्द्र निधिको संयोजत्वमा गठित कार्यदलले आठजना पदाधिकारी र एक सय ६१ जना केन्द्रीय सदस्य रहने गरी विधानलाई अन्तिम रुप दिएको हो।

नेपाली कांग्रेसका नेताहरुले करिब १७ सय महासमिति सदस्यलाई झुक्याएका छन्। मंगलबार बिहान विधान संशोधनको प्रस्ताव पेश नभएसम्म बैठक चल्न नदिएका महासमिति सदस्यलाई नेताहरुले दिउँसो ‘विधानको विषय मिलिसक्यो छाप्न पठाएको छ’ भन्दै झुक्याएर बैठक चलाएका हुन्।

पूर्वप्रधानमन्त्री एवं वरिष्ठ राजनीतिज्ञ डा. तुलसी गिरीको निधन भएको छ। आफ्नै निवास बूढानीलकण्ठ भिल्लामा ९४ वर्षीय गिरीको मंगलबार बिहान निधन भयो।कलेजोमा क्यान्सर रोग लागेका उनी यसअघि करिब १० दिनसम्म भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका थिए । अस्पतालबाट घरमा ल्याइएको अवस्थामा मंगलबार बिहानै उनको निनध भएको परिवारजनले जानकारी दिए।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। पेट्रोल, डिजेल र मट्टितेलको मुल्य समान दुई रुपैयाँका दरले घटाएको हो। मूल्य घटेसँगै अब एक लिटर पेट्रोलको मुल्य १ सय १० रुपैयाँ तथा डिजेल र मट्टितेलको मुल्य ९७ रुपैयाँ भएको छ।

दुई महिनापछि पुरानै जिम्मेवारीमा फर्कने कानुनी आदेश पाएकी स्वास्थ्य सचिव डा. पुष्पा चौधरीले ढिलै भएपनि आफूले न्याय पाएको र आफ्नो काँधको जिम्मेवारी प्रभावकारीरुपमा सम्हाल्ने बताएकी छन्। उनको कार्यसम्पदान चित्त बुझ्दो नभएको भन्दै स्वास्थ्यमन्त्रालयबाट असोज २८ गते सरकारले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा तानेपछि उनी त्यसका विरुद्ध कात्तिक १५ गते अदालत सर्वोच्च पुगेकी थिइन्।

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका १३ वर्षिया निर्मला पन्तकी आमा दुर्गादेवीले अनुसन्धानमा लापरबाही गर्ने ८ जना प्रहरी विरुद्ध उजुरी दिएकी छन्।मंगलबार जिल्ला प्रहरी कार्यालयमा अनुसन्धानमा लापरबाही गर्ने ८ जना प्रहरीलाई कारबाहीको माग गर्दै उनले उजुरी दिएकी हुन्।

मेलम्ची आयोजनामा भएको पछिल्लो घटनाक्रमपछि खानेपानी मन्त्रालयले आयोजनाको विश्लेषणसहितको प्रतिवेदन झिकाएको छ। मन्त्रालयले परामर्शदाता कम्पनी इप्टिसालाई मेलम्ची आयोजनाको सुरुङको प्राविधिक विश्लेषणसहितको प्रतिवेदन तयार पारी एक हप्ताभित्रमा पेश गर्न निर्देशन दिएको जनाएको छ। खानेपानी मन्त्री बिना मगरले सोमबार र मंगलबार समस्या समाधानका लागि मेलम्ची खानेपानी विकास समिति, भगौडा ठेकेदार कम्पनी सिएमसीका प्रतिनिधि, परामर्शदाता इप्टिसा, एसियाली विकास बैंक, कानून विज्ञ तथा प्राविधिक, इन्जिनियरहरुसँग छलफल गरेकी छन्।

प्रदेशका समस्या समाधानका लागि गठित कार्यदलले संघीय कार्यान्वयन सहजीकरण कार्ययोजना तयार पार्दै पुस मसान्तभित्र वित्त आयोग बनाउने र माघभित्र प्रदशेको अधिकार सूची गर्नु पर्ने प्रस्ताव गरेको छ।मंगलबार केन्द्र र प्रदेश सरकारले अनुमोदन गरेको उक्त कार्ययोजना अनुसार बाँकी संगठन संरचनाको कार्य जिम्मेवारी हस्तान्तरण समेत गरिने छ।

विश्व चर्चित व्यवसायिक क्रिकेट लिग बिग बास लिग- बिबीएल बिहीबारदेखि अस्ट्रेलियामा सुरु हुँदै छ। प्रतियोगितामा नेपालका सनसनीबाज युवा स्पिनर सन्दीप लामिछानेले मेलबर्न स्टार्सबाट खेल्दैछन्। सन्दीप बिबीएल खेल्ने नेपालका पहिलो क्रिकेटर हुन्।

पुस ३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्