युनिभर्सल पिस फेडेरेशन समिटबारे भीम रावलका १८ आपत्ति

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले स्थायी समितिको बैठकमा गत मंसिर दोस्रो साता राजधानीमा सम्पन्न एशिया प्यासिफिक समिटमा सरकार र प्रधानमन्त्री स्वंयको सहभागिताबारे गम्भीर प्रश्न उठाएका छन्। नेता रावलले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीलाई यस विषयमा जवाफ दिनु पर्ने पनि बताएका छन्।

स्थायी समितिको बैठकमा ‘नेकपाका अध्यक्ष कामरेडद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनबारे विचार, टिप्पणी र सुझाव’ शीर्षकको प्रतिवेदनको २८ औं नम्बरमा रावलले वर्ल्ड पिस फेडेरेशन नामक इसाई धर्म प्रचारक संस्थाले गरेको एशिया प्यासिफिक समिटमा सरकारको सहभागिताको औचित्यमाथि प्रश्न गर्दै गम्भीर सुझावहरु दिएका छन्।

१, सन मङ्ग सन् १९५४ मा दक्षिण कोरियाको पुसानमा होली स्प्रिट एशोसिएशन फर दी युनिफिकेशन अफ वर्ल्ड क्रिश्चियानिटी भन्ने संस्था धार्मिक आन्दोलन चलाउने उद्देश्यबाट स्थापित भएको थियो। र, त्यसले कम्युनिष्टहरुलाई ‘शैतान’को संज्ञा दिने गरेको छ। १९९० को दशकमा यो फेमिली फेडेरेशन फर वर्ल्ड पिस एण्ड युनिफिकेशनमा परिणत भएको थियो।

२, मुनले आफूलाई जिससले धर्तीमा बाँकी कामहरु गर्न पठाएको भन्दै अभियान चलाइएका थिए। सन् १९४० को दशकमा उत्तर कोरियाले मुनलाई जासुसी गरेको आरोपमा गिरफ्तार गरी सश्रम पाँच वर्ष काराबासको सजाय दिएको थियो। कोरियाली युद्धको अन्तिममा मुन उत्तर कोरियाबाट भागेर दक्षिणमा आएका थिए।

३, मुनले सन् १९७१ मा अमेरिका गएर धार्मिक प्रवचन दिन सुरु गरी धनराशी जम्मा गरेको थिए। कर छलिको आरोपमा सन् १९८२ मा गिरफ्तार भई अमेरिकामा १८ महिना काराबासको सजाय भोगेका थिए।

४, धर्मान्धता फैलाएको भन्दै जापान र बेलायतमा मुनको प्रवेशमा प्रतिबन्ध।

५, अमेरिकामा मुनले अनुदार विचारको वासिंग्टन टाइम्स पत्रिकामा लगानी।

६, आरम्भमा जोडी मिलाउने काम। तर, पछि टोङ्गिल ग्रुप नामक व्यापारिक कम्पनीबाछ हतियार तथा सैन्य सामग्री, गाडी र माछा मार्ने उपकरण आयात। दुई अर्ब डलरको व्यापारिक सञ्जाल सिर्जना।

७, मुनले दैवीक सिद्धान्तच भन्ने पुस्तक लेखेर सबै पुरुष र महिलाले मसिहा हुनुपर्छ भनेका थिए। यसै अन्तर्गत पवित्र विवाह आशिर्वाद समारोह गर्ने, पवित्र झोल खुवाउने, दम्पत्तीहरुले पहिलो पटक सहवास गर्दा तीन दिनसम्म मुनको तस्बिर राख्नुपर्ने जस्ता धार्मिक नियम बनाएका थिए।

८, सन् २०१२ मा मुनको मृत्यु भएपछि उनको आन्दोन तीन प्रतिष्पर्धी गुटमा विभाजित छ। श्रीमती हाक जा मुनलाई ‘माता’ भन्दै वुमन फेडेरेशन फर पिस इन्टरनेशनल सञ्चालन गरिएको छ। जेठा छोरा हुन जिन प्रेस्टन मुनले फेमिली पिस एशोसिएशन र कान्छा हुन जिन सियन मुनले स्याक्चुरी चर्च चलाएका छन्।

९, कान्छा छोराले चलाएको स्वाक्चुरी चर्चले दम्पत्तिहरुका लागि आयोजित समारोहमा एआर–१५ अर्धस्वचालित राइफल ल्याउन र सो सम्भव नभए बन्दुक पसलमा गएर ७०० अमेरिकी डलरको उपहार प्रमाणपत्र ल्याउने धार्मिक नियम बनाएका छन्। त्यसो नगर्नेहरुले सच्चा पिताको अनादर गरेको ठहरिन्छ।

१०, जापानी नागरिकहरुले केही समयअघि यस संस्थाले शान्तिको नाममा उठाएको रकम कहाँ खर्च भयो, त्यसको हिसाब माग गर्दै प्रष्ट हिसाब नदिने हो भने आफुले चन्दा दिएका रकम फिर्ता मागेको समाचार बाहिर आएको छ।

११, मुनका कान्छा छोरा संलग्न एउटा भिडियोमा पिता मुनले आफुलाई सबै कुराको जिम्मा दिएको कुरा गरेका छन्। मुनको संस्थाले सत्तरी र असीको दशमा कम्युनिष्ट विरोधी कडा अडानका साथ काम गरेको तथा भियतनाम युद्धको समर्थन गरेकाले अमेरिकी राष्ट्रपति र गुप्तचरर संस्थाले प्रशंसा गरेको कुरा उल्लेख छ।

१२, नेपालमा हालै काठमाडौँमा भएको सम्मेलनमा मुनकी पत्नी हाकले दिएको भाषणमा युरोपमा क्रिश्चियन धर्मको प्रचार गर्न सकेकाले साम्यवादको पतन सम्भव भएको भन्ने अभिव्यक्ति दिएको समाचार माध्यमले लेखेका छन्।

१३, ‘प्रभुको छत्रछायामा एक परिवार’को नारा दिएर यस संस्थाले गतिविधि गरिरहेको छ। शान्तिका लागि सांसदहरुको अन्तर्राष्ट्रिय संघ, शान्ति राजदूत जस्ता कुरामा विभिन्न देशका कतिपय मानिसहरुलाई उपयोग गरिरहेको छ। एशियाली राजनीतिक दलहरुको अन्तर्राष्ट्रिय सम्मेलन आइक्याप भन्नु र मुनको युनिभर्सस पिस फेडेरेशन भन्नु फरक विषय हुन्।

१४, नेपालबाट किशोरकिशोरीहरुलाई धार्मिक अन्धविश्वासमा पारेर दक्षिण कोरिया र जापानका सडकहरुमा पैसा संकलन गराइरहेको र यसरी संकलित पैसामध्ये १० प्रतिशत संकलन गर्नेले राख्ने र बाँकी संस्थालाई बुझाउनु पर्ने भन्ने जानकारहरुको भनाई छ। कतिपय नेपाली महिलाहरुलाई कोरिया लगेर शारीरिक मानसिक रुपमा अशक्त व्यक्तिहरुसँग आर्थिक लाभ लिएर विवाह गर्न लगाइएका कुराहरु देखिजान्ने र समाचारमाध्यमहरुले उल्लेख गरेका छन्।

१५, केही समयअघि युनिफिकेशन चर्च र युनिभर्सल पिस फेडेरेशनका नेपालस्थित कार्यालयका एकनाथ ढकालले सबै सात प्रदेशमा प्रशिक्षण चलाउने र त्यसमा नेपाल सरकारका प्रधानमन्त्रीको सहमति रहेको भन्दै पार्टीका निर्वाचित नगर प्रमुख र उपप्रमुखहरुलाई दम्पत्तिसहित प्रदेश राजधानीमा आमन्त्रण गरेका थिए। यातायात, होटल र खाना खर्च सबै परिवार दलले व्यहोर्ने खबर गरिएको थियो। सुदूर पश्चिमको कार्यदलमा छलफल गरेर हामीले त्यस प्रकारको अनाधिकृत र गलत ‘प्रशिक्षण’मा पार्टीका जननिर्वाचित प्रतिनिधिहरुलाई सहभागी नहुन सल्लाह दिएर कोही पनि सहभागी भएनन्। काठमाडौँमा भएको सम्मेलनमा दम्पत्तिसहित सहभागी हुन सबै नगर प्रमुख र उपप्रमुखहरुलाई हवाई भाडा, होटल, खाना व्यहोर्ने र ज्याकेट समेत वितरढा गर्ने भन्ने प्रलोभनका साथ आमन्त्रण गरिएको सुदूरपश्चिममा कार्यरत एकजना नगरप्रमुखबाट थाहा पाएको थिएँ। मैले यसलाई रोक्न पार्टी महासचिव र अध्यक्षलाई आग्रह गरेको थिए।

१६, कुनै निजी धार्मिक संस्थाको आयोजनाका लागि संसारमा कहीँ पनि राज्य संलग्न हुँदैन। युरोपमा त मठाधीशहरुको अत्याचारका विरुद्ध आन्दोलन नै भएको इतिहास छ। राज्य वा राजनीति र धर्मलाई अलग गर्नुपर्छ भन्ने अभियान नै चलाइएको छ। त्यही प्रसंगमा कार्ल मार्क्सले धर्मलाई अफिम भन्नु भएको छ। तर, काठमाडौँमा युनिभर्सल पिस फेडेरेशन नामक संस्थाद्वारा आयोजित सम्मेलनको निम्तोपत्रमा प्रधानमन्त्रीबाट हस्ताक्षर भई परिवार दलका एकनाथ ढकाल र प्रधानमन्त्रीका परराष्ट्र मालिला सल्लाहकारलाई संयुक्त रुपमा विभिन्न देशका राजधानीमा निम्तोपत्र वितरण गर्न विशेष दूतका रुपमा पठाइनु, सम्मेलनमा नेपाल सरकार र प्रतिनिधिसभाको प्रतिक चिन्हको दुरुपयोग गरिनु र उपप्रधानमन्त्रीलाई गैरसरकारी धार्मिक कार्यक्रमका सहभागीलाई विमानस्थल पठाइनु, प्रधानमन्त्री स्वयं कार्यक्रम आयोजना गरिएको होटलमा बस्नु, ‘सच्चा माता’बाट ‘सुशासन’को प्रमाणपत्र र एक लाख डलरको थैली थाप्नु नेपालको संविधानको धर्म निरपेक्षता, नेपाल कम्युनिष्ट पार्टीको सिद्धान्त, राज्य र कुटनीतिको मर्यादा तथा जनउत्तरदायी सरकारको मान्यता विपरीत ठहरिन्छ। यस्तो क्रियाकलाप भएकोमा गल्ती महसुस गर्दै अब उप्रान्त यस्तो प्रकृतिको गल्ती नहुने कुरा सुनिश्चित गर्नुपर्छ।

१७, यस संस्थाले नेपालमा गरिरहेका गतिविधिबारे छानबिन गरी नेपाली जनतालाई जानकारी गराउनु पर्छ।

१८, नेपालको संविधानले सबैलाई धार्मिक स्वतन्त्रता दिएको र संस्थाहरुले कानुन र सामाजिक मर्यादाको अधीनमा रही आफ्ना गतिविधि गर्न पाउछन्। धर्म र संस्कृतिप्रति सम्मान छ। यस्तो सम्मान गर्नु, राष्ट्र प्रमुख, प्रधानमन्त्री वा पार्टी नेताले विवादस्पद नभएका गैरसरकारी संस्थाका राम्रा कार्यक्रमको उद्घाटन गर्नु वा शुभकामना दिनु र त्यस्ता कार्यक्रम गर्न राज्य, सरकार र पार्टी नै संलग्न हुनु दुई अलग कार्य हुन्।

पुस ३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्