डा. उपेन्द्र देवकोटाको जन्मजयन्ती

आँसु र हाँसोबीच सम्झिए परिवार र शुभचिन्तकहरुले यी प्रख्यात न्यूरोसर्जनलाई

वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको बुधबार ६६ औँ जन्म जयन्ती। उनले स्थापना गरेको र मृत्यपछि उनको नाममा रहेको राजधानीको बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्टिच्युट अफ न्युरोलोजिकल र एलाइड साइन्सेसमा एक कार्यक्रम गरी उनको जन्म जयन्ती मनाइयो।

न्युरो अस्पताल बाँसबारीको चौरमा भएको कार्यक्रममा देवकोटाले निको बनाएका बिरामी तथा अस्पतालका कार्मचारीले उनीसँगको अनुभव सम्झिए।

हृदयेश त्रिपाटी

देवकोटासँगै पढेका नेता हृदयेश त्रिपाठीले भने, ‘दुर्भाग्य हो, उहाँको देहान्त भयो, नेपालको गौरव हुनुहुन्थ्यो।’

‘हृदयेश मैले तिम्रो दिमाग खोलेर हेरेँ, ठिक रैछ यार, विश्वास गर्न सकिन्छ यो दिमागमा’, टाउकोमा लागेको रोगको उपचार गर्दा देवकोटाले गरेको ठट्टा सम्झँदै त्रिपाठीले भने।

भिडियो…

प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी

देवकोटासँग ब्रेन ट्युमरको उपचार गरेका सहसचिव प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले आफूलाई रुनबाट रोक्न सकेनन्। आँसु रोक्दै उनले भने, ‘मलाई उहाँले पुनर्जन्म दिनुभयो।’

भिडियो…

लामो समय देवकोटासँगै काम गरेका अस्पतालका एनेस्थेसिया प्रमुख डा. माधव गौतमले उनीसँग काम गर्न पाउँदा गर्व लागेको बताए। उनले हाँस्दै भने, ‘चिकित्सकको रुपमा डा. देवकोटा सारै कडा, बाघ जस्तै झम्टनु हुन्थ्यो। कहिलेकाहिँ त मेरो सातो जान्थ्यो। आसाममा पढ्दा उहाँ मभन्दा २ बर्ष सिनियर। ५ वर्षको आसाम बसाइमा १ वटा मात्र फिल्म हेर्नु भयो होला। हामीले काम गर्दा गल्ती भए नजिकै आएर घुरेर भन्नुहुन्थ्यो, ‘अब तेरा क्या होगा कालिया।’

उनले हाँस्दै यस्तो भन्दा अगाडि कुर्सीमा बसेकी देवकोटाकी पत्नी प्रा.डा. मधु दीक्षित देवकोटा र उनको पछाडी बसेका छोरीहरुको अनुहारमा मुस्कान आएको थियो।

भिडियो…

डा. दिनेश नाथ गोंगल

देवकोटाले आफ्ना गुरु बताउने डा. दिनेशनाथ गोंगलले बाँचेर रहेकाले देवकोटाको सपना पुरा गर्नु पर्ने बताए। अस्पतालका कर्मचारीले यसमा साथदिनु पर्ने उनले बताए।

भिडियो…

देवकोटाले विरामीलाई दिने हौसला र विरामीसँग गर्ने ठट्टा सुन्न लायक थिए भने जिन्दगीबाट आश मारिसकेका विरामी जसलाई देवकोटाले निको पारेका थिए उनीहरुको आँखाबाट आँसु झर्दा सबै भावुक हुन्थे।

बुधबार देवकोटाको जन्मदिनमा अस्पतालले ओपिडी सेवा निशुल्क र रक्तदानको कार्यक्रम गरेको थियो।

भिडियो….

बि.स. २०१० पुस ४ गते गोरखामा जन्मिएका देवकोटा प्रख्यात न्यूरोसर्जन थिए। पित्त थैलीको क्यान्सरका कारण देवकोटाको निधन २०७५ असार ४ गते आफैले स्थापना गरेको न्युरो अस्पताल बासबारीमा भयो।

मृत्युपछिको यो उनको पहिलो जन्मदिनमा अस्पतालले उनको काम र अस्पतालमा उनले गरेकाे नेतृत्व सम्झेको छ।

 

पुस ४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्