श्रद्धाञ्जली डा. तुलसी गिरी

एउटा निडर र राष्ट्रभक्त ‘प्रतिगामी’

एक्लिँदो चिन्तन र त्योसँगै मेल खाने चरित्र अनि विगत केही समयदेखि घरमा थन्किएका एक व्यक्ति विगत केही सातादेखि यदाकदा अस्पतालमा देखिने गर्थे। तिनको जीर्ण शरीरले आफ्नो अन्तिम धर्म निभायो,  अस्वभाविक होइन त्यो।

उनका बारे दुई-चार हरफ कोर्नुको अर्थ के होला, शायद धेरैलाई त्यस्तो लाग्ला। अझ दलाली र क्रान्तिकारिता तथा अग्रगमनबीचको सीमारेखा मेटिएको नेपालको वर्तमान राजनीतिक परिवेशमा राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन कालमा मन्त्री परिषद्को उपाध्यक्ष बनेको व्यक्तिको अस्तित्व स्वीकार्न हुँदैन भन्ने धेरै छन्।

मंगलबार बिहान ९४ वर्षको उमेरमा डा. तुलसी गिरीको निधन भयो, बुढानीलकन्ठस्थित आफ्नै निवासमा। फुर्सदमा उनले आफ्ना जीवनी लेखेनन्, यद्‍यपि नेपालको महत्वपूर्ण राजनीतिक इतिहासका उनी पात्र, कर्ता या नजदिकी साक्षी र जिज्ञासु रहिरहे २००७ सालयता। ‘म झुठो लेख्न चाहन्न र सत्य मात्र लेख्न मेरो इथिक्सले मलाई दिँदैन’ भन्ने गर्थे डा. गिरी। अर्थात सार्वजनिक जीवनमा एथिक्सको निर्णायक भूमिकालाई उनले स्वीकारेका थिए, चिन्तन र व्यवहारमा।

जसको जीवनका मान्यता र व्यवहारमा विरोधाभाष हुँदैन, त्यो मान्छे सुखी हुन्छ,साधारण र स्पष्ट बन्न सक्छ, त्यसका उदाहरण थिए डा. गिरी।

डा. गिरीलाई अन्तिमपल्ट मेडिसिटी अस्पतालमा भेट्न जाँदा माओवादी तथा हाल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले भनेका थिए, ‘डा. साहब, यु आर अ म्यान विथाउट डिल्युजन एन्ड कन्फ्युजन, एन्ड विथ अब्सोल्युट कनभिक्सन।’ यदि शुरुमै डा. गिरीलाई भेटेको भए आफ्नो राजनीतिक बाटो अलग हुन्थ्यो होला पनि भन्ने गर्थे दाहालले डा. गिरीसँग।

डा. गिरीको राजनीतिक बाटो, या उतारचढाव अनि चिन्तनको निरन्तरता कसैबाट लुकेको छैन। उनी नेपालको स्वतन्त्र र सार्वभौम अस्तित्वका कहिल्यै नझुकेका पक्षधर थिए र त्यसका लागि शक्तिसम्पन्न राजतन्त्र र दलहरुको सहअस्तित्व आवश्यक पूर्वशर्त नै ठान्थे। बिपी कोइरालालाई सत्ताका लागि धोखा दिए उनले भन्ने मान्नेहरु पनि छन्। तर राजा महेन्द्रले २०१७ साल पुस १ गते संसद र मन्त्रिपरिषद् भंग गरी आफ्नो हातमा सत्ता लिनुअघि नै बिपीसँग उनको मतभेद बढेको र त्यसबारे पटकपटक दुईबीच छलफल भएको गिरीले भन्ने गर्थे।

एउटा समृद्ध पारिवारिक पृष्ठभूमिबाट आएका गिरीले राजनीतिक बाटो फेरे, मान्‍यता फेरेनन्। अन्तिम समयमा आफू ‘सामान्‍य’ व्‍यक्तिका रुपमा विदा हुन चाहे। मरिचमान सिंह तथा  उनका अनन्‍य मित्र कीर्तिनिधि बिष्टलाई कुनै सम्‍मान नदिने ‘अग्रगामी’ सरकारले उनलाई फरक व्‍यवहार देखाउला भन्‍ने भ्रम डा.गिरीमा थिएन, तर सम्‍मानको चाहना  राखेर उनकै समर्थकहरुले उनको अपमान नगरुन् भन्‍ने चाहना मात्र थियो उनको।

भारतमा प्रधानमन्त्री जवाहरलाल नेहरु २०१५ सालको निर्वाचनको नतिजा नेपाली कांग्रेसको पक्षमा आए पनि बिपी प्रधानमन्त्री बनून् भन्ने पक्षमा थिएनन्। दिल्ली पुगेर नेहरुलाई आफ्नो सोच फेर्न आश्वासन गर्ने व्यक्ति डा. गिरी नै थिए। ०१७ को शाही कदमपछि पनि बिपीप्रति व्यक्तिगत सम्मान, बिपीको क्षमता र सम्भावनाबारे गिरीको सोचमा परिवर्तन आएन, तर उनीहरुको राजनीतिक बाटो कहिल्यै जुटेन।

२०६३ को राजनीतिक परिवर्तनमा डा. गिरी ‘कडा लाइन’ या परिआएमा सेनाको परिचालनको पक्षधरमात्र थिएनन्, उनी सेनाको उच्चतम नेतृत्व- प्यारजंग थापा र रुक्मांगद कटुवाललाई हटाएर त्यसको प्रभावकारी परिचालनको वकालत गर्दै थिए। यस्तो कदमबाट जनताको ज्यान जाने र ‘जनता मार्न’ आफ्नो राजधर्मले नदिने निर्णायक अडान लिँदै गिरिजाप्रसाद कोइरालालाई पदको शपथ गराई नेतृत्व जिम्मा दिएका थिए राजाले। तर, डा. गिरीले राजालाई नेपालको राजनीति नेपालका नेताहरुको हातमा नरहेको र बाहिरको हस्तक्षेपबाट सिर्जित  अराजकतालाई नियन्त्रित नगरेमा राजतन्त्रको अन्त्य र त्योसँग देशको स्वतन्त्र हैसियतमा आघात पुर्‍याउने चेतावनी दिएका थिए।

गिरिजाप्रसाद कोइरालाको मृत्युभन्दा केही दिनअघि उनलाई भेट्न छोरी सुजाता कोइरालाको घरमा पुगेका थिए डा. गिरी। त्यहाँ उपस्थित निरञ्जन कोइराला (गिरिजाका भतिज) का अनुसार डा. गिरीले आफू सधैँ बिपीको प्रशंसक र कोइराला परिवारको शुभचिन्तक रहेको र यसपल्ट मुलुकको हितमा केही माग्न आएको स्पष्ट पारेका थिए। ‘इतिहासले व्‍यक्तिलाई कहिलेकाही ठूलो जिम्‍मेवारी दिन्छ। र, गिरिजा बाबु तपाईँले चाहेमा राजतन्त्र बचाउन सक्‍नुहुन्छ अहिले। अर्थात राजतन्त्र बचेमा मुलुक बच्छ,’ अन्तिम समयमा त्यत्ति आग्रह गरे डा. गिरीले गिरिजासँग। गिरिजाले राजतन्त्र आफ्‍नै स्वार्थमा  स्वेच्छाले समाप्त गरेका थिए वा बाह्‍य दबाबमा, त्यसबारे सायदै कुनै मतभेद छ अहिले। नेपालको इतिहासले त्‍यसपछि अर्को मोड लियो, जसलाई नेपाली जनताले भोगिरहेका छन्।

माघ १९ पूर्वको झन्डै दुई दशक डा. गिरी अघोषित निर्वासनमै भए पनि नेपालबारेको चिन्ता,  चिन्तन र सम्पर्क जारी थियो उनको। अर्थात उनी मुलुकलाई माया गर्थे अत्‍यन्त र मुलुकको अस्तित्व सुनिश्‍चित गर्न आफ्नो स्पष्ट धारणा दिइ नै रहन्थे। आफ्नो मान्यता प्रस्तुत गर्न उनले कहिल्यै संकोच गरेनन्।

संक्षेपमा उनी एक चिन्तक र त्‍यो चिन्तनलाई व्‍यवहारमा उतार्ने धुनमा रहन्थे। जनमत र अन्तर्राष्ट्रिय मत त्‍यसको विपरीत रहँदा पनि उनी आफ्नो अडान फेर्दैनथे। त्‍यसको वकालत गरिरहन्थे । अन्तिम समयसम्म उनले त्यो चरित्र र साहस फेरेनन्।

गिरी कांग्रेस र  राजाको आन्द्रा भुँडी बुझ्‍ने व्‍यक्ति भएकाले ऐतिहासिक महत्वको पुस्तक आओस् भन्‍ने चाहन्थे माधवकुमार नेपाल। तर, डा. गिरीलाई प्रस्ट थाहा थियो, प्रकाशनपछि उनको किताबी व्‍याख्या ‘प्राज्ञिक र नीतिगत समझदारी’मा सीमित रहने छैन। संस्था र व्‍यक्तिको चरित्र हत्‍यामा त्‍यसको दुरुपयोग हुनेछ। अन्तर्राष्ट्रिय मामलाका जानकार गिरीले सधैं नेपालको स्वतन्त्र अस्तित्व सम्भव छ निश्चित पूर्वसर्तका साथ मान्‍यता राखे। र, त्यही मान्यतासाथ उनले देह त्‍याग गरे।

एउटा समृद्ध पारिवारिक पृष्ठभूमिबाट आएका गिरीले राजनीतिक बाटो फेरे, मान्‍यता फेरेनन्। अन्तिम समयमा आफू ‘सामान्‍य’ व्‍यक्तिका रुपमा विदा हुन चाहे। मरिचमान सिंह तथा  उनका अनन्‍य मित्र कीर्तिनिधि बिष्टलाई कुनै सम्‍मान नदिने ‘अग्रगामी’ सरकारले उनलाई फरक व्‍यवहार देखाउला भन्‍ने भ्रम डा.गिरीमा थिएन, तर सम्‍मानको चाहना  राखेर उनकै समर्थकहरुले उनको अपमान नगरुन् भन्‍ने चाहना मात्र थियो उनको।

असीमित आत्मविश्‍वास, कुशाग्र, तार्किक शक्ति र आत्मविश्वासको पहाड गिरीका पूँजी भए पनि उनी सामान्‍यभन्दा सामान्‍य र फरक मतका हरेक व्‍यक्तिसँग भेट्‍न, सुन्‍न र सुनाउन तत्पर रहन्थे सधैं। आतिथ्‍य उनको इर्ष्यालाग्‍दो अस्त्र थियो।

काठमाडौंमा कुनै नयाँ गाडी कसैले बेच्‍नुपर्दा ठट्टा गरिन्थ्यो रे, ‘डा.गिरी छदैछन् नि।’ उनको एउटा जीप मान्छे बोकाइएर काठमाडौं ल्‍याइएको थियो जुन पछि बढी चर्चामा आयो खासगरी भारतीय प्रधानमन्त्री नेहरुले काठमाडौँ आउँदा प्रयोग गरेपछि। त्‍यो गाडी अन्तत: उनले बिपीलाई उपहार दिए। अर्को गाडी त्‍यसबेलाका अत्‍याधुनिक राजा महेन्द्रलाई चढाए।

डा.गिरीसँग ४३ वर्षअघि विवाहबन्धनमा जोडिएकी सहारा योञ्‍जन गिरी भन्छिन्, ‘डा.गिरीले गाडी र श्रीमती फेर्छन् भन्‍ने नसुनेको हैन। तर, उहाँ साँच्चिकै समर्पित पति र महान व्यक्ति हुनुहुन्थ्यो’, डा. गिरीको ‘कफिन’ भन्दा करिब १० मिटर टाढाको वार्तामा उनले भनिन्।

वास्तवमा, सहारा आफैँमा डा. गिरीको सहारा बनिन् पूर्ण समर्पणका साथ। पत्नीसँगै उनी अभिभावक र डा. गिरीकी ‘टाइम किपर’ पनि रहिन् उनी। त्यसैले डा. गिरीको मृत्युलाई सहज रुपमा स्विकार्न उनलाई कत्ति पनि कठिन भएन। हो, उनले अवज्ञा गरिन् डा. गिरीलाई मृत्यु लगत्तै ‘विद्युतीय शवगृह’ मा अत्येष्टि गर्ने उनको चाहनामा। विदाइ कसरी गर्ने, आफन्तलाई अन्तिम श्रद्धाञ्जलीको अवसर कसरी दिने त्यो निर्णय उनले गरिन्, त्यही आत्मीयता र न्यानोपन डा. गिरीको पार्थिव शरीरमा श्रद्धा चढाउन आएका  आगन्तुकहरुलाई दिँदै। जीवित गिरीका घरमा देखिने व्यवहारभन्दा फरक थिएन त्यो दृश्य।

डा. गिरीलाई धेरै गाली र आलोचना बर्सिन सक्छ अझै पनि, प्रतिगामी भनेर सार्वजनिक रुपमा। तर उनको प्रतिबद्धता, सरलता, विज्ञता र राष्ट्रियतालाई केन्द्रमा राख्ने चरित्र प्रति बाहिर अरुले नदेख्ने हृदयको कुनै कुनाबाट उनलाई आदर नगर्ने सायदै कुनै सचेत नेपाली होलान्!

पुस ४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्