'जीवन बचाउ उपचार सेवा गृह'मा यातना दिने गरेको स्थानीयको आरोप

नाम: सुधारगृह, काम: चरम यातना,कुटपिट र दुर्व्यवहार !

मोरङ-सुधार गृहमा पीडित विरामी सूर्य भट्टराई सुधार्ने जिम्मेवारी थियो। मदिरा सेवनबाट सूर्यलाई छुटाउनुपर्ने जिम्मा परिवारले मोरङ्गको उर्लाबारीमा रहेको ‘जीवन बचाउ उपचार सेवा गृह’ लाई दिएको थियो।

दुई महिना अघि गएको कार्तिकबाट ४० वर्षीय सूर्यलाई परिवारले त्यहा राखे पनि पछिल्लो समय सूर्यको शारिरीक अवस्था कमजोर हुदै गएको भट्टराई परिवारको भनाइ छ। मदिरा सेवनको लतबाट बाहिर निकाल्नका लागि परिवार सदस्यकै सहमतिमा सूर्यलाई त्यहा राखिएको भएपनि हाल, परिवारको पहुँचबाट सूर्यलाई टाढा राखिएको गुनासो परिवारले गरेको छ।

परिवारका सदस्यका अनुसार सुधार गृहले हाल सूर्यमाथि चरम यातना दिँदै आएको छ। जसका कारण सूर्यको खुट्टामा चोट समेत लागेको छ। यातना कै कारण उनको दाया घुँडा सुन्निएको सूर्यका दाई पुष्कर भट्टराईले गुनासो गरेकाछन्। उनी भन्छन्, ‘घुँडा सुन्‍निएको छ, गृह जाँदा सञ्चालकले भेट गर्न समेत बन्चित गराएको छ’। भट्टराईका ८३ वर्षीय बुबा चन्द्रबहादुर र ७६ वर्षीया आमा विष्णुमायापनि छोराको अवस्था बुझ्न त्यहा पुग्छन्। तर भेट गर्न नपाई घर फर्कन बाध्य रहेकाछन्। सुधार गृहले सूर्यलाई परिवारलाई बुझाउन आनाकानी गरिरहेको दाइ पुष्करको भनाइ छ।

सुधार गृहमा राखिएका भाइलाई भेट्न समेत नदिदां पुष्करले आफन्त तथा स्थानीयको पुकार गरेका थिए। ‘गएको दुई महिनामा धेरैपटक भेट्ने कोसिस गरे तर गृहका कर्मचारीले दिएनन्, एकपटक बढीमा एक मिनेट बोल्न दिए’ उनले भने। सोही क्रममा सूर्यले सांकेतिक रुपमा आफू  लगायत गृहमा रहेकाहरु माथि निर्वाध कुटपिट तथा यातना दिने काम भइरहेको बताएको पुष्करको भनाइ छ।

लागु औषध तथा जाँड रक्सीको कुलतमा फसेकालाई सुधार गर्ने उद्देश्यका साथ २०६२ सालबाट सञ्चालनमा आएको सुधार गृह यातना गृहका रुपमा रुपान्तरित हुँदै गएको स्थानीयको आरोप रहेको छ। सुधार भन्दा पनि बढी त्यहा राखिने पीडितलाई सुधारका नाममा कुटपिट तथा दुर्व्‍यवहार हुने गरेको उर्लाबारी वडा नम्बर-२ का वडाध्यक्ष राजन कंडेलले बताए। त्यहा राखिएका विरामीलाई परामर्शसहित सकारात्मक उर्जा प्रदान गर्नुपर्नेमा उल्टो भोलेन्टियरका रुपमा खटाइएका कर्मचारीले विरामीलाई निर्वाधरुपमा कुटपिट, धम्की दिने गरेको अध्यक्ष कडेलले जानकारी दिए।

यसअघि, सोही गृहमा सुधारका लागि राखिएका उर्लाबारीका दाबा तामाङको २०७३ साल साउन १२ गते मृत्युसमेत भएको थियो । गृहले तामाङको मृत्यु मस्तिष्काघातका कारण भएको स्पस्टीकरण दिइरहँदा पीडितका परिवारले भने कुटपिट र यातनाका कारण मृत्यु भएको आरोप लगाउदै आएका छन् । सो  घटनापनि दबाब र प्रभावकै भरमा त्यति बेला सामसुम पारिएको स्थानीयको भनाइ छ ।

यद्यपि इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले सुधार गृहमा धेरै व्यक्तिलाई गैरकानुनी ढंगबाट राखेको बताए। उनले भने, ‘ कानुनी प्रक्रिया पूरा गर्न आग्रह गर्दा सञ्चालकले अटेर गरिरहेको छ।’  यता, सुधार गृहका अध्यक्ष सागर राईले गृहमा कोही कसैलाई पनि यातना नदिएको दाबी गरे।  उनले भने ‘पहिले यातना दिइन्थ्यो ।अहिले त्यो काम बन्द गरिएको छ।’

उनले गृहको बचाउमा भने, ‘गृहमा काम गर्ने कोही कर्मचारीले कुटेको पाएमा कारबाही गर्छौं । यातना दिनेभन्दा पनि कसरी सुधार गर्न सकिन्छ भन्नेतर्फ केन्द्रित रहेर काम गर्छौं’। त्यसैगरि सूर्य भट्टराईको भने मोटरसाइकल दुर्घटनामा परेर घुँडामा समस्या आएको राईको दाबी छ । हाल झापा, मोरङ, सुनसरी तथा भारतीय क्षेत्रबाट विभिन्न लतमा फसेका २३ जनालाई सुधार गृहमा राखिएको छ।

पुस ४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्