हजार्डको गोलले चेल्सी सेमिफाइनलमा, बोर्नमाउथको सपना टुट्यो

चेल्सी लिग कप (इएफएल कप) अर्थात काराबाओ कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा बुधबार राति भएको क्वाटरफाइनलमा बोर्नमाउथमाथि संघर्षपूर्ण जित निकाल्दै चेल्सीले लिग कपको अन्तिम चारमा स्थान पक्का गरेको हो ।

चेल्सीको जितमा थप खेलाडीको रुपमा मैदान आएका इडन हजार्डले अन्तिमतिर गरेको गोल नै निर्णायक बन्यो । ८४ औँ मिनेटमा हजार्डले गोल गर्दै चेल्सीलाई जित दिलाएका हुन् ।

चेल्सीको जितसँगै कुनै पनि प्रमुख कप वा प्रतिस्पर्धाको पहिलोपटक सेमिफाइनलमा पुग्ने बोर्नमाउथको सपना टुट्यो । बोर्नमाउथका क्यालम विल्सनले गोल गर्ने राम्रो अवसर पाएका थिए, तर चुके ।

अब फाइनल प्रवेशका लागि चेल्सीले टोटनह्यामसँग प्रतिस्पर्धा गर्नेछ । आर्सनललाई २–० ले हराएर टोटनह्यामले पनि अन्तिम चारमा स्थान बनाएको छ ।

अर्को सेमिफाइनलमा साबिक विजेता म्यानचेस्टर सिटीले लिग वान क्लब बुर्टनसँग प्रतिस्पर्धा गर्ने पक्का भएको छ ।

पुस ५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्