रोनाल्डो र स्वारेजपछि बेलको ह्याट्रिक, रियल मड्रिड पुग्यो फाइनलमा

स्पेनिस क्लब रियल मड्रिड क्लब वर्ल्ड कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार बेलुका भएको खेलमा जापानी क्लब काशिमा एन्टलेर्सलाई ३–१ ले हराउँदै रियल मड्रिडले फाइनलमा स्थान बनाएको हो ।
रियल मड्रिडको जितमा तीनै गोल ग्यारेथ बेलले गरेका हुन् । अबुधाबीमा भएको खेलमा काशिमाका लागि शोमा डोइले एक गोल फर्काए । बेलले ४४, ५३ र ५५ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् । बेलका दुई गोलमा मार्सेलोले पास दिएका थिए ।
बेल क्लब वर्ल्ड कपको इतिहासमा ह्याट्रिक गर्ने तेस्रो खेलाडी बनेका छन् । यसअघि बार्सिलोनाका लुइस स्वारेज र अहिले इटालीयन क्लब युभेन्टसबाट खेल्दै आएका क्रिष्टियानो रोनाल्डोले यो प्रतियोगितामा ह्याट्रिक गरेका थिए । रोनाल्डोले रियल मड्रिडबाट खेल्दा ह्याट्रिक गरेका हुन् ।
काशिमाका लागि ७८ औँ मिनेटमा डोइले एक गोल फर्काए पनि हार टार्न सकेनन् । रियल मड्रिडले अब फाइनलमा आउँदो शनिबार संयुक्त अरब इमिरेट्स (युएई) को क्लब अल एइनसँग प्रतिस्पर्धा गर्नेछ । रियल मड्रिड लगातार तेस्रो वर्ष उपाधि जित्ने लक्ष्यमा छ ।