सडकजस्तो बाँधको निर्माण सुरु

भारतले फेरि ‘बाँध’ बनाउन थाल्यो, बर्खामा डुब्ने भो नेपालगञ्ज

भारतले सीमा क्षेत्रमा निर्माण गरिरहेको सडक जस्तै देखिने बाँध ।

बाँके – भारतले लामो समयदेखि रोकेको सडकजस्तो बाँधको निर्माण अघि बढाएपछि बाँकेको दक्षिण–पश्चिम भेगका बासिन्दा त्रसित भएका छन् ।

हिरमिनियाको अगाडि पिप्रहवागाउँबाट पश्चिमको क्षेत्रमा भारतले सडकजस्तो बाँध बिस्तार गनै थालेको हो । झण्डै डेढ वर्षदेखि त्यहाँ काम रोकिएको थियो ।

सडकजस्तो बाँधलाई हिरमिनिया पश्चिममा समेत बिस्तार थालेपछि बर्खामा नेपालगञ्ज उपमहानगरपालिकासमेत डुबानमा पर्ने संभावना बढेको छ ।

भारतले सडकजस्तो बाँधको आवश्यक ठाउँमा पानीको प्राकृतिक बहावलाई ‘पास’ हुने गरी कल्भर्टसमेत निर्माण गरेको छैन । सडकजस्तो बाँधको निर्माण रोक्न स्थानीय प्रशासनदेखि मुख्यमन्त्री हुँदै केन्द्रसम्म लबिङ्ग गरेको लक्ष्मणपुर बाँध संघर्ष समितिका सचिव राजकुमार शुक्लाले बताए । तर भारतले हिरमिनिया पश्चिममा सडकजस्तो बाँधको काम अघि बढाएकाले अब आउने बर्खामा नेपालगञ्ज शहरसमेत डुबानमा पर्ने उनले बताए ।

‘निर्माण रोक्नका लागि हामीले धेरै पहल गरेका हौँ, ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले समेत परराष्ट्रमन्त्रीसँग कुरा गरेर रोक्न पहल गर्छु भन्नुभएको थियो’ शुक्लाले भने, ‘रोक्न कसैले पहल गरेनन् । भारतले काम अघि बढायो ।’

भारतको रेलवे र वन विभागसँग कुरा नमिल्दा काम रोकिएको थियो । आन्तरिक समस्या समाधान हुने बित्तिकै भारतले सडकजस्तो बाँधको काम अघि बढाएको छ । एक हप्तादेखि त्यहाँ धमाधम काम भइरहेको छ ।

भारतले सन् १९८५ मा राप्ती नदीमा लक्ष्मणपुर बाँध र सन् २००० मा कलकलवा तटबन्ध निर्माण गरेपछि तटीय क्षेत्रका बासिन्दाहरु कटान र डुबानमा परेका छन् । राप्ती नदी तथा आसपासका खोलानालाको पानीको प्राकृतिक बहाव रोक्ने गरी भारतले पश्चिमतर्फसमेत सडकजस्तो बाँध निर्माण गरेपछि दक्षिणभेग पूरै डुबानमा पर्ने भएको हो । भारतले सडकजस्तो बाँध बाँकेखण्डमा मात्रै नभई पूर्व–मेचीहुँदै पश्चिम महाकालीसम्म नै बनाइरहेको छ ।

लक्ष्मणपुर बाँध र कलकलवा तटबन्धले होलिया, पिप्रहवा, गंगापुर, नरैनापुर, मटेहिया, फत्तेपुर, वनकट्टी, कम्दी, लक्ष्मणपुरमात्रै डुबानमा पर्दै आएकोमा पश्चिमतर्फ बिस्तार गरिएको सडकजस्तो बाँधले हिरमिनिया, पिप्रहवा, जयसपुर, नेपालगञ्ज बजारसमेत डुबानमा पर्ने छन् ।

नेपालगञ्ज बजारबाट दक्षिणतर्फ बगेको नालाको पानीलाई सडकजस्तो बाँधले रोक्दा बजार डुबानमा पर्ने जानकारहरु बताउँछन् ।

भारतले तीनदेखि ५ मिटर उचाई र ३० मिटरसम्म चौडाईमा सडकजस्तो बाँध निर्माण गरिरहेको छ । यो पक्की संरचनाले दक्षिणतर्फ बग्ने नदी, खोलानालाको पानी रोक्नेछ । प्राकृतिक बहाव रोकिँदा डुबान हुने गरेको छ । भारतले पूर्वदेखि पश्चिमको एक हजार ७ सय ५१ किलोमिटरमै यो संरचना बनाइरहेको छ ।

पुस ५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्