कर्नाटक : मन्दिरको प्रसादमा विष प्रकरण

मन्दिरको प्रसादमा ‘पूजारी’ ले नै मिसाएका थिए विष

बायाँबाट क्रमशः अभियुक्तहरु महादेवस्वामी, अन्बिका, मदेश र डोडैया ।

कर्नाटकको चामराजनगर जिल्लाको एक मन्दिरमा प्रसाद खाएका १५ जनाको ज्यान गयो । घटनाको अनुसन्धानमा रहेको प्रहरीले मन्दिरको ट्रस्टका अध्यक्षलाई पक्राउ गरेको छ ।

प्रसाद खाएपछि बिरामी परेकाहरुको मेसुरका विभिन्न अस्पतालमा भर्ना गरिएको छ । अस्पतालमा रहेका ९० मध्ये २० जनाको अवस्था गम्भीर रहेको स्वास्थ्यकर्मीले बताएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

गएको शुक्रबार मन्दिरको प्रसादमा ट्रस्टका अध्यक्षले किटनाशक औषधि मिसाएको प्रहरीले बताएको छ । सल्लुर मठका ५२ वर्षका पूजारी एवम् ट्रस्टका अध्यक्ष इम्मादी महादेवस्वामीले एक महिला र अरु दुई पुरुषको सहयोगमा प्रसादमा विष मिसाएको प्रहरीले जानकारी दिएको छ ।

कुकर्ममा दिने महिलाको नाम अन्बिका र उनका पतिको नाम मदेश रहेको बताइएको छ । यस्तै डोडैया नाम गरेका अर्का व्यक्तिले पनि साथ दिएका थिए । मन्दिरको प्रशासनलाई बदनाम गरेर ट्रस्टमा रहेको रकम आफ्नो हातमा लिने उनीहरुको उद्देश्य रहेको बताइएको छ ।

सन् २०१७ सम्म हनूर तालुकाको सुलावडी गाउँको श्री किचुकुट्टी मराम्मा मन्दिरको नियन्त्रण पूर्ण रुपमा महादेवस्वामीको हातमा थियो । उनी माले महादेश्वरामा रहेको सल्लूर मठका पूजारी पनि हुन्।

उनले पहिले सबै आदान–प्रदान आफ्नो निजी खाताबाट गर्दै आएका थिए, उनी निकै शक्तिशाली थिए । तर ट्रस्ट बनेपछि स्वामीको शक्ति कम हुँदै गयो र ट्रस्टमा प्रतिद्वन्द्विता पनि बढेको प्रहरीको भनाई छ ।

स्थानीय बासिन्दाको दबाबका कारण ट्रस्ट बनाइएको हो । स्थानीय मन्दिरको बिस्तार चाहन्थे । मन्दिरमा कर्नाटक र तमिलनाडुका विभिन्न क्षेत्रबाट श्रद्धालु पुग्ने गर्छन् । मन्दिरमा श्रद्धालुले चढाएको भेटी रकम धेरै हुने गरेको छ ।

पछिल्लो पटक मन्दिरको टावर बनाउने विषयमा विवाद भएको थियो । स्वामी डेढ करोडको लागतमा टावर बनाउन चाहन्थे भने अरु ५० देखि ५५ लाख मात्रै खर्च गर्न चाहन्थे ।

१४ डिसेम्बरमा ट्रस्टका सदस्यहरुले टावरको आधारशिला राखेर स्वामीलाई जानकारी मात्रै दिए । त्यसपछि स्वामीले अन्बिका, मदेश र डोडैयासँग मिलेर योजना बनाई प्रसादमा विष मिसाएको प्रहरीको भनाई छ । उनी ट्रस्टका सदस्यलाई यसको दोषी बनाउन चाहन्थे । तर उनी आफ्नै जालमा फसेका छन् ।

अन्बिकाले कृषि विभागमा काम गर्ने नातेदारसँग आफ्नो खेतीमा राख्न भन्दै किटनाशक औषधि मागेको पनि प्रहरीको अनुसन्धानमा खुलेको छ । प्रहरीले सबै अभियुक्तलाई पक्राउ गरेर कारवाही प्रक्रिया सुरु गरेको छ ।

पुस ५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्