रोनाल्डो र मेस्सीको कीर्तिमानमा बेलले गरे बराबरी

स्पेनिस क्लब रियल मड्रिडका ग्यारेथ बेलले दुई स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सीको कीर्तिमानसँग बराबरी गरेका छन् ।

बेलको ह्याट्रिकको सहयोगमा रियल मड्रिडले जापानको क्लब काशिमा एन्टलेर्सलाई ३–१ ले हराउँदै क्लब वर्ल्ड कप फुटबलको फाइनलमा स्थान बनाउने क्रममा बेलले रोनाल्डो र मेस्सीको कीर्तिमानसँग बराबरी गरेका हुन् । उनी क्लब वर्ल्ड कपका तीन संस्करणमा गोल गर्ने तेस्रो खेलाडी बनेका छन् ।

यसअघि सन् २०१४ र २०१७ को क्लब वर्ल्ड कपमा गोल गरेका बेलले यो पटक ह्याट्रिक गरेका हुन्। उनी यो प्रतिस्पर्धामा ह्याट्रिक गर्ने रोनाल्डो र लुइस स्वारेजपछिका तेस्रो खेलाडी हुन् ।

रोनाल्डोले क्लब वर्ल्ड कपमा सन् २००८ मा म्यानचेस्टर युनाइटेड तथा सन् २०१६ र २०१७ मा रियल मड्रिडका लागि गोल गरेका थिए । यस्तै मेस्सीले बार्सिलोनाका लागि सन् २००९, २०११ र २०१५ मा गोल गरेका थिए ।

रियल मड्रिडले यो वर्षको उपाधिका लागि आउँदो शनिबार युएईको क्लब अल एइनसँग प्रतिस्पर्धा गर्दैछ ।

बेल प्रतियोगिताको सर्वकालीन सर्वाधिक गोलकर्ताको कीर्तिमानसँग बराबरी गर्नबाट एक गोल मात्रै पछि छन् । प्रतिस्पर्धामा सात गोल गरेको रोनाल्डोको नाममा यो कीर्तिमान छ ।

पुस ५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्