अन्नपूर्ण गाँउपालिकाबासी आन्दोलित, भन्छन्,

‘एक्याप चाहिँदैन, चेकपोस्ट तत्काल हटाइयोस्, हाम्रो ठाउँको संरक्षण आफैँ गर्छौं’

पोखरा – नेपाली पर्यटकसँग प्रवेश शुल्क उठाएको विरोधमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाप्रति आक्रोशित स्थानीयबासीले अन्नपूर्ण गाउँपालिका वडा नम्बर–७ पोथनामा चेकपोस्ट तालाबन्दी गरेका छन्। दुई साताअघि वीरेठाँटी चेकपोष्टमा तालाबन्दी गरेका स्थानीयले एक्यापसँगको केही सहमतिपछि शनिबार खोलिएको थियो।

तर, युवा समूहहरुले संघर्ष समितिले गरेको सहमति नमान्ने बताउँदै बुधबारदेखि तालाबन्दी गरेका हुन्। ‘एक्यापले यस क्षेत्रको संरक्षणमा जुन भूमिका खेल्यो त्यो निकै सराहनीय छ, अब यहाँका स्थानीय आफ्नो गाउँ ठाउँ र माटोको संरक्षण गर्न योग्य छन्, अब एक्यापले यहाँबाट स–सम्मान हट्नु श्रेयस्कर हुन्छ,’ वीरेठाँटीका स्थानीय सुरेश गुरुङले भने।

गुरुङले एक्यापसँग भएको सहमति पनि स्थानीय बुझ्ने रुपमा गर्नुपर्ने बताए। उनले थपे, ‘यहाँ केही व्यक्तिको झुण्डसँग होइन स्थानीयको भावनासँग जोडिएको विषय भएकाले स्थानीयलाई निषेध गरेर भएका सम्झौता मान्य हुँदैनन्।’

यसैबीच, पोथनाबाट चेकपोस्ट हटाउन र आन्दोलनका कार्यक्रम गर्न स्थानीय कुमार गुरुङको संयोजकत्वमा ७ सदस्यीय संघर्ष समिति गठन गरिएको छ। समितिको सदस्यहरुमा हरिमान गुरुङ, थमबहादुर गुरुङ, खुशीमान आले, रेशम देवकोटा, अनिल थापा र तिलक थापा छन्।

उनीहरुले जुनसुकै हालतमा पनि एक्यापको चेकपोष्ट आफ्नो ठाउँबाट हटाउनुपर्ने माग राखेका छन्। ‘हाम्रो माग पोथनाबाट चेकपोस्ट हटोस् भन्ने हो अरु सहमतिबाट जान सकिन्छ,’ सदस्य हरिमान गुरुङले भने।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले स्थानीयका जायज माग सम्बोधन हुनुपर्ने बताउँछन्। नेपाली पर्यटकसँग पैसा लिनु जायज नभएको टिप्पणी गर्दै वार्ता र सहमतिको विकल्प नभएको उनले बताएका छन्।

एक्यापका प्रमुख राजकुमार गुरुङले नेपाल सरकारले राजपत्रमै निकालेर निर्देशन पठाएपछि निर्णय कार्र्र्र्यान्वय गरेको जनाउँदै स्थानीयको भावना विपरीत आफूहरु नजाने बताए। उनले भने, ‘हामी स्थानीय भावनामा ठेस पुग्ने गरेर कुनै कदम चाल्दैनौँ, उठेका समस्याहरु पनि वार्ता र संवादका माध्यमबाट सम्बोधन हुन्छन्।’

पोथाना लोकप्रिय मर्दी हिमालको गेट–वे हो भने वीरेठाँटी चेकपोष्टबाट अन्नपूर्ण बेस क्याम्प घान्द्रुक र पुनहिल ट्रेक पर्छ।

पुस ६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्