दाङमा विद्यार्थी बोकेको बस दुर्घटना

ज्यान गुमाउने ‘अधिकांश विद्यार्थी’, १६ को शव अस्पतालमा, ५ को शव दुर्घटनास्थलमै

दाङ – दाङमा शुक्रबार साँझ शैक्षिक भ्रमणमा गएर फर्किएका विद्यार्थी सवार बस दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ। जसमध्ये १६ जनाको शव राप्ती अञ्चल अस्पतालमा ल्याइपुर्याइएको छ।

अन्य ५ जनाको शव फेला परेपनि उद्दार गरेर ल्याउन समस्या भएको तुलसीपुर उपमहानगरपालिका–३ का वडा अध्यक्ष विजय विकले जनाएका छन्।

दुर्घटनास्थलमै रहेका वडा अध्यक्ष विकका अनुसार गाडी ८ सय मिटरभन्दा अग्लो भीरबाट खोँचका खसेको छ।

‘गाडी दुर्घटनाका क्रममा पहिलो स्टेपमा ५–६ जना पसेको देखिन्छ, अर्को पटक भुँइमा बजारिँदा ७–८ जना खसेको देखिन्छ, अर्को दुई स्टेप बजारिँएर गाडी खोँचमा पुगेको रहेछ,’ दुर्घटनास्थलमै रहेका विकले भने।

मृतकको संख्या यकिन छैनः विक

वडा अध्यक्ष विकले दुर्घटनामा ज्यान गुमाएकाहरुको संख्या यकिन नभएको बताएका छन्। उनले दुर्घटना ज्यान गुमाएका अधिकांश विद्यार्थी रहेको जनाउँदै उद्दार कार्य राति १० बजेसम्म पनि चलिरहेको बताए।

अहिलेसम्ममा १६ वटा शव हस्पिटल पुर्याइसकिएको छ, अरु ५ वटा शव फेला परेपनि उद्दार गरेर लान समस्या भएको छ,’ विकले देश सञ्चारसँग भने, ‘राति परेको र जंगली जनावरको पनि डर रहेकाले सुरक्षाकर्मीसँगै वडा नम्बर–३ का धेरै स्थानीयबासीले पहरा दिइरहेका छन्।’

विकले गाडीको इञ्जिनले पनि केही शव किचेको देखिएको बताएका छन्। उनले जेनेरेटर र अन्य बत्तीको व्यवस्था गरेर उद्दार कार्य गरिरहेको बताए।

यसरी खस्यो बस

दुर्घटनास्थल राम्री यसअघि पनि बारम्बार दुर्घटना भइरहेको स्थान हो। वडा अध्यक्ष विकका अनुसार गत वर्ष सोही स्थानबाट ट्रयाक्टर खसेको थियो। ‘त्यसको अघिल्लो वर्ष दुई जना सवार मोटरसाइकल खसेको थियो,’ उनले भने।

दुर्घटनास्थल घुम्ती छ। अगाडिको दृश्य प्रष्ट नदेखिने स्थिति रहेको विक बताउँछन्। ‘सडकको बिचमै खाडल छ, बस चालकले किनार मिचेको देखिन्छ,’ उनी भन्छन्, ‘त्यसपछि चिउरीको बोटमा बस ठोक्किएर तल झरेको रहेछ।’

पुस ६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्