पोखरामा सुरु भयाे सातौँ नेपाल साहित्य महोत्सव

साहित्य महोत्सवमा मनिषा कोइराला र सुशीला कार्की आकर्षण

पोखरा – बुकवर्म फाउण्डेशनको आयोजना रहेको सातौँ नेपाल साहित्य महोत्सव शनिबारदेखि पोखरामा सुरु भएको छ। देश तथा विदेशका ख्याती प्राप्त लेखक, साहित्यकार, राजनीतिज्ञ, कलाकारको सहभागिता वक्ताका रुपमा सहभागी भएका छन्। ‘सौन्दर्यको सहरमा शब्दहरुको संकथन’ ट्यागलाइन दिइएको महोत्सवमा फेवाकिनारबाट सबैलाई उत्साहित बनाइरहेको छ।

महोत्सवको शिक्षा क्षेत्रको नक्षत्रको रुपमा मानिएका जर्ज जोन र एलियाम्मा जोनको उद्घाटन गरे। उनले पोखरेलीले दिएको मायाले जन्मघर नै बिर्सादिएको स्मरण गरे। यही मायाका कारण पोखरासँग आफ्नो अमिट सम्बन्ध जोडिरहेको बताए।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारीले नेपाली साहित्य, संस्कृति र भाषाको विकासका यस्ता महोत्सवको उल्लेखनीय योगदान रहने जनाउँदै यसको उत्थानमा आफू सदैव लागि पर्ने बताएका छन्। अधिकारीले साहित्यिक महोत्सवले अब पोखरा सांस्कृतिक र पर्यटकीय शहर मात्रै नभएर साहित्यिक शहरका रूपमा पनि विकसित हुँदै गएको धारणा राखेका छन्।

साहित्यकार सरुभक्तले प्रमुख अतिथि जर्ज जोन र एलियाम्माले नेपालको शैक्षिक विकास पुर्याएको योगदानबारे प्रकाश पारे। सोही अवसरमा मनिषा कोइरालाद्वारा लिखित पुस्तक ‘हिल्ड’ पर्यटन मन्त्री रबिन्द्र अधिकारी, नायक राजेश हमाल, सुष्मा कोइराला लगायतले विमोचन गरेका थिए।

महोत्सवमा चर्चित पाकिस्तानी लेखक मोहम्मद हनिफ, नेपाली मूलका भारतीय लेखक प्रज्जवल पराजुली, बेलायती ग्राफिक नोभलिस्ट डाक्टर निकोला स्ट्रिटेन र भारतीय पत्रकार हरिश नाम्बियर लगायत सहभागि छन्। अलिमिया जोन र भूपी जोन गरी विभाजित कक्षमा ४० सत्रमा एक सय २० वक्ता छलफलमा रहेका छन्।

उद्घाटनसत्रलाई सम्बोधन गर्दै पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले महिला माथि निरन्तर हिंसा भइरहेको बताइन्। कार्कीले अवसरबाट सहभागिताबाट बञ्चित गराइनुपनि हिंसा भएको टिप्पणी गर्दै सामाजिक न्यायको अभ्यास अझै हुन नसकेको बताएकी छिन्।

आफुले न्याय सम्पादनमा कैयन अप्ठ्राका बाबजुद पनि बोल्ड डिसिजन गरेर न्याय क्षेत्रका विकृतिलाई चुनौती दिएको बताएकी कार्कीले ती चुनौतीले न्याय क्षेत्रमा एउटा मान्यता स्थापित गरेको उद्घोष गरिन्।

‘छोरी भएर जन्मेकै कारण अवसरबाट बञ्चित गरिन्छ, महिला भएकै कारण सक्षम हुँदाहुँदै पनि उचित स्थान दिइँदैन, तेस्रोलिङ्गीलाई मानिस नै होइनजस्तो गरी अमानवीय व्यवहार गरिन्छ,’ कार्कीले भनिन्।

पूर्व प्रधानन्यायाधीश कार्कीले समाजमा असमानता रहिरहसम्म स्वस्थ समाज निर्माण हुन नसक्ने बताइन्। विसंगतिपूर्ण जीवनमा संगतिहरुको खोजी जरुरी हुने उनको धारणा थियो। विसंगति हाम्रो साहित्य र कलामा प्रतिबिम्बित हुने गरेको कार्कीले बताइन्। नेपाली समाजलाई विसंगतिपूर्ण बनाउने ठूलो कारण लैगिंक विभेदको भएको उनको धारणा थियो।

लैगिंक हिंसा अनेक रुप भएको बताएकी कार्कीले निर्मला पन्तको घटनाले प्रहरी माथि नै शंका उब्जाएको उल्लेख गरिन्। प्रमाण मेटाउने कार्यमा प्रहरी नै सहभागी भएको देखिँदा आमनागरिकले शंका गर्ने ठाउँ पाएको उनको भनाई थियो।

‘कुनै पनि घटनामा समयमै उपलब्ध हुने प्रमाण कुनै पनि हालतमा जोगाउनुपर्छ भन्ने अपराधशास्त्रको सामान्य ज्ञान हो, प्रहरी प्रशासनले यति नबुझ्दा घटनामा नियतमाथि प्रश्न उठेको हो, बलात्कारजस्तो मुद्दामा दण्डहीनता मौलाउनुको डरलाग्दो पक्ष हो,’ कार्कीले भनिन्।

कार्यक्रममा बलिउड स्टार मनिषा कोइरालाले कर्म क्षेत्रमा निरन्तर लागिपर्दा आफैँलाई रोग लागेको पनि पत्तो नभएको बताइन्। ‘तर, रोगसँग लडेर प्राप्त गरेको जीवनमा वास्तविक आनन्द लिइरहेकी छु, अब सक्रिय रुपमा सामाजिक क्षेत्रमा क्रियाशिल भएर काम गर्नेछु,’ उनले भनिन्।

बाँकी दिनहरुलाई पुस्तक लेखन तथा क्यान्सरविरुद्ध सचेतनाको कार्यमा जुट्ने दृढता मनिषाले व्यक्त गरेकी छिन्। ‘क्यान्सरको जोखिम न्यूनिकरणका लागि लागि पर्नेछु,’ उनले भनिन्।

साथै केही महिनाभित्रै हिल्डको नेपाली संस्करण आउने जानकारी पनि उनले दिएकी छिन्। आमा सुष्मा कोइरालाले मनिषाले पाएको नयाँ जीवनपछि आफुले आनन्दले सास फेरेको धारणा राखिन्। जीवनमा सन्तानप्रतिको मायालाई सूक्ष्म रुपमा केलाउँदै जाँदा आफु बाँच्नुको कुनै अर्थ नरहेकोसम्म अनुभूति उनले प्रस्तुत गरिन्।

साथै उद्घाटन शत्रमै महानायक राजेश हमालले मनिषा कोइरालालाई जीवनका आरोह–अवरोह र ती परिस्थितसँग जुद्धाका अनुभवको बारेमा प्रश्न गरेका थिए।

पुस ७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्