नेपाल लिटरेचर फेस्टिभल

सय वर्षपछिको नेपालदेखि मीटूसम्मको बहस

पोखरा – नेपाल लिटरेचर फेस्टिभल–२०१८ को दोस्रो दिन आइतबार बुकवर्म फाउण्डेशन र र्‍याण्डम रिडर्स सोसाइटीको आयोजनामा तालबाराही चोकमा भइरहेको फेस्टिभलमा विभिन्‍न विषयवस्तुमा चर्चा–परिचर्चा भएको छ।

आइएमईले मुख्य प्र्रायोजन गरेको कार्यक्रममा लेखक साहित्यकारसँगै सर्वसाधारणको उल्लेख्य सहभागिता रह्यो। आइतबारको फेस्टिभलको पहिलो सेसन थियो, ‘सय वर्षपछिको नेपाल।’ यो सेसनमा वरिष्ठ पत्रकार एवं लेखक सुधीर शर्मा र अर्थविद् विश्व पौडेलले अन्तक्रिया गरे।

सेसनमा उनीहरुले सय वर्षपछिको नेपालको अनुमान त गरे नै, अहिले भइरहेका विकास एवम् राजनीति आदिका कारण विकासमा पछि परेको नेपालका विषयमा पनि चर्चा पनि गरे। उक्त अवसरमा उनीहरुले नेपालको आर्थिक समृद्धि र विश्व अर्थतन्त्रबारे पनि चर्चा गरे।

राणशासनदेखि अहिलेसम्मका शासकका वृत्ति, मनोवृत्ति एवम् प्रवृत्तिका विविध पक्षमा पनि उनीहरुले अन्तरसंवाद गरे। पर्यटन एवं यहाँका सम्भावनालाई चिनेर अघि बढ्न सके नेपालको भविष्य उज्ज्वल रहेको उनीहरुको धारणा थियो।

दोस्रो सेसन थियो, क्यान नेपाल बी द (इन्टेलेक्चुअल) सलोन अफ साउथ एसिया? यो सेसनमा हरिश नाम्बियर, मोहम्मद हनिफ र कनकमणि दीक्षितले अन्तरक्रिया गरे।

यो कार्यक्रमका प्रस्तोता थिइन्, रम्यता लिम्बू। सोही समयमा आर्ट अफ एक्टिभिज्म शीर्षकमा छलफल भयो । उक्त अवसरमा मञ्जुश्री थापासँग अस्मिना रञ्जितले छलफल चलाइन्।

तेस्रो सेसनमा भिजिट नेपाल २०२० बारे संवाद भयो। यसको शीर्षक थियो, ‘किन घुम्ने नेपाल?’ यसमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, उद्योगी सुरज वैद्य र आङछिरिङ शेर्पाले अन्तरक्रिया गरे।

कार्यक्रमका प्रस्तोता थिए, सुजित महत। उक्त छलफलमा मन्त्री अधिकारीले भिजिट नेपाल २०२० को सफलताका लागि सबै आआफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्नेमा जोड दिए। साथै निजीक्षेत्रको सहकार्यमा सरकारले विभिन्न पर्यटनका योजना ल्याउने तयारी गरिरहेको उनको भनाइ छ।

पर्यटनका माध्यमबाट नेपालमा आर्थिक समृद्धि हासिल गर्न सकिने उनले बताए। साथै व्यवसायीले पनि सरकार पर्यटनमैत्री भएर अघि बढ्नुपर्नेमा जोड दिए। मन्त्री अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति भइरहेको र केही वर्षभित्रै यसको क्षमता अहिलेको तुलनामा दोब्बर पुग्ने दाबी गरे।

सँगै भैरहवा र पोखरामा निर्माणाधीन विमानस्थल पूरा भएसँगै नेपालमा पर्यटक पनि बढ्ने र भिजन २०२० को लक्ष्य पनि पूरा हुने उनको भनाइ छ। पाँच वर्षभित्र निजगढमा बनाउने भनिएको अन्तर्राष्ट्रिय विमानस्थल करिबकरिब निर्माण भइसक्ने अवस्थामा रहने उनले आकलन गरे।

व्यवसायी सुरज वैद्यले नेपालको विकास निर्माणमा निजीक्षेत्रको सधैं सहकार्य रहने र आफ्ना तर्फबाट पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमको चौथो सेसनमा अभिनेता दयाहाङ राई र खगेन्द्र लामिछानेले अन्तरसंवाद गरे। त्यसको प्रस्तोता थिए, लेखक बुद्धिसागर। उनीहरुले ‘सहर, साथी र सपना’ शीर्षकमा छलफल भयो।

यो सेसन अत्यन्त रोचक थियो, सहभागीहरुले यो सेसनमा एउटा व्यक्ति गाउँले जीवनबाट सहर पसिसकेपछि उसले गरेका संघर्षका कथा मात्रै सुनाएनन्, सुख र दुःखका अनेकौं रमाइला किस्सा सुनाए। तीनै जनाले आफूहरुका प्रवृत्ति र दैनिकीबारे पनि छलफल गरे।

सोही समयमा ‘रेमिट्यान्स साहित्यः दुःखदेखि दुःखसम्म’ शीर्षक सेसनमा गणेश गुरुङ, उमा सुवेदी र जनकराज सापकोटाले वैदेशिक रोजगारीका दुःख, व्यथा एवं पीडाबारे संवाद गरे। यसका प्रस्तोता थिए, दिनेश काफ्ले।

वैदेशिक रोजगारीको सामाजिक प्रभावबारेको पुस्तक कहर लेखिसकेका जनराज सापकोटाले भने, ‘८० वर्षभन्दा बढी समयदेखि वैदेशिक रोजगारीमा जानेहरु रहेपनि नेपाली साहित्यमा त्यसले अझ उचित स्थान पाएको छैन।’ उनीहरुले वैदेशिक रोजगारीले निम्त्याएको सामाजिक विग्रहबारे पनि छलफल गरे।

पाँचौं सेसनमा ‘मधेसः आन्दोलनदेखि आख्यानसम्म’ शीर्षकमा शिवानीसिंह थारु, बसन्त बस्नेत र गणेशप्रसाद लाठले अन्तरसंवाद गरे। प्रस्तोता थिए, गिरीश गिरी। उक्त अवसरमा उनीहरुले आन्दोलनदेखि आख्यानसम्म मधेसको अवस्था एवम् चित्रणबारे छलफल गरे। साथै उक्त अवसरमा मधेसलाई विषय बनाएर लेखिएका साहित्यले पारेको प्रभावका विषयमा पनि छलफल भयो।

सोही समयमा मीटू शीर्षकमा छलफल भयो। यसका वक्ता थिए, भूमिका श्रेष्ठ, ऋचा शर्मा र सुरेश ढकालले मीटू अभियानबारे चर्चा परिचर्चा गरे। कार्यक्रमकी प्रस्तोता थिइन्, सावित्री गौतम। उक्त अवसरमा उनीहरुले पछिल्लो समय चर्चामा रहेको मीटू अभियानको विषयमा चर्चा मात्र गरेनन्, नेपालमा महिला हिंसाका विषयलाई पनि विभिन्न दृष्टिकोणबाट विचारविमर्श गरे।

छैटौं सेसनमा ‘द आर्ट अफ राइटिङ’ शीर्षकमा म ञ्जुश्री थापा र प्रज्ज्वल पराजुलीसँग मुना गुरुङले अन्तर संवाद गरे। उनीहरुले लेखनकला एवम् शैलीका विविध पक्षमाथि चर्चा गरे। सँगै आफूहरुले अपनाएको लेखनकलाका विषयमा पनि प्रस्ट्याए।

सोही समयमा ‘कविताको कोरियोग्राफी’ शीर्षकमा विप्लव ढकाल, विप्लव प्रतीक र रमेश क्षितिजसँग सरस्वती प्रतीक्षाले छलफल चलाइन्। उनीहरुले कविता लेखनका कुरा विविध पक्षबारे चर्चा गरे।र कविता लेख्नुअघिका रोचक तथ्य पनि प्रस्तुत गरे।

आइतबारको अन्तिम सेसन थियो, ‘आकाश, विम्वाकाश। यो सेसनमा नवराज पराजुलीले बर्तिका एम राई र अजर जङ्गमसँग अन्तरसंवाद गरे। उनीहरुले कविता लेखन एवम् गीत लेखनका विषयमा चर्चा गरेका थिए।

पुस ८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्