दुर्घटनाप्रति बस सञ्चालकद्वारा दुःख व्यक्त

बस दुर्घटनामा ज्यान गुमाएका २३ जनालाई क्षतिपूर्ति, घाइतेको उपचार गर्ने

बस दुर्घटनामा ज्यान गुमाएका विद्यार्थीका भावह्विल आफन्त।

दाङ – नमस्ते राप्ती यातायात प्रालि दाङले शुक्रबार तुलसीपुर–३ राम्रीमा भएको बस दुर्घटनामा परेर मृत्यु भएका व्यक्तिका घर परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने भएको छ। घाइतेहरुको उपचार गर्ने प्रतिवद्धता जनाएको छ।

मृतक विद्यार्थी तथा शिक्षकहरुलाई बिमा कम्पनी पोटेन्सियलले जनही ५ लाख र बसका स्टाफहरुलाई जनही १० लाख रुपैयाँ बिमावापतको रकम दिने बसधनी प्रविण पुनले जानकारी दिएका छन्। साथै घाइतेहरुको उपचारका लागि बिमाले ३ लाख रुपैयाँ र त्यसभन्दा माथि प्रालीले व्यहोर्ने उनले बताए।

घटनाप्रति बस सञ्चालकले दुःख व्यक्त गरेका छन्। प्रालिले आइतबार घोराहीमा पत्रकार सम्मेलन गरी आफुहरुले सञ्चालन गरेको बा४ख ९७६६ नम्बरको बस कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयबाट शैक्षिक भ्रमणका लागि शिक्षक विद्यार्थीलाई सल्यान लगेर फर्कने क्रममा भएको अकल्पनीय दुर्घटनाप्रति दुःख व्यक्त गरेको हो।

प्रालिले बस दुर्घटनामा पर्दा भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकहरु प्रति श्रद्धाञ्जली, घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना र शोकाकुल परिवारमा समवेदना प्रकट गरेको छ। शिक्षा क्षेत्रमा भएको यस दुःखद घटनाले आफुहरुलाई अत्यन्त मर्माहत बनाएको जनाएको छ।

प्रालिका अध्यक्ष वामदेव खनालले उक्त दुर्घटना पश्चात उद्दारमा तत्परता देखाउने स्थानीय सरकार, जिल्ला प्रशासन, प्रहरी, नेपाली सेना, राजनीतिकर्मी, नागरिक समाज, स्वास्थ्यकर्मी, व्यवसायी तथा पत्रकारहरुप्रति कृतज्ञता व्यक्त गरेका छन्।

पुस ८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्