फेरि ज्वालामुखी बिस्फोट र सुनामीको खतरा

इन्डोनेसियामा सुनामी (अपडेट) : ज्यान गुमाउनेको संख्या २८० पुग्यो, ज्वालामुखी अझै सक्रिय

इन्डोनेसियाको क्राकातोए ज्वालामुखी सक्रिय अवस्था रहेकाले फेरि नयाँ सुनामी आउन सक्ने चेतावनी दिइएको छ । शनिबार राति क्राकातोए ज्वालामुखी बिस्फोट भएपछि समुद्रमुनि गएको पहिरोका कारण सुनामी गएको थियो ।

फेरि नयाँ सुनामी आउन सक्ने भन्दै तटीय क्षेत्रबाट सुरक्षित स्थानमा सर्न सर्वसाधारणलाई भनिएको छ । शनिबार राति गएको सुनामीका कारण इन्डोनेसियाको जाभा र सुमात्राका आइल्याण्डमा बढी प्रभाव परेको छ ।

अहिलेसम्म कम्तिमा २८० जनाको ज्यान गएको इन्डोनेसियाको विपद व्यवस्थापन एजेन्सीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । ज्वालामुखी बिस्फोट भएका कारण आइल्याण्डसँग जोडिएको समुद्री क्षेत्रमा पानिमुनि पहिरो गएको हो । जसले गर्दा सुनामी आएको हो।

एक हजार भन्दा बढी घाइते भएका छन् । सयौँ भवन भत्किएको विपद व्यवस्थापन एजेन्सीले उल्लेख गरेको छ । एनाक क्राकातोए आइतबार फेरि बिस्फोट भयो, त्यहाँबाट लाभा र खरानी निस्कियो । अझै बिस्फोट हुन सक्ने र फेरि सुनामी जान सक्ने भएकाले सचेत रहन भनिएको छ ।

राजधानी जकार्ताबाट नजिकै रहेको विश्व प्रशिद्ध पर्यटकीय गन्तव्य आसपासमा सुनामीको असर परेको हो । सुनामीका कारण सन्डा स्ट्रेटका पानडेग्लाङ्ग, सेराङ्ग र दक्षिण लामपुङ्ग क्षेत्र प्रभावित भएका छन् । क्राकातोए ज्वालामुखीबाट निस्कएको लाभा पाँच सय मिटर माथिसम्म गएको थियो ।

यसअघि सन् २००४ को डिसेम्बर २६ मा भूकम्पपछि गएको सुनामीमा परेर १३ देशका दुई लाख २६ हजार मानिसको ज्यान गएको थियो । यसरी ज्यान गुमाउनेमा इन्डोनेसियाका एक लाख २० हजार भन्दा धेरै थिए ।

पुस ९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्