द लेजेण्ड अफ मौला जाट्

बलिउडमा फवाद खानको पाकिस्तानी चलचित्र चर्चामा, करण जोहरले गरे ‘ब्लकबस्टर’ बन्ने घोषणा

पाकिस्तानी अभिनेता फवाद खानका फ्यान पाकिस्तानमा मात्रै सीमित छैनन्, भारत र नेपालसहित विश्वभर उनका शुभचिन्तक छन् ।

विशेषगरी पाकिस्तानी टेलिभिजन ड्रामाहरुबाट लोकप्रिय भएका फवाद खान केही वर्षअघि बलिउड चलचित्रमा देखिए ।

खुबशुरतमा सोनम कपुरसँग काम गरेको उनको अभियन रुचाइयो । यस्तै ए दिल है मुश्किलमा फवादले रणवीर कपुर, ऐश्वर्य राय तथा अनुष्का शर्मासँग काम गरे । तुलनात्मक रुपमा छोटो भूमिकामा देखिएका उनको काम रुचाइयो ।

उनले करण जोहरको अर्को चलचित्र कपुर एण्ड सन्समा चुनौतीपूर्ण भूमिका निर्वाह गरे । फवादले चलचित्रमा गरेको समलैंगिक भूमिकालाई निकै रुचाइयो । राम्रो अभियन र उस्तै राम्रो बानी अनि रुपका कारण लोकप्रिय रहेका फवाद त्यसपछि बलिउड चलचित्रमा देखिएका छैनन् ।

भारत–पाकिस्तानबिचको राजनीतिक तथा कुटनीतिक विवादको चपेटामा उनीहरु परे र बलिउड चलचित्रमा सक्रिय रहेका फवाद खानसहितका पाकिस्तानी कलाकारका चलचित्र आउन छाडे ।

शाहरुख खानसँगको चलचित्र रइसबाट बलिउडमा डेब्यु गरिन् पाकिस्तानकी चर्चित अभिनेत्री माहिरा खानले । उनका लागि पनि राजनीतिक तथा कुटनीतिक विवाद बलिउड करिअर फस्टान नपाउनुको कारण बन्यो ।

फवाद र माहिरा पाकिस्तानमै चलचित्र तथा टेलिभिजनका सक्रिय रहेका छन् । अब फवाद तथा माहिराका फ्यान अर्थात विश्वभर रहेका शुभचिन्तकका लागि खुशीको खबर आएको छ ।

उनीहरु अभिनित पाकिस्तानी चलचित्र ‘द लेजेण्ड अफ मौला जाट्’ को ट्रेलर सार्वजनिक भएको छ । डिसेम्बर २१ मा ट्रेलर सार्वजनिक भएको चलचित्रको पोस्ट प्रोडक्सनको काम जारी छ । सन् २०१९ को जुनमा प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको ट्रेलर उत्कृष्ट देखिएको छ ।

ठूलो बजेटमा बनेको चलचित्रमार्फत फेरि फवाद र माहिराको जोडी हेर्न पाइने भएको छ । उनीहरुको बहुचर्चित ड्रामा ‘हमसफर’ पछि फेरि सँगै आउन लागेका हुन् ।

पाकिस्तानी चलचित्रको चर्चा बलिउडमा त्यति नहुने भए पनि ‘द लेजेन्ड अफ मौला जाट्’ को चर्चा निकै भइरहेको छ । निर्माता करण जोहरले ट्वीट गरेर फवादलाई बधाई दिएका छन् । उनले फवाद निकै उत्कृष्ट देखिएको र चलचित्र भव्य रुपमा सफल हुने विश्वास जनाएका छन् ।

कपुर एण्ड सन्समा सँगै काम गरेका अभिनेता सिद्धार्थ मल्होत्राले ट्वीट गरेर फवादलाई बधाई दिएका छन् । उनले चलचित्रको फस्ट लुक ट्रेलर राम्रो रहेको उल्लेख गरेका छन् ।

निदेर्शक अनुराग कश्यपले अबको समय फवाद खानको रहेका भन्दै ट्वीट गरेका छन् ।

चलचित्रमा फवाद र माहिरासँगै हुमाइना मलिक, हम्जा अली अब्बासी, अली अज्मात, गोहर रशीदसहितको अभियन छ । चलचित्रको निर्देशन बिलाल लाशरीले गरेका छन् ।

पुस ९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्