भारतमा लोकसभा निर्वाचन

भाजपाले जितेको ‘गोरखाल्याण्ड’मा यसपटक के होला?

गोरखाल्याण्ड आन्दोलन। फाइल तस्बिर

दार्जीलिङ – सन् २०१४ को निर्वाचनमा विमल गुरुङ नेतृत्वको गोरख जनमुक्ति मोर्चाको समर्थनमा भारतीय जनता पार्टीका नेता सुरेन्द्रजीत सिंह आहलुवालिया विजयी भए। तर, गोरखाल्याण्डको मुद्दामा भाजपाले धोका दिएपछि अहिले मोर्चासँग सम्बन्ध बिग्रिएको छ।

त्यसमाथि विनय तामाङले गोरखा जनमुक्ति मोर्चाका अध्यक्ष बिमल गुरुङ र महासचिव रोशन गिरीलाई कारबाही गरेपछि उनी आफैँ अध्यक्ष भएका छन्। र, मोर्चाका कार्यकर्ता विभाजित छन्।

भाजपाले गोरखाल्याण्डको मुद्दामा साथ नदिएपछि असन्तुष्ट रहेका दार्जीलिङ पहाडबासीले अब कसलाई चुन्लान्। ‘भन्न गाह्रो छ, तर अब गोरखाल्याण्ड पक्षधर नेतालाई नै लोकसभा सिटमा उठाउनु पर्छ,’ दार्जीलिङका लेखक तथा पत्रकार रुबेन गुरुङ भन्छन्, ‘किनभने लोकसभामा गोरखाल्याण्डको आवाज उठाउन पनि पहाडकै कुनै नेता अघि सर्नुपर्छ।’

दार्जीलिङ पहाडमा विनय तामाङ नेतृत्वको मोर्चा र विमल गुरुङ नेतृत्वको मोर्चाको जनमत बलियो छ। त्यसैगरी, सुवास घिमिङले खोलेको गोरखा राष्ट्रिय मुक्ति मोर्चाको पनि निश्चित क्षेत्रमा पकड छ।

क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टी, भारतीय राष्ट्रिय कांग्रेस, तृणमूल कांग्रेस र भारतीय जनता पार्टी पनि पहाडकै कुनै पार्टीको साथ पाएमा उम्मेदवार खडा गर्ने मनस्थितिमा रहेका छन्।

‘तर, भूमिपुत्र नै उठाउनु पर्छ, आहलुवालियलाई उठाउदा धोका भयो, मुद्दा नै ओझेलमा पर्यो,’ गुरुङ भन्छन्, ‘त्यसैले विभाजित दुई मोर्चा एक भएर साझा उम्मेदवार तय गर्नु बुद्धिमानी हुन्छ।’

यद्यपि, गोरखाल्याण्डका लागि लडिरहेको विमल गुरुङ नेतृत्वको मोर्चा र विनय तामाङ नेतृत्वको मोर्चाले लोकसभा निर्वाचनका लागि उम्मेदवार घोषणा गरिसकेका छैनन्। विमल गुरुङले चाहिँ भाजपासँग पुनः गठबन्धन गर्ने संकेत एक कार्यक्रममा गरेका छन्।

पुस ९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्