साहित्य महोत्सवमा कतै अँध्यारो-उज्यालो, कतै संस्मरण विस्मरण

पोखरा-  पोखरामा जारी आइएमई नेपाल लिटरेचर फेस्टिभल २०१८मा सोमबार ‘अँध्यारो उज्यालो’ शीर्षकमा वरिष्ठ पत्रकार विजय कुमार र रवि लामिछानेले अन्तरक्रिया गरे।

पत्रकारद्वयले पत्रकारिता, साहित्य, संगीत, बेथिति एवम् जीवन र जगतबारे छलफल गर्दै राजनीतिक अव्यवस्था र नेतृत्ववर्गको गैरजिम्मेवारीपनको समेत आलोचना गरे। राजनीतिक नेतृत्वको अहिलेको प्रवृत्तिमा कतै न कतै जनताको पनि भूमिका रहेको पत्रकार विजय कुमारले बताए। उनीहरुले आफ्ना जीवनका अँध्यारा उज्याला पक्षको विवेचना गर्दै मानिसका विविध जीवनशैलीबारे पनि चर्चा गरे। आम मानिसको उज्याला र अँध्यारा पक्षबारे पनि सेसनमा छलफल भयो।

तेस्रो दिनको दोस्रो सेसनमा ‘संस्मरण विस्मरण’ शीर्षकमा दीपक सापकोटाले युवराज घिमिरे, ब्रजेश र अर्चना थापासँग अन्तरसंवाद गरे। उक्त अवसरमा कतिपय अवस्थामा आत्मकथाले वास्तविकता एवम् यथार्थलाई ढाकछोप गरी आफूलाई हिरो देखाउने गरेको विषयमा समेत व्यंग्य गरे। उनीहरुले नेपालमा आत्मकथा लेखनको शैली एवम् आफ्नो जीवनका स्मृति र विस्मृतिलाई उजिल्याए। साथै पछिल्लो समय बढ्दै गएको आत्मकथा लेखनको अवस्था र त्यसले पठनशैली बढाएको विषयमा पनि चर्चा गरे। अर्चना थापा र ब्रजेशले आफूले लेखेका पुस्तकका विषयवस्तु र लेख्नुका कारण पनि प्रस्ट्याए।

सोही समयमा मुक्त मुक्तक शीर्षकमा सेसन चलेको थियो। उक्त सेसनमा मुक्तक मञ्च पोखरासँग सम्बद्ध १५ जना मुक्तककारले मुक्तक सुनाए। प्रेम, विछोड, राजनीतिक एवम् समसामयिक विषयवस्तुमा आबद्ध रहेर मुक्तककारले मुक्तक सुनाएका थिए।

‘प्रतिरोध’ शीर्षकको तेस्रो संवादमा बसन्त बस्नेतले वात्स्यायन, कुन्ता शर्मा र उपेन्द्र सुब्बासँग संवाद गरे। सोही समयमा ‘द राइटिङ जर्नी’ शीर्षकमा प्रतिभा तुलाधरले प्रज्ज्वल पराजुली, रवि थापा र प्रणय राणासँग अन्तरसंवाद गरिन्। उक्त अवसरमा उनीहरुले लेखनशैलीबारे चर्चा परिचर्चा गरे। फेस्टिभलको चौथो सेसन थियो, ‘प्रजातन्त्र र पुस्तक।’ यो सेसनमा हरि शर्मा र सिके लालसँग मानुषी यमी भट्टराईले संवाद चलाइन्।

पुस्तकले कसरी प्रजातन्त्रीकरणमा मद्दत गर्छ र बजारीकरणसँग पुस्तकको कन्टेन्टको सम्बन्ध के हुन्छ भन्नेबारे चर्चा भएको थियो। सिके लालले पुस्तकको बजारीकरण र लेखनमा को संग्लन छ भन्नेले कस्तो पुस्तक उत्पादन भइरहेछ भन्ने प्रश्न उठाएका थिए। उनले पछिल्लो समयमा सजिलोसँग लेख्न सकिने र सजिलै बेच्न सकिने आत्मकथाका पुस्तक प्रकाशन बढेको भन्दै यस्तै अवस्था सधैं नरहने दाबी गरे।

पाँचौं सेसन ‘जर्नालिज्म अन्डर फायर’ शीर्षकमा एएस पनिरसल्भान, कनकमणि दीक्षित र सब्रिना थोप्पासँग भृकुटी राईले अन्तरसंवाद गरिन्। उनीहरुले पत्रकारिताका जोखिमका विषयमा आफ्ना अभिव्यक्ति मात्र दिएनन्, यसका विविध पक्षमाथि पनि छलफल चलाए। साथै विश्वपरिदृश्यमा पत्रकारिताको अवस्थाबारे पनि यो सेसनमा विमर्श गरियो। सोही समयमा ‘द मेकिङ अफ अ बेस्टसेलर’ शीर्षकमा सुबिन भट्टराई, नवराज पराजुली र कृष्ण धरावासीसँग सरिता पुरीले संवाद चलाइन्। उक्त अवसरमा बेस्टसेलर लेखनका पछाडि रहेका संघर्ष, परिश्रमका विविध पक्षमाथि पनि विचारविमर्श भयो। साथै बेस्टसेलर लेखक भट्टराई, पराजुली र धराबासीले पनि आफूहरुको लेखनशैली र प्रस्तुतिबारे पनि आआफ्ना धारणा राखे।  फेस्टिभलको छैटौं सेसन थियो, ‘फूलको आँखा’ । यो सेसनमा पत्रकार दिलभूषण पाठकले गायिका आनी छोइङ डोल्मासँग अन्तरसंवाद गरे। उक्त अवसरमा पाठकले आनीसँग जीवन र जगत्लाई हेर्ने सकारात्मक दृष्टिकोणबारे रोचक संवाद गरे । साथै सकारात्मकताबाटै जीवन जित्न सकिनेमा आनीले जोड दिइन् । तेस्रो दिनको अन्तिम सेसन ‘बितेका कुरा’ शीर्षकममा दीप श्रेष्ठ र वसन्त थापा रसिक मुडमा बहसिए । गायक श्रेष्ठ र लेखक थापाले बितेको समयका संगीतहरु समय बिते पनि संगीत बित्दैन भन्ने विषयमा आधारित रहेर अन्तरसंवाद गरे । साथै आआफ्ना विगतलाई रोचक किसिमले प्रस्तुत गरे ।

पुस ९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्