इन्डोनेसियामा सुनामी : ज्यान गुमाउनेको संख्या ३७० नाघ्यो, १२८ जना अझै बेपत्ता

इन्डोनेसियाको क्राकातोए ज्वालामुखी बिस्फोटपछि आएको सुनामीका कारण ज्यान गुमाउनेको संख्या ३७० नाघेको छ ।

अहिलेसम्म सुनामीका कारण कम्तिमा ३७३ जनाको ज्यान गएको पुष्टि भएको इन्डोनेसियाको विपद व्यवस्थापन एजेन्सीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

शनिबार राति गएको सुनामीका कारण इन्डोनेसियाको जाभा र सुमात्राका आइल्याण्डमा बढी प्रभाव परेको छ । ज्वालामुखी बिस्फोट भएका कारण आइल्याण्डसँग जोडिएको समुद्री क्षेत्रमा पानिमुनि पहिरो गएको हो । जसले गर्दा सुनामी आएको हो ।

सुनामीका कारण १४ सय ५९ जना घाइते भएका छन् भने १२८ जना अझै बेपत्ता रहेको एजेन्सीले जनाएको छ । एनाक क्राकातोए ज्वालामुखी आइतबार फेरि बिस्फोट भयो, त्यहाँबाट लाभा र खरानी निस्कियो ।

अझै बिस्फोट हुन सक्ने र फेरि सुनामी जान सक्ने भएकाले सचेत रहन भनिएको छ । राजधानी जकार्ताबाट नजिकै रहेको विश्व प्रशिद्ध पर्यटकीय गन्तव्य आसपासमा सुनामीको असर परेको हो ।

सुनामीका कारण सन्डा स्ट्रेटका पानडेग्लाङ्ग, सेराङ्ग र दक्षिण लामपुङ्ग क्षेत्र प्रभावित भएका छन् । क्राकातोए ज्वालामुखीबाट निस्कएको लाभा पाँच सय मिटर माथिसम्म गएको थियो ।

यसअघि सन् २००४ को डिसेम्बर २६ मा भूकम्पपछि गएको सुनामीमा परेर १३ देशका दुई लाख २६ हजार मानिसको ज्यान गएको थियो । यसरी ज्यान गुमाउनेमा इन्डोनेसियाका एक लाख २० हजार भन्दा धेरै थिए ।

पुस १०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्