ससुराको हत्या, घाइते बुहारी प्रहरी नियन्त्रणमा

सांकेतिक तस्बिर।

बैतडी  – अपरिपचत व्यक्तिले आइतबार राति सिगास गाउँपालिका– ९ श्रीभावरका ६० वर्षीय जसु बोहराको हत्या गरेको छ भने उनकी २१ वर्षीया बुहारी लक्ष्मीलाई घाइते बनाएको छ । प्रहरीले घटनापछि घाइते लक्ष्मीलाई नियन्त्रणमा लिएको छ ।

मुखमा मास्क लगाएर आएका व्यक्तिले ससुराको हत्या गरेको लक्ष्मीले प्रहरीलाई बयान दिएकी छन् । टाउकोमा चोट रहेकी लक्ष्मीको स्थानीय स्वास्थ्य चौकीमा उपचार गरिएको छ । इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक इन्द्रबहादुर बोगटीका अनुसार घटनास्थलमा पुरुषको घडी भेट्टिएको छ । घरमा ससुरा र बुहारी मात्रै रहेका बेला घटना भएको हो ।

लक्ष्मीले घटनापछि अर्को गाउँमा रहेका आफ्ना जेठाजु धनबहादुरलाई फोन सम्पर्क गरेको खुलेको बोगटीले बताए ।

लक्ष्मीका श्रीमान् रोजगारीको शिलशिलामा भारतमा छन् । हत्याबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बोगटीले बताए । उनले शंकास्पद केही व्यक्तिलाई पक्राउका लागि प्रहरी खटिएको जानकारी दिए ।

 

पुस १०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्