शिव सेनाका प्रमुखले गरे नरेन्द्र मोदीको कडा आलोचना, भने–‘चौकिदार नै चोर’

भारतीय राजनीतिमा राफायल घोटाला प्रमुख रुपमा उठ्दै आएको छ । यहि क्रममा शिव सेना प्रमुख उद्धव ठाकरेले राफायल प्रकरणमा प्रधानमन्त्री नरेन्द्र मोदीमाथि कडा प्रहार गरेका छन् ।
यसअघि कांग्रेससहितका विपक्षीले राफायल प्रकरणलाई लिएर मोदी सरकारको आलोचना गर्दै आएका थिए ।
शिव सेना सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) को सहयोगी पार्टी हो । तर सोमबार एक भाषणको क्रममा शिव सेनाका प्रमुख ठाकरेले कांग्रेस प्रयोग गर्दै आएको भाषाशैली नै अपनाए ।
ठाकरेले आफ्नो सम्बोधनको क्रममा कांग्रेस अध्यक्ष राहुल गान्धीले प्रयोग गरेकै जस्तो ‘चौकिदार नै चोर हुन्’ भन्ने उद्धरण दोहर्याएका छन् ।
हिन्दुत्वको मुद्दाका कारण एकअर्काका सहयोगी रहँदै आएको शिव सेनाका प्रमुख ठाकरेले प्रधानमन्त्री मोदीले उखान–टुक्का प्रयोग गरेर वाचा मात्रै गर्ने गरेको प्रति पनि आलोचना गरे ।
प्रधानमन्त्री मोदीले केही समयअघि सन् २०२२ सम्ममा आय दोब्बर गर्ने बताएका थिए । चुनावपछि मोदीले यसलाई पनि आफ्नो उखान–टुक्काबाजी मात्रै गरेको बताउने ठाकेरेले दाबी गरे ।