धैर्य र संघर्षले प्राप्त सफलता

शिक्षाको उज्यालो छर्दै दृष्टिविहीन ‘रीता म्याडम’

दाङ – शान्तिका लागि नोबेल पुरस्कार विजेता पाकिस्तानकी २१ वर्षीया मलाला युसुफजाईले भनेकी छिन्, ‘एक बालक, एक शिक्षक, एउटा पुस्तक र एउटा कलमले विश्व बदल्न सक्छ।’

करिब ६ वर्षअघि कुख्यात आतंककारी समूह तालिवानको आक्रमणपछि विश्वभरि ख्याती कमाएकी मलाला अहिले पनि पाकिस्तानमा महिलालाई शिक्षा दिनका लागि अभियान चलाइरहेकी छिन्।

शिक्षाको महत्व बुझेकी यी बालिका तालिवान, अलकायदाजस्ता विद्रोही समूहका लागि ‘थ्रेट’ बनिन्, कारण एउटै थियो –शिक्षाको ज्योति फैलाउने प्रयास।

कुप्रथाबाट ग्रस्त पाकिस्तान समाजका लागि मलालाको अभियान विश्वकै लागि प्रेरक छ। त्यस्तै प्रेरक जीवनकथा लेखिरहेकी छिन् राप्ती गाउँपालिका वडा नम्बर–८ पिपरी निवासी रीता चौधरी। उनी दृष्टिविहीन हुन्। तर, कयौँ विद्यार्थीलाई शिक्षाको उज्यालो प्रदान गरिरहेकी छिन् उनी।

समाजमा व्याप्त अनेकन वाधा र कुरीतिलाई चिर्दै रीताले शिक्षा आर्जन गरिन्। उनी अहिले एक सफल शिक्षिका बनेर सामाजिक कार्यमा सक्रिय छिन्।

यसरी सुरु हुन्छ रीताको दैनिकी

दोस्रो घण्टी लाग्यो। हातमा ठूलो किताब च्यापेर रीता चौधरी अघि बढिन्, सरासर कक्षा ६ को सेक्सन ‘बि’मा। सबै विद्याथी उठे। बस्न आग्रह गरिन्। विद्यार्थीले कितावको पाना पल्टाउन थाले।

अनि त्यो ठूलो किताबमा खोपिएका अक्षरहरु छाम्दै पाठको स्मरण गराउन थालिन् उनले। विषय नेपाली, पाठ १३ पढाई भइरहेको थियो। ४५ मिनेटको कक्षा सकियो। अनि फेरि अफिसमै आइन्।

पाँच वर्षअघि राप्ती गाउँपालिका वडा नम्बर–८ पिपरी निवासी रीता चौधरी आदर्श नमूना माध्यमिक विद्यालय देउपुरमा अस्थायी दरबन्दी शिक्षकको रुपमा नियुक्त भएर आउदा उनको मनमा बेग्लै डर थियो।

विद्यार्थीहरुको मन कसरी जित्न सकिएला? मलाई कसले सहयोग गर्ला? कुन कक्षा कहाँ छ? यी र यस्तै प्रश्नहरु उनको मनमा उब्जिएका थिए। तर, अहिले मनमा उब्जिएका सबै प्रश्नहरु हल भइसकेका छन्। उनी दृष्टिविहीन शिक्षक हुन्।

साङ्ग शिक्षकसरह विद्यार्थीहरुलाई पढाइरहेकी छिन्। रीताका श्रीमान् कर्णसिंह ताली पनि शिक्षक हुन्। उनी प्यूठान रजवारामा कार्यरत छन्। अल्पदृष्टिविहीन छन् उनका श्रीमान्।

रीता म्याडमको विद्यालय नजिकै डेरा छ। त्यो डेरामा डेढ वर्षकी छोरी साधना र दृष्टिविहीन आमा रीता मात्रै। साना छोराछोरीलाई सम्हाल्न साङ्ग व्यक्तिलाई त एक्लै गाह्रो हुन्छ, अझ दृष्टिविहीनलाई कति असहज होला! रीताले आफुसँगै छोरीलाई पनि विद्यालय लग्छिन्। रीताले पढाउदा उनकी छोरी अफिस कोठामै खेलेर बस्छिन्।

‘बच्चासँग साङ्ग व्यक्तिलाई त गाह्रो हुन्छ, अझ मजस्ता दृष्टिविहीनलाई कस्तो होला? धेरै मेहनत गर्नुपर्छ,’ उनले भनिन्, ‘आँखाले देख्ने कुरै भएन। दिमागले कहाँसम्म काम गर्छ, हात कहाँसम्म पुग्छ त्यसैगरी काम चलेको छ।’

सुरु–सुरुमा विद्यार्थीको सहायताले डेराबाट विद्यालय पुग्थिन् रीता। तर, अचेल कसैको सहारा चाहिँदैन। ‘सबै दिमागमा सेभ हुदोरहेछ । कहाँ घुमाउरो बाटो छ, कहाँ उकालो छ, कहाँ ओरालो छ, सबै महसुस गर्दै जाँदा अभ्यस्त भइसकेँ,’ उनले भनिन्, ‘अहिले विद्यार्थीसँग धेरै घुलमिल भएको छु। सहकर्मी शिक्षकशिक्षिकाहरुले धेरै सहयोग गर्नुहुन्छ। सजिलो भएको छ।’

शिक्षण यात्रा

रीताले नेपाली विषयमा डिग्री गरेकी छिन्। माध्यमिक तहसम्म पढ्दा उनलाई खासै दुःख भएन। तर, माथिल्लो तहमा पढ्दा पुस्तकहरुको समस्याले धेरै सतायो। शिक्षकहरुले कक्षा कोठामा पढाएको कुरा रेकर्ड गरेर सुन्दै त्यसलाई नोटको रुपमा तयार पार्नु पर्ने बाध्यता।

कहिलेकाही त पढ्दा–पढ्दै बिहान भइसकेको हुन्थ्यो। फेरि, क्याम्पसको यात्रामा निस्कनु पर्ने। क्याम्पस तहमा पढ्दा फिस तिर्नु परेन। छात्रवृत्ति प्राप्त हुँदा सहज त भयो, तर क्याम्पस दृष्टिविहीनमैत्री नहुँदा समस्या परिरहने।

अहिले पनि माथिल्लो तहमा दृष्टिविहीनहरुको लागि पाठ्यपुस्तक छैनन्। परीक्षा दिदा झनै समस्या। लेखन सहयोगी नभेटिँदा धेरै परीक्षामा उनका आँशुका धारा बगे।

‘भोलिजस्तो परीक्षा, लेखन सहयोगी नभेटिँदा कति पीडा भयो होला,’ उनले भनिन्, ‘धेरै संघर्ष गरेर यहाँसम्म आएँ, कति धेरै संघर्ष अझै बाँकी नै छ। समस्या पर्दा धैर्य गर्नुपर्छ, मैले त्यही गरे।’

सहकर्मीहरुको साथ

रीतालाई उनका सहकर्मीहरुले हौसला थप्ने काम गर्छन्। शिक्षिका नारायणी सुवेदीले उत्साह र अठोटले मानिसले जे पनि गर्न सक्छन् भन्ने उदाहरण रीतालाई हेरे पुग्ने बताउँछिन्।

शिक्षिका नारायणी सुवेदी

‘दृष्टि भएकाहरुलाई त पढाउन गाह्रो छ, दृष्टिविहीनले कसरी विद्यार्थीलाई पढाउन सक्छन्रु भन्ने लागेको थियो। तर, त्यस्तो होइनरहेछ,’ सुवेदीले भनिन्, ‘मैले केही भुले भने उहाँले मलाई सिकाउनु हुन्छ। उहाँमा फरक क्षमता छ। सबैले सम्मान गर्छौं।’

विद्यार्थीहरुमा उर्जा

विद्यार्थीहरु खुशी छन्। भुपेन्द्र यादव र सृजना कुसारी कक्षा ६ को ‘सी’ सेक्सनमा पढ्छन्। उनीजस्ता धेरै विद्यार्थीको मन र मस्तिष्कमा बस्न सफल भएकी छिन्, रीता।

‘म्यामले नजानको कुरा सिकाउनु हुन्छ,’ सृजनाले भनिन्, ‘हामीलाई बुझाउने कोसिस गर्नुहुन्छ।’

पुस १०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्