अपराधको दलदलको समाज

चार महिनामा ७८८ बलात्कार , २४० हत्या

काठमाडौँ- गत साउनमा कन्चनपुरको भीमदत्त नगरपालिकामा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय किशोरी निर्मला पन्तको हत्यारा अझै पत्ता लाग्न सकेको छैन। यो विषय राष्ट्रिय र अन्तर्राष्ट्रिय चासोको विषय बनिरहँदा नेपालमा बलात्कारको ग्राफ भने बढ्दो छ।

जबर्जस्ती करणीमा चालु आर्थिक वर्षको सुरुको चार महिनामा ७ सय ८८ वटा मुद्धा दर्ता भएका छन्। यो संख्या चार वर्षअघि एक आर्थिक वर्षभरीमा भएका जबर्जस्ती करणीका संख्यासँग लगभग बराबरी हुन आउँछ।

आर्थिक वर्ष २०७१/०७२ देशभर ९ सय ८१ वटा जबर्जस्ती करणीका मुद्धा दर्ता भएका थिए। त्यसयता हरेक वर्ष यो संख्या बढिरहेको छ। गत आर्थिक वर्षमा मात्र यो कसुरमा एक हजार चार सय ८० मुद्धा दर्ता भएका थिए। प्रहरीको केन्द्रीय तथ्यांकअनुसार आर्थिक वर्ष ०७३/७४ मा जबर्जस्ती करणीमा एक हजार एक सय ३७ मुद्धा दर्ता भएका थिए।

चालु आर्थिक वर्षको कात्तिकसम्म काठमाडौँ उपत्यकाभित्र मात्र ९२ वटा जबर्जस्ती करणीका मुद्धा दर्ता भएको तथ्यांक छ।   सबैभन्दा बढी प्रदेश-१ मा बलात्कारका घटना भएका छन्। उक्त अवधीमा यस प्रदेशमा दुई सय ११ बलात्कारका घटना दर्ता भएका छन्।

गत आर्थिक वर्षमा उपत्यकामा एक सय ८८ र प्रदेश-१ मा तीन सय ८४ बलात्कारका घटना दर्ता भएका थिए। त्यस आर्थिक वर्षमा सबैभन्दा कम बलात्कारका घटना प्रदेश-६ (५९) र प्रदेश-७(९३)मा दर्ता भएका थिए। चालु आर्थिक वर्ष प्रदेश-६ मा ५६ र प्रदेश-७ मा ४७ वटा बलात्कारका घटना भएको प्रहरी तथ्यांक छ।

लागु औषध र हत्या पनि उस्तै 

पछिल्लो समय जघन्य अपराधको ग्राफ दिनदिनै उक्लदोँ छ। कानुनले १० वर्षभन्दा बढी जेल सजाय भएको कसुरलाई जघन्य अपराधका रुपमा परिभाषित गरेको छ। कानुनत् आजिवन काराबाससम्मका सजायहरु कानुनले ब्यवस्था गरेको छ।

यहि व्यवस्था अनुसार जबर्जस्ती करणी,कर्तव्य ज्यान, मानव बेचबिखन तथा ओसारप्रसार, लागु औषध, ज्यान मार्ने उधोग, व्यक्ति अपहरण, खुन डाका, विस्फोटक पदार्थ लगायत कसुर जघन्य अपराधभित्र पर्दछन्।

आर्थिक वर्ष ०७३/७४ मा देशभर पाँच हजार चार सय ४५ जघन्य अपराधका घटना भएकामा यो बढेर गत आर्थिक वर्षमा ६ हजार ६ सय ४६ पुगेको थियो। चालु आर्थिक वर्षको सुरुको चार महिनामै २ हजार सात सय ४७ मुद्धा जघन्य अपराधसँग सम्बन्धित छन्।  नेपालमा अहिले हुने सबैभन्दा ठुलो संख्याको जघन्य अपराधमा लागु औषध पर्दछ।

चालु आर्थिक वर्षको सुरुको चार महिनामा मात्र १ हजार एक सय २९ लागु औषधसम्बन्धी मुद्धा दर्ता भए। गत आर्थिक वर्षमा देशभर यो कसुरमा ३ हजार ८८ मुद्धा दर्ता भएका थिए। त्यस वर्ष सबैभन्दा बढी प्रदेश-१ मा सात सय १९ र त्यसपछि काठमाडौँ उपत्यकामा पाँच सय १९ मुद्धा दर्ता भएको प्रहरी तथ्यांक छ।

आर्थिक वर्ष ०७३/७५ मा लागु औषध सम्बन्धी दुई हजार चार सय ६७ मुद्धा दर्ता भएका थिए।  चालु आर्थिक वर्षको सुरुको चार महिनामा लागु औषधसम्बन्धी उपत्यकामा २ सय २७ र प्रदेश-१ मा दुई सय ११ मुद्धा दर्ता भएको प्रहरी प्रधान कार्यालय बताउँछ।

तथ्यांकलाई हेर्दा कर्तव्य ज्यानका मुद्धा अघिल्लो वर्षको तुलनामा यसपटक बढ्ने देखिन्छ। चालु आर्थिक वर्षको सुरुको चार महिनामा देशभर दुई सय ४० हत्याका घटना भएका छन्। देशभर आर्थिक वर्ष ०७३/७४ मा ६ सय १६ र ०७४/७५ मा ६ सय २८ वटा हत्याका घटना भएका थिए। चालु आर्थिक वर्षको सुरुको चार महिनामा सबैभन्दा बढी हत्याका घटना प्रदेश-१ मा भएका छन्। यो प्रदेशमा ५४ वटा हत्याका घटना भएको प्रहरी तथ्यांक छ। प्रदेश-५ मा ४० र उपत्यकामा १९ वटा हत्या भएका छन्।

पुस १०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्