टोटनह्यामको अर्को शानदार जित, विपक्षीको पोस्टमा पाँच गोल

माउरिसिओ पोकेटिनोको टिम टोटनह्यामले इंग्लिस प्रिमियर लिग फुटबलमा लगातार फराकिलो गोल अन्तरको जित निकाल्दै आफूलाई उपाधि होडमा बलियो बनाउन लगेको छ ।

लिग अन्तर्गत बुधबार राति भएको खेलमा घरेलु मैदानमा टोटनह्यामले बोनमाउथमाथि ५–० को जित निकालेको हो । यसअघि उसले गएको आइतबार भएको खेलमा एभर्टनलाई ६–२ ले हराएको थियो । यसको अर्थ टोटनह्यामले पछिल्ला दुई खेलमा ११ गोल गरेको छ भने दुई गोल मात्रै खायो ।

बुधबार रातिको खेलमा निकालेको जितले उसलाई दोस्रो स्थानमा लगेको छ । अर्थात पोकेटिनोको टिमले पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीलाई पछि पारेको छ । पेपको टिम लगातार दुई खेलमा पराजित हुँदै तेस्रो स्थानमा झरेको छ ।

घरेलु मैदानमा बुधबार राति भएको खेलमा टोटनह्यामले पहिलो हाफमा तीन तथा दोस्रो हाफमा दुई गोल गरेको हो । उसका लागि सन हेङ्ग–मिनले २३ र ७० औँ मिनेटमा गरी दुई गोल गरे ।

सनले आफ्नो पहिलो गोल गर्नुअघि टिमका लागि १६ औँ मिनेटमा क्रिष्टियन एरिक्सनले गोल गरिसकेका थिए । यस्तै लुकास मोउराले ३५ औँ मिनेटमा गोल गरे भने सनले व्यक्तिगत दोस्रो गोल गर्नुअघि ६१ औँ मिनेटमा ह्यारी केनले गोल गरेका थिए ।

जितपछि दोस्रो स्थानमा पुगेको टोटनह्यामको १९ खेलबाट ४५ अंक भएको छ । उ शीर्ष स्थानको लिभरपुल भन्दा ६ अंकले पछि रहेको छ भने तेस्रो स्थानमा झरेको म्यानचेस्टर सिटी भन्दा एक अंकले अघि छ ।

महत्वपूर्ण जितपछि पनि टोटनह्यामका प्रशिक्षक पोकेटिनोले उपाधिको वास्तविक दाबेदार लिभरपुल र म्यानचेस्टर सिटी नै रहेको बताएका छन् ।

यस्तै गएको आइतबार टोटनह्यामसँग ६–२ ले पराजित भएको एभर्टनले बुधबार राति भएको खेलमा भने शानदार जित निकाल्यो । अवे मैदानमा भएको खेलमा उसले बर्नलीलाई ५–१ ले हराएको छ । जितपछि आठौँ स्थानमा उक्लिएको एभर्टनको १९ खेलबाट २७ अंक भएको छ ।

पुस १२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्