१७ औँ शतक बनाएका पूजाराले गांगुलीलाई पछि पारे, विराटको १९ औँ अर्धशतक

अस्ट्रेलियासँगको तेस्रो टेस्ट क्रिकेटमा भारतले राम्रो प्रदर्शन गरेको छ । मेलबर्नमा जारी टेस्टको पहिलो पारीमा भारतले पाँच विकेटका क्षतिमा ४०० रनको आँकडा बनाएको छ ।
यसमा चेतेश्वर पूजारा, कप्तान विराट कोहली र मयंक अग्रवालको भूमिका महत्वपूर्ण देखिएको छ । टस जितेर ब्याटिङ्ग थालेको भ्रमण टोली भारतले पहिलो दिन बुधबार दुई विकेटको क्षतिमा २१५ रन बनाएको थियो । अहिले दोस्रो दिनको खेल जारी छ ।
कप्तान कोहली र पूजाराले दोस्रो दिनको खेल सुरु गरेका थिए । पूजाराले शतकीय पारी खेलेका छन्। उनले १० चौकाको सहयोगमा १०६ बनाए । यस्तै कप्तान कोहली ८२ रन बनाएर आउट भए भने अग्रवालले ७६ रन बनाएका छन् ।
पूजाराको १७ औँ शतक
कप्तान विराट कोहलीले मेलबर्न टेस्टमा आफ्नो टेस्ट करिअरको १९ औँ अर्धशतक बनाएका बेला पूजाराले करिअरको १७ औँ शतक बनाए ।
पूजारा १९ औँ ओभरमा हनुमा बिहारी आउट भएपछि मैदान छिरेका थिए । उनले ११४ औँ ओभरको पहिलो बलमा आफ्नो टेस्ट करिअरको १७ औँ शतक बनाएका हुन् । उनी त्यसपछि ६ रन जोडेर आउट भए ।
पूजाराले १०० रन बनाउन २८० बलको सामना गरे । बलको हिसाबमा उनको यो सबैभन्दा ढिलो भएको शतक हो । जारी शृङ्खलामा पूजाराको दोस्रो शतक हो भने अस्ट्रेलियाविरुद्ध चौथो शतक हो ।
यसअघि उनले एडिलेड टेस्टमा १२३ रन बनाएका थिए । भारतीय उपमहाद्विप बाहिर भएको कुनै पनि टेस्ट शृङ्खलमा पूजारालो दुईपटक शतक बनाएको यो पहिलोपटक हो ।
पूजाराले भारतका सौरव गांगुलीलाई पछि पारेका छन् । उनी टेस्ट क्रिकेटमा १७ शतक बनाउने खेलाडीको सूचिमा परेका छन् । यो सूचिमा दिलीप वेंगसरकर, भिभिएस लक्ष्मण, मार्टिन क्रो, एडम गिलक्रिष्ट, डेनिस क्राम्पटनसहित पूजाराको नाम पनि दर्ता भएको छ ।
पूजाराले गांगुलीसहित, हर्बर्ट सटक्लिफ, तिलकरत्ने दिलशान, माइकल अथर्टन, रिची रिचर्र्डसनलाई पछि पारेका हुन् ।
पूजाराले शतक बनाएपछि ८ ओभर खेलेर कप्तान कोहली २०४ बलमा ८२ रन बनाइ आउट भए । उनले ९ चौका प्रहार गरेका छन् । पूजारा र कोहलीले तेस्रो विकेटका लागि १७० रनको साझेदारी गरे।