चालिसभन्दा बढी देशका युवाले लिए उद्यमशीलतामा तालिम

काठमाडौँ – विश्वभरिका युवा, सफल उद्यमी र उद्यमशीलताका विज्ञहरुको सहभागितामा ग्लोबल आन्टरप्रनारशीप बुटक्याम्प मलेशियाको क्वालालाम्पुरमा सम्पन्न भएको छ।

बुटक्याम्पको चौँथो संस्करणमा संसारभरिका ४० भन्दा बढी देशबाट एक सय ५० युवा र दर्जनभन्दा बढी सफल उद्यमी र विज्ञलाई जम्मा गरी युवालाई उद्यमशीलता सम्बन्धी शिक्षा प्रदान गरिएको हो।

नयाँ र मौलिक बिजनेस मोडेल बनाउन युवाले ती सफल उद्यमी र विज्ञहरुबाट शिक्षा लिए। यस किसिमको शिक्षाले नै ग्लोबल आन्टरप्रनारशिप बूटक्याम्पलाई पछिल्ला तीन संस्करणदेखि चिनाउँदै आइरहेको छ। यसभन्दा अघिका तीन बूटक्याम्पहरू नेपालको ककनी, थाइल्याण्डको बैंकक र इण्डोनेशियाको जकार्तामा भएका थिए।

बुटक्याम्पमा १७ वटा बिजनेस आइडिया प्रस्तुत भएका थिए। आयोजकका अनुसार अधिकांश बिजनेस आइडियाहरू बजारको माग अथवा दैनिक जीवनका समस्याहरू समाधान गर्ने उपायबाट प्रभावित छन्। ‘समस्या समाधान गर्ने उद्देश्यले युवाहरूले ल्याएका बिजनेस आइडियाले अवश्य पनि परिवर्तन ल्याउनेछन्,’ आयोजक समितिकी प्रबन्ध निर्देशक पार्शु अर्यालले भनिन्।

बिजनेस मोडल बनाउने प्रतियोगिता मुख्य पाटो भएपनि आयोजकका अनुसार ग्लोबल आन्टरप्रनारशिप बुटक्याम्प एउटा प्रतियोगितामा मात्र सीमित छैन।

‘हाम्रो बूटक्याम्प युवाहरूले व्यापार योजना बनाएर प्रस्तुत गर्ने प्रतियोगिता मात्र होइन, उद्यमशीलता सम्बन्धी बहुआयामिक अनुभवको मंचका रूपमा बूटक्याम्प स्थापित भइसकेको छ,’ ग्लोबल आन्टरप्रनारशिप बुटक्याम्पका संस्थापक अध्यक्ष खगेन्द्र आचार्यले भने।

आचार्यले बुटक्याम्पमा आएका उद्यमी र लगानीकर्ताले युवाहरुका बिजनेस मोडेल रुचाएको र भविष्यमा उनीहरुसँग काम गर्न इच्छुक रहेको बताएका छन्। चारदिने बूटक्याम्पका सह–आयोजक लिंकन युनिभर्सिटी कलेज र एशिया स्कूल अफ बिजनेस रहेका छन्।

एशिया स्कूल अफ बिजनेस अमेरिकाको एमआइटी स्लोन स्कूल अफ मेनेजेमेन्टसँगको सहकार्यमा चलेको संस्था हो।

एशिया स्कूल अफ बिजनेसको नवीनता एवं उद्यमशीलता केन्द्रका निर्देशक राजेश नायरले आइडियेशन र डिजाइन थिन्किङ विषयमा सहभागीहरुसँग अन्तरक्रिया गरे।

लिंकन युनिभर्सिटी कलेजकी प्रो. चान्सलर दतुक अब्दुल्लाह र इनसाइटमेन्टका सिइओ डानिएल दे ग्रुइतजर पनि बुटक्याम्पमा वक्ताका रुपमा उपस्थित भएका थिए।

वर्ल्ड इकोनोमिक फोरम विज्ञ सञ्जालका डा. रेनार्ड सिऊले जलवायु परिवर्तनको वास्तविकता र त्यसका समाधानबारे सहभागीहरुसँग अन्तरक्रिया गरेका थिए।

उद्यममा पैसा मात्रै सबैकुरा होइन भनेर दि बिजी बिजी इनिसेटिवका प्रविधि तथा बिक्री–साझेदारी प्रमुख म्यथिउ मारटेन्सले बताए। एशिया स्कूल अफ बिजनेसको एमबिएकी सहनिर्देशक जुलियाना रोथले सहभागी युवालाई प्रोत्साहित गरिन्।

एशिया स्कूल अफ बिजनेसकै वरिष्ठ कार्यक्रम व्यावस्थापक पोन्स अर्नेस्ट समनिगोले दीगो विकासका १७ उद्देश्यहरुका बारेमा प्रष्ट पारे।

रियोसुके इशी, डा केके सिंह, एङ्गुयेन क्वांग हुइ, डा. अन्ना बर्चेत्ती दुरिस्च, चित आइन थु, बुना दाहाल, अभिनव गौतम, दक्शिल सोनी, मुहम्मद सुमोन मोल्ला सलिम र यिन यिन बोएय पनि वक्ताका रुपमा बुटक्याम्पमा उपस्थित थिए।

पुस १२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू