१५औँ चितवन हात्ती महोत्सव

वनभोज खान हात्तीको लस्कर

चितवनको सौराहामा जारी ‘पन्ध्रौँ चितवन हात्ती महोत्सव’ अन्तर्गत बिहीबार हात्तीलाई मनपर्ने परिकार दिएर वनभोजको खुवाइदैं । बाघमारा मध्यवर्ती वनको चौरमा जारी महोत्सवमा दर्शकले निकै रमाइलोसँग हात्तीहरुको वनभोज कार्यक्रम हेरेका थिए । तस्बिर- रासस

चितवन-  उखु, गाजर, बन्दा, सुन्तला, स्याउलगातयका खानेकुरा। विभिन्‍न रंगले सिंगारिएको लहरै लाइन लागेर उभिएका छन् हात्ती, हात्तीमाथि बसेका छन् माहुते।  विहीबार विहान बाघमारा मध्यवर्ती वनको चौरमा हात्तीहरुको लागि एउटा उत्सव थियो।

सौराहामा जारी १५औँ चितवन हात्ती महोत्सवअन्तर्गत विहीबारका हात्तीलाई वनभोज खुवाइएको छ।

महोत्सवस्थल बाघमारा मध्यवर्ती सामुदायिक वनको खेल मैदानमा १०० भन्दाबढी हात्तीलाई वनभोज खुवाइएको हो । हात्तीलाई उखु, गाजर, बन्दा, सुन्तला, स्याउलगायत विभिन्न खानेकुरा खुवाइएको महोत्सवका प्रवक्ता दीपक भट्टराईले जानकारी दिए।

महोत्सवको बेला एक दिन भए पनि सबै प्रकारका खानेकुरा एकै समयमा सबै हात्तीलाई खुवाउँदा मनोरञ्जन हुनुका साथै हात्तीले पनि सबै खानाको स्वाद लिन पाउने भएकाले वनभोज कार्यक्रम राखिएको भट्टराईले भने।

धेरै हात्तीले एकै ठाउँमा खाना खाँदा महोत्सवको रौनकता वढ्ने र पर्यटकले रमाउँदै दृश्यावलोकन गर्ने उनले बताए।

हात्ती महोत्सवका अवसरमा युनाइटेड हात्ती सहकारी संस्था, ह्याप्पी हाउस, राष्ट्रिय प्रकृति संरक्षण कोष तथा चितवन राष्ट्रिय निकुञ्जका हात्तीलाई वनभोज खुवाइएको हो । हात्ती महोत्सवको अवसरमा सौराहामा हात्तीका छावाबीच फुटबल, हात्ती पोलो, हात्ती दौड, हात्ती शृङ्गारलगायतका विविध कार्यक्रम गरिँदैछन् ।

महोत्सवको बिहीबार राष्ट्रपति विद्यादेवि भण्डारीले उद्घाटन गर्नुभएको हो । महोत्सव पुस १५ गतेसम्म चल्नेछ ।

पुस १२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्