अष्ट्रेलियामा २२ वर्षीय नेपाली युवक बेपत्ता

अध्ययनका सिलसिलामा नेपालबाट अस्ट्रेलियाको एडिलेड आएका २२ वर्षे युवा निश्चल घिमिरे बेपत्ता भएका छन्।

करिब ३ वर्षअघि अस्ट्रेलिया आएका उनी ‘केयरर’ का रूपमा काम गर्दै आएका थिए। एडिलेड प्रहरीका अनुसार एडिलेडस्थित क्लेयरेन्स पार्कमा बसोबास गर्ने घिमिरेलाई अन्तिमपटक २७ डिसेम्बरका दिन बेलुकी चार बजे देखिएको थियो। त्यसबखत उनले एक अपाङ्ग करिब १० वर्षीय बालकलाई रेखदेख गर्ने काम गरिरहेका थिए र उक्त बालकलाई समुद्री तटमा घुमाउनका लागि ग्लेनेल्ग बिच लिएर गएका थिए। उनीहरू दुवैजना घर नफर्केपछि शुक्रबार स्थानीय समयअनुसार रातिको १२ः३० बजे प्रहरीलाई रिपोर्ट लेखाइएको थियो।

प्रहरीले ती १० वर्षीय बालकलाई सोही बिच नजिकै भेटेर अभिभावकलाई सुम्पिएको बताएको छ भने निश्चल घिमिरेको खोजी कार्य शुरु गरिसकेको बताएको छ। प्रहरीले बालकको भिजेको अवस्था देखेर उनीहरू दुवै जना समुद्री तटमा पौडी खेलिरहेको अनुमान गरेको छ भने बालकले केही पनि बोल्न नसक्ने अवस्थाले गर्दा अरू जानकारी पाउन नसकेको जनाएको छ। यसैबीच प्रहरीले निश्चल घिमिरेको गाडीलाई सोही बिचको नजिकै फेला पारेको छ।

निश्चल घिमिरेको खोजीका लागि हेलिकप्टर, तालीमप्राप्त कुकुर तथा डुङ्गाहरूको प्रयोग गरिरहेको बताएको छ। यसैबीच उनको खोजी कार्यमा सघाउ पुर्‍याउन उनका दाइ नेपालबाट एडिलेड आउने भएका छन्। उनी यही आइतबार डिसेम्बर ३० तारिखमा एडिलेडमा आउने बताइएको छ।
पुस १३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्