बम्जन प्रकरण

तर्सिएका बम्जन पीडित भन्छन्, ‘हामी बम्जन विरोधी होइनौँ, हाम्रो मान्छे भेटिए पुग्छ’

गंगामाया तामाङ। तस्बिरहरु: सुलभ श्रेष्ठ

काठमाडौँ– मकवानपुरकी गंगामाया तामाङ, आफ्नो बहिनी हराएको विवरण यसरी भन्छिन्, ‘मेरी साँइली बहिनी जसलाई हामी चिनिमाया भन्थ्यौँ, धर्ममा धेरै आस्था राख्थी। गुरु प्रेम दोर्जे बल लामा गुरुलाई मान्थी। उनको नाम कार्मा भएको थियो। २०६७ सालमा उसले आफू बसेको आश्रम छोड्ने र नयाँ गुरुकोमा जाने भनी। २०६८ सालमा ऊ रामबहादुर बम्जनको आश्रममा गई। उसको नाम चुन्मो भयो। २०७१ सालको माघमा घरमा फोन गरेकी थिई, लिन आउनु भनेकी थिई। घरबाट भन्नेबित्तिकै जान पाएनन्। २०७२ सालमा भुइँचालोले हल्लाएपछि हामीले सिन्धुपाल्चोकमा क्षति भएको बुझ्यौँ, बहिनीको याद आयो, भेट्नलाई आश्रम जाँदा त्यहाँबाट फागुनमा नै निस्किएको भने। कोहीले चिन्दै चिन्दैनौँ भने, गुरुलाई भेट्न जान दिएनन्।’

चुन्मोसँगै हराएकी डोल्मोको परिवारको कथा पनि उस्तै छ। डोल्मोका बुबा भन्छन्, ‘छोरी सानैदेखि धर्ममा आस्था राख्थी, मैले आश्रम परिवर्तन गर्ने बेलामा किन भनेर सोधेको थिएँ।’

‘मरेको बुद्धलाई होइन, जिउँदो बुद्धलाई मान्नुपर्छ’ भनी, २०६८ सालमा बम्जनको आश्रममा जाँदा उ एकदमै खुसी थिई। तर एक्कासी २०७१ सालको माघमा मलाई भोलि नै लिन आउनू भनी, तर म जान पाइनँ। आत्तिएकी होली भन्ने लागेर मैले सान्त्वना दिएँ र पछि आउने बाचा गरे तर २०७२ सालको भुइँचालो पछि म झस्किएँ। खोज्न जाँदा पाइनँ।’

दुई आनीजस्तै अर्का अनुयायी पनि बेपत्ता भएका छन्। महेन्द्र बहादुर वाइवाका बाबु सञ्चलाल वाइवा पनि २०७१ साल चैतदेखि बेपत्ता छन्। हेटौंडा उपमहानगरपालिका – १४ का सञ्चलाल बम्जनका अनुयायी थिए।

१३ वर्ष अगाडि बाराको रतनपुरमा एक तपस्वी युवा भेटिए। १४ वर्षका ती युवा थिए बारा रतनपुरी–५ का रामबहादुर बम्जन। रतनपुरको घना जंगलमा तपस्या गरेका बम्जनलाई ‘लिटल बुद्ध’ को नाम दिइयो, त्यसपछि उनलाई भगवान मान्नेको भीड बढ्यो। साधारण जीवन बिताइरहेका युवा रातारात भगवान भए, देश विदेशमा उनका अनुयायी बढेको र उनको नाममा सहयोग रकम आउने गरेको समाचार सेतोपाटी डट कमले प्रकाशन गरेको छ।

बमजनका आश्रम बाराको हलखोरिया, सिन्धुपाल्चोक, सिन्धुली र सर्लाहीको पत्थरकोट गरी चार ठाउँमा छन्। हलखोरिया जंगल सरकारी हो। त्यसबाहेक तीन ठाउँका आश्रम र वरिपरिको जग्गा बमजनको आफ्नै भनिएको छ।

एउटा बौद्ध संगठनका महासचिव प्रेम दोर्जेले रामबहादुर बम्जन ‘लिटल बुद्ध’ को नाम पाएदेखि नै सहयोग गर्दै आएको बताए। बमजनले २०६६ को गढीमाई बलि रोक्ने घोषणा गरे तर उनी त्यहाँ पुगेनन्। उनलाई सहयोग गर्न पुगेका महासचिव सहितको टोली पहिला नै गढीमाई पुगिसकेको थियो। गढीमाईको बलि रोक्न नपुगेका बम्जन तीन महिनापछि मात्र दार्जिलिङमा देखिए। उनले अनुयायीहरुलाई फरक फरक जवाफ दिएको प्रेम दोर्जेले बताए। बम्जनले आफू कहाँ गएको भन्ने कुरा टार्न खोजेपछि बम्जनबाट टाढा भएको प्रेम दोर्जे बताउँछन्।

बम्जनका आश्रमबाट हराएका आनी पहिला प्रेम दोर्जेकै आश्रममा बस्थे। २०६८ सालमा गुफाबाट निस्केपछि उनीहरू बमजनको आश्रम बाराको हलखोरिया गए। त्यसपछि सिन्धुली, अनि सिन्धुपाल्चोकको आश्रममा पुगेका उनीहरु तीन वर्षदेखि बेखबर छन्।

हराएका चुन्मो र डोल्मोको परिवार २०७३ चैतमा ललितपुरको चुनीखेलमा भएको बमजनको बोधी श्रवण धर्मसंघले सातदिने पूजामा पनि उनीहरुलाई खोज्न गएका थिए। गंगामायाले २०७० सालमा डोल्मो र चुन्मो अन्तिमपटक सँगै घर आएको बताइन्।

किन खोजी गरेनन् परिवारले?

बेपत्ता भएकामध्येमा सञ्चलाल बम्जनका छोरा महेन्द्रले मात्र प्रहरीमा उजुरी दिए। १० दिनमा आउँछु भनेका बुबाको अत्तोपत्तो नभएपछि उनले मकवानपुर जिल्ला प्रहरीमा गएर २०७१ चैत २७ गते उजुरी दिएको बताए।

फुलमाया रुम्बा अर्थात् डोल्मोका भाइले बताए, ‘बौद्ध धर्ममा ज्ञान प्राप्त गर्नको लागि तीन वर्ष तीन महिना र तीन दिन गुफामा बस्ने नियम छ, यो समयमा बाहिरका कोहीसँग पनि सम्पर्कमा हुँदैनन्। यो भन्दा अगाडि पनि यसरी बसेकी थिइन्। हामीले त्यहीँ गएकी होलिन् भन्ने ठान्यौँ। अरुबेला आश्रममा हुँदा पनि धेरै सम्पर्क हुन्थेन।’

प्रेम दोर्जे।

सरकारलाई खोजी गरिदिन माग

रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गर्दै बम्जन पीडित परिवारले सरकारसँग हराएका आफन्तको खोजी गर्न माग राखेका छन्। बम्जनको आश्रम सिन्धुपाल्चोकबाट अहिलेसम्म ४ जना हराएको बताइएको छ, तीमध्ये एकको मृत्यु भइसकेको सेतोपाटीको समाचारले पुष्टि गरेको छ।

रिपोर्टस क्लबमा एक साथ उभिएका पीडितहरुको एउटै स्वर थियो, कथा पनि उस्तै। उनीहरुलाई बम्जनको आश्रममा छिर्ने अनुमति दिइएन। बम्जनको शक्तिको पनि उनीहरुलाई ख्याल छ। हरेक पीडितले आफ्नो कुराकानीको अन्त्यमा भनिरहेका थिए, ‘हामीले बम्जनको बिरोध गरेका होइनौँ, हामीलाई हाम्रो मान्छे भेटिए पुग्छ।’

उनीहरु सबैको एकै स्वर थियो, ‘आश्रममा नै मरेको भए लाश पाउँ, नत्र भने भेट्न पाउँ।’

पुस १३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्