मेस्सीले रोनाल्डोलाई दिए यस्तो जवाफ

बार्सिलोनाका कप्तान लियोनल मेस्सीले चीर प्रतिद्वन्द्वीका रुपमा लिइने गरेका क्रिष्टियानो रोनाल्डोको पछिल्लो सुझावको जवाफ दिएका छन् ।

यो सिजन स्पेनिस क्लब रियल मड्रिडबाट इटालियन क्लब युभेन्टस गएका स्टार स्ट्राइकर रोनाल्डोले केही समयअघि मेस्सीलाई इटालियन क्लब आउन सुझाव दिएका थिए ।

रोनाल्डोले आफू मेस्सी इटालियन सिरी ए क्लब आएको हेर्न चाहेको र फेरि प्रतिस्पर्धा गर्ने मन रहेको बताएका थिए । मेस्सीले बारम्बार भन्ने गरेका छन्, कि उनी बार्सिलोनाबाट आफ्नो खेल जीवन अन्त्य गर्न चाहन्छन् ।

उनले रोनाल्डोको भनाईको जवाफ हालै एक अन्तर्वार्ताको क्रममा दिएका छन् । स्पेनिस पत्रिकार मार्कासँग मेस्सीले भनेका छन्, ‘मलाई कुनै परिवर्तन आवश्यक छैन ।

मलाई टिम परिवर्तन गर्नु आवश्यक छैन वा नयाँ उद्देश्यका लागि लिग पनि परिवर्तन गर्नु आवश्यक छैन । म घरमा छु र मलाई परिवर्तन गर्नु छैन ।’ मेस्सीले यो सिजन बार्सिलोनाका लागि २० खेलमा २१ गोल गरेका छन् र १३ गोलका लागि सहयोग गरेका छन् ।

पुस १४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्