प्रचण्डले अभिभावकत्व लिएका चितवनको मेघौलीका अरुण माझी मुसहर र पत्रुस मुसहर ।
अभिभावकत्व लिएका नानीहरुको अपमान

कहर काट्दै छन् प्रचण्डका ‘दुई छोराहरु’

गएको हप्ता हामी चितवनको दक्षिण–पश्चिममा रहेको मेघौलीको एक विद्यालय पुगेका थियौँ । भरतपुर महानगरपालिकाको वडा नम्बर २८ मा अवस्थित साझापुर माध्यामिक विद्यालय गएको वैशाखदेखि चर्चामा छ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दुई विपन्न विद्यार्थीहरुको अभिभावकत्व ग्रहण गरेका छन् यो विद्यालयमा ।

चितवनको भरतपुर महानगरपालिका २८ मा रहेको साझापुर माध्यामिक विद्यालय ।

हरेक वैशाखमा विद्यालय बाहिर रहेका विद्यालय उमेरका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनका लागि राष्ट्रिय भर्ना अभियान चल्दै आएको छ । यो वर्षको वैशाखमा चलेको भर्ना अभियान अरु वर्षभन्दा केही फरक थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली, प्रचण्डसहितका शीर्ष तथा प्रदेश तहका नेताहरुले विपन्न केही विद्यार्थीहरुको अभिभावकत्व ग्रहण गरे । सन्देश दिए, शिक्षा सबैको पहुँचमा छ र भविष्यको सुन्दर सपनालाई साँचो अर्थमा बाँच्न पाइन्छ ।

प्रचण्डले आफू निर्वाचित भएको चितवनको क्षेत्र नम्बर ३ को सांसदको नाताले जिल्लाको जेठो विद्यालय साझापुर माविमा दुई विद्यार्थीको अभिभावकत्व लिने निर्णय गरेका हुन् । २०११ साल कात्तिक १४ मा स्थापित भएको साझापुर माविमा पढ्न आउने विद्यार्थीमध्ये ७० प्रतिशत भन्दा बढी आदीबासी जनजाती छन् । थारु, मुसहर, माझी लगायका समुदायका विद्यार्थीको बाहुल्यता छ त्यहाँ ।

प्रचण्डले आर्थिक रुपमा विपन्न तथा सामाजिक रुपमा पछि परेका दुई विद्यार्थी पत्रुस मुसहर र अरुण माझी मुसहरको अभिभावकत्व लिए । अर्थात प्रचण्ड बने पत्रुस र अरुणका अभिभावक, त्योसँग जोडिएका सबै दायित्व स्वीकार्दै ।

अभिभावकको अर्थ बृहत नेपाली शब्द कोषमा यसरी दिइएको छ – १) पालन पोषण गर्ने, हेरविचार गर्ने, संरक्षक । २) छात्रछात्राको जिम्मा लिने वा जिम्मेवारी वहन गर्ने । ३) वशमा पार्ने । ४) जित्ने, पराजय गर्ने । ५) बुवाआमा वा संरक्षक व्यक्ति ।

स्कूलको रेकर्डमा उनीहरुको संरक्षणको जिम्मा अभिभावक प्रचण्डको नाममा छ ।

हामीले प्रचण्डले अभिभावकत्व लिएका पत्रुस र अरुणलाई विद्यालयदेखि घरसम्म पछयायौँ ।

प्रचण्ड अभिभावकत्व–एक, पत्रुस मुसहर


कक्षामा खेलौनासँग खेल्दै गरेका पत्रुस मुसहर ।

दिनको साढे १२ बजेतिर पुग्दा साझापुर माविमा प्रारम्भिक शिक्षाको पहिलो खुड्किलो अर्थात नर्सरी कक्षा कोठा नजिक पुग्दा साना नानीहरुको आवाज बाहिरसम्मै आइरहेको थियो ।

तीनदेखि पाँच वर्ष उमेरका साना नानीहरु आफ्नै सुरुमा थिए । कोही गुडिया खेलाउँदै थिए, कोही कापीमा लेख्दै त कोही आफ्नी म्याडम (शिक्षिका) को वरिपरी झुम्मिएका थिए । शिक्षिका गोमा बिक उनीहरुलाई पेन्सिल तिखारेर लेख्न सिकाउँदै थिइन् ।

ढोकाबाट पस्दा कक्षा कोठाको बायाँ कुनातिर शिक्षिका गोमाका वरिपरी केही बालबालिका थिए । केही ढोका नजिकै खेलिरहको थिए । अर्को एउटा झुण्ड दायाँ कुमाना रबरका टुक्राहरु जोडेर घर जस्तो आकृति बनाउन खोज्दै थिए । बिचमा बालबालिकालाई पढ्न सजिलो हुने गरी राखिएको टेबुल थियो ।

पत्रुस मुसहर र उनका सहपाठीहरु ।

दायाँ र बायाँ कुना अनि ढोकातिरका समूहमा रमाइरहेका साथीहरु भन्दा अलि भिन्न एक बालक थिए कोठाको दायाँ तिर । कम्मरमा अडिन अलि मुश्किल मानेको जस्तो देखिने निलो रंगको पाइन्ट । सेतो सर्टमाथि निलै रंगको स्वीटर र टाउकोमा निलो रंगको ऊनको टोपी लगाएका ती बालकको हातमा पहेँलो रंगको खेलौना थियो ।

‘तपाईँको हातमा के हो नि ?’ उनले सानो आवाजमा जवाफ दिए, ‘घोडा ।’

केही निहुरी परेका उनले खेलौना घोडाको खुट्टा मुखमा हालेका थिए ।  नाम के हो भनेर सोध्दा उनी बोलेनन् । त्यसपछि शिक्षिका गोमाले परिचय दिइन्, ‘उहाँको नाम पत्रुस मुसहर हो ।’ उनले नाम भिनिदिँदै पत्रुसलाई आफ्नो नाम भन्नु पर्छ नि भनेर सिकाइन् फेरि ।

अनि हामीतिर फर्केर भनिन्, ‘उहाँकै त हो प्रचण्डले अभिभाकत्व लिएको ।’ गोमाले आफ्ना विद्यार्थीको परिचय दिइरहँदा अरु बालबालिका जस्तै पत्रुस पनि आफ्नै खेलौनामा मस्त थिए ।

‘ठूलोबुवा’ प्रचण्ड


अलिबेर कक्षमै रहेका पत्रुस बाहिर निस्किए । सँगै गोमा पनि । केहीबेरमा फर्किँदा पत्रुस बोल्न मान्ने भएछन् ।

उनी कक्षामा आए । अनि भने, ‘मेरो नाम पत्रुस मुसहर हो ।’ उनले आफ्नो उमेर पनि भने । पाँच वर्षका भएछन् । यति भनेपछि उनी थप बोल्न चाहेनन् । अघिसम्म घोडा खेलेका पत्रुस अब रबरका टुक्राहरु मिलाएर घरजस्तो आकृति बनाउन लागे ।

शिक्षिका गोमाले पत्रुसबारे बताउन थालिन् । पत्रुस गएको वैशाखमा भन्दा अहिले बोल्न थाल्ने भएका रहेछन् । पढाईमा पनि राम्रो गर्दै छन् ।
कक्षामा सबैलाई शिक्षिका गोमाले तपाईँ भन्दै थिइन्, कारण सानैदेखि बच्चाहरुलाई अरुको आदर गर्न सिकाउने उद्देश्य रहेछ ।

पत्रुसबारे बताउँदै गएकी गोमाले जानकारी दिइन्, प्रचण्डलाई पत्रुसले ‘ठूलो बुवा’ भन्ने रहेछन् । खेल्दै गर्दा आफ्नी गुरुले कुरा गरेकी ठाउँमा आएका पत्रुससँग, ‘तिम्रो ठूलो बुवा, प्रचण्ड हो ?’ भन्दा जनाउ दिने गरी मुन्टो हल्लाए ।

शिक्षिका गोमाका अनुसार पत्रुस साथीहरुसँग मिलनसार छन् । सुरु सुरुमा कम बोल्ने भए पनि अहिले आफूसँग राम्ररी बोल्न भएको र पढाएको कुरा राम्रोसँग सिक्ने बानी पत्रुसको छ ।

अनि उनी खाजा लिन गए


खेल्दै–सिक्ने र सिक्दै खेल्ने क्रम चलिरहेकै थियो । बालबालिकाहरु यताउता गर्न थाले, शिक्षिका गोमाले घडी तर्फ हेर्दै भनिन्, ‘ए अब त खाजा खाने बेला भएछ ।’

त्यसपछि तरखर सुरु भयो । बिहान आउँदा खाजा ल्याउनेहरुले गुरुआमालाई राख्न दिने रहेछन् । सबैका खाजाका भाँडा लिएर गोमा बाहिर निस्कन थालिन्, भन्दै थिइन्, ‘पहिले यहिँ भित्रै खुवाउँथ्यौँ, तर पोखिने भएकाले बाहिर चउरमा जान थालेका छौँ ।’

कक्षाबाट सबै निस्किए, पत्रुस पनि । पत्रुसको खाजाको भाँडो थिएन । ‘पत्रुसलाई खाजाका लागि प्रचण्डले नै दैनिक ३० रुपैयाँको व्यवस्था गर्नु भएको छ । त्यसैबाट हामीले खाजा दिने गरेका छौँ । पहिला हामीले नै किनेर ल्याइदिने गरेका थियौँ, अचेल भने पत्रुस आफै जानु हुन्छ ।’
गोमाले यसो भनिरहँदा पत्रुस विद्यालयको चउर हुँदै मुल गेटबाट निस्केर अघितिरको पसल तर्फ लम्कँदै थिए ।

बाहिर चट्पटे बनाउँदै गरेकी पसले साहुनी भित्र पसिन् । सोधिन्, ‘खाजा लिन आएको पत्रुस ? आज तेरी ममीले बिस्कुट दिन भनेकी छन् ।’
यत्ति भन्दै पसले साहुनीले तीनवटा पार्लेजी बिस्कुट टेबुलमा राखिन्, पत्रुसले तीनवटै बिस्कुट लिए, अनि अघि गएकै बाटो फर्किए । पसले साहुनी जमुना पौडेलले भनिन्, ‘उसले आफै रोजेर खाजा लैजान्छ । कहिले बिस्कुट, कहिले चाउचाउ ।’

तीनवटा बिस्कुट लिएर साथीहरु बसेको ठाउँमा पुगेका पत्रुसले दाँतको सहयोगमा बिस्कुटको प्याकेट खोले । अनि खान थाले । केही साथीलाई दिए । घरबाट खाजा नल्याएका केही बाहेक सबैले खाजा खाए । त्यसपछि आफन्त लिन आउने र सबैलाई घर पठाउने जानकारी शिक्षिका गोमाले दिइन् ।

पत्रुस लागे घरतिर


स्कूलबाट घर फर्किँदै गरेका पत्रुस मुसहर ।

पत्रुसलाई लिन कोही आउने रहेनछन् । घर स्कुलबाट झण्डै १० मिनेटको पैदल दूरीमा । पत्रुसलाई गुरुआमाले झोला बोकाइ दिइन् । उनी निस्किए, अघि बिस्कुट किनेकै पसलमा ‘चिइगम’ किने ।

बिस्तारै घर तिर हिँडे । अघि विद्यालयमा हुन्जेल नबोलेका पत्रुस बोल्न थाले ।

आधाबाटो जति पुगेपछि पाइन्टको खल्ती देखाउँदै भने, ‘एउटा बिस्कुट त यहाँ छ ।’

तीनवटा बिस्कुट मध्ये एउटा उनले राखेका रहेछन् ।

‘कसलाई हो नि यो ?’

उनको जवाफ, ‘बैनीलाई ।’

पत्रुसकी बहिनी रहिछन् घरमा । पाँच महिनाकी ।

‘बैनीले कसरी खान्छिन् नि बिस्कुट ?’

पत्रुस बोले, ‘घोलीघोली गरेर खान्छ ।’

यति भन्दा भन्दै उनको घर पुग्न लागियो । उनले आफ्नो घर देखाए ।

घर पस्ने ठाउँमा आगो बालिएको ठाउँमा एक युवती भात खाँदै थिइन्, उठिन् । उनी पत्रुसकी आमा रहिछन्।

पत्रुसकी आमा र बहिनी ।

उनी लाज मान्दै थिइन् । भनिन्, ‘घर यस्तो छ ।’ उनको यस्तो छ, मा राम्रो छैन भन्ने भाव थियो । खडैको बारमा माटोले लिपिएको घरलाई पानीबाट जोगाउन कालो प्लाष्टिकले घेरिएको छ । भित्र पस्ने बित्तिकै एकतिर बिस्तरा र अर्को तिर भान्छा देखिन्छ । लुगाहरु त्यति व्यवस्थित थिएनन् । पत्रुसले स्कूल ड्रेस फेरेर टिभी हेर्ने जिद्दी गरे ।

गर्दागर्दै उनी बैनीसँग खेल्न थाले, आमालाई पिर्‍याउन पनि भ्याए । अनि पिङ्ग खेले, साइकल चलाए । भ्याए धेरै कुरा ।
छोराले पढ्ने स्कूलको नाम थाहा भएन

पत्रुस खेल्न थाले । आमाको नाम लक्ष्मी मुसहर रहेछ । लेखपढको अवसर नपाएकी । उनलाई छोराले पठ्ने स्कूलको नाम पनि थाहा रैनछ ।

पत्रुसलाई प्रचण्डले पढाई दिएका छन् भन्ने थाहा छ । पत्रुसले कहिले काहिँ घरमा ‘म प्रचण्डको छोरा हो’ भन्छन् रे । स्कूलको खर्च प्रचण्डले जोहो गरिदिए पनि अरु आवश्यकताहरुको जोरजाम पत्रुसका बुवाले गर्छन् ।

आश पनि त्यस्तो केही रहेनछ लक्ष्मीलाई, बस छोराले राम्रोसँग पढोस । आफूले प्रचण्डलाई कहिले नभेटेको लक्ष्मीले बताइन् ।

पत्रुसका बुवा सुरजकुमार मुसहर ।

गफगर्दा गर्दै उनका श्रीमान सुरजकुमार मुसहर आइपुगे । हामी पुग्दाको दिन मजदुरीको काम नपाएकाले घरमै रहेछन् उनी ।

सुरजकुमारलाई आफ्नो उमेर ३० वर्ष जति भयो कि जस्तो लाग्छ । प्रचण्डसँग उनको पनि भेट भएको छैन ।

छोरालाई पढाईदिएकोमा प्रचण्डलाई धन्यवाद दिन्छन् सुरज । उनले पनि स्कूल टेकेका रहेनछन् । उनले भने ‘नाम पूरा लेख्न त आउँदैन, तर सुरज चाहिँ लेख्न सक्छु ।’

दुःखजिलो गरेर जीविका चलाइरहेका सुरजलाई आफ्नो छोराले सकेसम्म राम्रो पढोस् भन्ने छ तर कुनै त्यस्तो ठूलो अपेक्षा भने छैन ।

पत्रुसको विद्यालय कहिले काहिँ जाने उनकी हजुरआमा भौजिया मुसहरले भने प्रचण्डलाई भेटेकी रहिछन्। उनी पनि खुशी थिइन् । नातिले पढ्न पाएकोमा उनी खुशी छन् ।

प्रचण्ड अभिभावकत्व–दुई, अरुण माझी मुसहर


प्रचण्डले अभिभावकत्व लिएका अरुण माझी मुसहर ।

पत्रुसलाई विद्यालयदेखि घरसम्म पछ्याउँदै जाँदा उनको परिवारको अवस्था र सपनाको सामान्य ‘स्केच’ बनेको थियो । त्यसपछि हामी प्रचण्ड नै संरक्षक रहेका अर्का बालकलाई भेट्न लाग्यौँ ।

अरुण माझी मुसहरको अभिभाकत्व पनि गएको वैशाखमा प्रचण्डले लिएका हुन् । उनी एक कक्षामा पढ्छन् । ६ वर्ष पुगेका उनी विद्यालय आएका थिएनन्, त्यसैले उनको घर तिर लाग्यौँ ।

विद्यालयका शिक्षक–शिक्षिकाहरु ‘पत्रुसको त राम्रै छ, अरुणको चाहिँ त्यति राम्रो छैन, स्कूल पनि नियमित आउने गरेका छैनन्’ भन्दै थिए ।

हामी अरुणको घर सोध्दै पुग्यौँ, दर्दहनीको मुसहर गाउँ । चार–पाँच परिवार माझी मुसहरको घर रहेको बस्ती बर्दाहा जंगलको छेउमा छ । बस्ती नजिकै बाक्लो काँसघारी अनि त्यो भन्दा पर अबिरल बग्ने नारायणी नदी ।

अरुणको घर खोज्दै जाँदा उनका ठूलो बुवाको घर पुगियो । राजु माझी मुसहर, बाटै छेउमा रहेको घरको आँगनमा बसेर बिँड बनाउन काठ खुर्किँदै थिए । उनले बाटोमा खेलौना गाडा गुडाउँदै आएका केही बालकहरु तिर देखाउँदै ‘उ त्यहि हो अरुण, आउँदै छ’ भने ।


केहीबेरमा अरुण आइपुगे कालो रंगको हाफ पाइन्ट र निलो स्वीटरमा । मुख वरिपरी टाटा बसेको । धुलाम्य हात र उस्तै धुलाम्य तर खाली गोडा । अरुणले ‘यिनीहरु किन आएका होलान् ?’ भन्ने भावमा हेरिरहे ।

उनी अनकनाउँदै बोल्न थाले । स्कूल नगएकाले हुन सक्छ, उनी केही अप्ठ्यारो मान्दै थिए । अरुण साथीहरुसँग मिलेर घरबाट अलि पर बाटोको छेउमा रहेको बयरको झ्याङ्गमा बयर खान गएका रैछन् । मुखको वरिपरी लागेको टाटो बयरको रैछ ।

‘अरुणले स्कूल किन नगएको नि ?’ भन्दा केही बोलेनन् ।

अनि ‘तिम्रो घर कुन हो ?’ भन्दा हातले इसारा गरेर देखाए ।

हामी झसङ्ग भयौँ ।

गोठ जस्तै घर


प्रचण्डले अभिभावकत्व लिएका अरुण माझी मुसहरको घर ।

अरुणले ‘हाम्रो घर त्यो हो’ भनेर देखाएको खरले छाएको छानो र खाँबाहरुको संरचना घर जस्तो थिएन । उनको घरमा ढोका थिएन । झ्याल र भित्ताहरु थिएनन् । खुल्ला थियो, जताबाट पसे हुने, जताबाट निस्के पनि हुने ।

घर सुरक्षाको भरोसा दिलाउने संरचना । तर अरुणको घरले भरोसा भन्दा डरको बास मनमा गराउने खालको देखियो । ढोका बिहीन वा अर्को अर्थमा ढोकै ढोका भएको घरको पश्चिम तिर एक युवा सुतिरहेका थिए ।

उनी अरुणका बुवा रहेछन् । रक्सी खाएर लडेका, उनलाई उठाउन बेर लाग्यो । प्रायः यसैगरी रक्सीमा लट्ठ हुने रहेछन् । अरुणका कान्छो हजुरबुवा सम्भू मुसहरले उनको आनीबानी बताए ।

प्रचण्डले अभिभावकत्व लिएका अरुण माझी मुसहरका बुवा ।

मैला खुट्टा, उध्रिएको गुन्द्रिमा सुतेका अरुणका बुवाको नाम राजकुमार माझी मुसहर रहेछ । २७–२८ वर्ष उमेर बताउने उनलाई आफ्नो छोराको अभिभाकत्व प्रचण्डले लिएकाे जानकारी रहेछ ।

राजकुमारले आफू स्कूल गएर छोराछोरीको पढाईबारे बुझ्ने गरेको बताए तर अरुण किन स्कूल गएनन् भन्ने थाहा भएन ।

करो झुक्लेको कराईमा भात पाकाउँदै दिदी


अरुणकी हजुरआमा रक्सीमा लट्ठ हुने छोरा र साना नातिनातिनाको पेट भर्नका लागि सिला खोज्न गएकी थिइन् । साझापुर माविमै तीन कक्षामा पढ्ने अरुणकी दिदी अरुणा, खाना पकाउँदै थिइन् ।

खाना पकाउँदै गरेकी अरुणकी दिदी अरुणा ।

खुल्ला घरमा तीनवटा ढुंगा जोडेर बनाएको अगेनोमा अरुणाले आगो बाल्दै थिइन् । धुवाँ उड्दै गरेको अगेनोमा कराई बसालिन् । तरकारी के पकाउने थाहा थिएन । बिहानको खाना अलिकति बचेको थियो ।

अरुणालाई काम गर्नु भन्दा पनि राति भित्ता बिहीन घरमा बस्नु डर लाग्दो रहेछ । ‘राति डर लाग्छ । जाडो हुन्छ । बाघ आउँछ कि जस्तो लाग्छ ।’ घर नजिकैको जंगलले त्यो डर बढाएको थियो । अरुणा, उनका भाइ अरुण र सारुन अनि बुवा राजकुमारसँगै सुत्छन् ।

अरुणकी आमा उनीहरुको साथमा छैनन् । बुवाको रातदिनको टोकसोका कारण उनी अर्कै बिहे गरेर गएकी रहिछन् । प्रचण्डले अभिभावकत्व लिएका अरुण र उनकी दिदी तथा भाइको अवस्था विचल्लीको छ ।

उनीहरुलाई हरेक दिन स्कूल जाने मन छ । बारबेर गरेको घरमा बस्ने मन छ । अनि जाडो थेग्ने लुगा उनीहरुको रहर ।

चप्पल बिहीन अरुणको गोडा । उनका भाइ र दिदीका गोडा पनि खाली नै थिए ।

आफूहरु विद्यार्थीहरुका लागि केही गर्न इच्छा भए पनि स्रोतको अभावले भने जस्तो गर्न नसकिएको साझापुर माविको विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष लालु अधिकारीको प्रतिक्रिया थियो । अरुणको सवालमा आफूहरु पनि चिन्तित रहेको उनको भनाई छ ।

तर अभिभावकत्व एउटा प्रचारको अश्त्र नभई जिम्मेवारी र निष्ठाको विषय बन्यो भने शायद अरुण र पत्रुसको भविष्य उज्ज्वल हुनेछ ।

अरुणका भाइ सारुन ।

तस्बिरहरु : टंक ढकाल/देश सञ्चार

पुस १४, २०७५ मा प्रकाशित