रेष्टुरेण्टबाट ग्राहकको आइफोन चोरी गर्ने युवक प्रहरीको खोरमा

सांकेतिक तस्बिर।

पोखरा – पोखराको लेकसाइडस्थित रेष्टुरेण्टमा आफुसँगै बसेका ग्राहकको खल्तीबाट मोबाइल चोरी गर्ने स्याङ्जाका साहिल अली पक्राउ परेका छन्।

पोखरा फूलबारीका आयुश मगरको ज्याकेटको खल्तीबाट आइफोन एक्स मोबाइल चोरेर भागेका अली शुक्रबार राति लेकसाइडस्थित अतिथि रिसोर्ट अगाडिबाट पक्राउ परेका हुन्।

अलीले बिहीबार राति लेकसाइडको बिजिबी रेष्टुरेन्टमा रातको १२ बजे आयुशको फोन चोरी गरेको अभियोग लगाएको छ।

मोबाइल चोरी भएपछि वडा प्रहरी कार्यालयमा मगरले उजुरी दिएका थिए। मगरको उजुरी पश्चात वडा प्रहरी कार्यालय बैदामले रेष्टुरेण्टको सिसी क्यामेरा फुटेजको आधारमा चोरी गर्नेको पहिचान गरि खोजीकार्य तीब्र बनाएको थियो।

सोही क्रममा शुक्रबार राति वडा प्रहरी कार्यालय बैदामको सादा पोशाकको प्रहरी टोलीले अलिलाई स्कुटरसहित नियन्त्रणमा लिएको हो। प्रहरीले नियन्त्रणमा लिएपछि अलीले सुरुमा आफुले चोरी गरेको भनी स्वीकार गरेका थिएनन्।

प्रहरीले जब स्कुटरको डिकी खोली हेर्दा चोरी भएको मोबाइल भेटिएपछि अली नै अभियुक्त भएको खुल्न आएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक नवीन कार्कीले जानकारी दिएका हुन्।

बैदाम प्रहरी प्रमुख कार्कीका अनुसार सिसी क्यामेराको आधारमा रेष्टुरेण्टमा चोरी गर्ने चोर समातिएको यो पहिलो घटना होइन।

यसअघि सिसी क्यामेराको आधारमा ट्याक्सीमा छुटेको चार लाख रुपैयाँ बैदाम एरियाकै सिसी क्यामेरा फुटेजको आधारमा फेला पारेर दिइएको छ।

छोरेपाटनमा राखिएको सिसी क्यामेराको आधारमा केही साइकल चोरहरुलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याइएको कार्कीले बताए।

वडा प्रहरी कार्यालय बैदामको मातहताम रहने गरी लेकसाइडको खहरेदेखि डिहीको पाटनसम्म २६ ठाउँमा सिसी क्यामेरा राखिएको छ।

लेकसाइड क्षेत्रमा कुनैपनि घटना घटाएर भाग्ने जो कोही पनि सिसी क्यामेरामा कैद हुने र प्रहरीले त्यसैको आधारमा अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउन सजिलो हुने देखिन्छ।

दुर्घटना, चोरी डकैती, हिट एण्ड रन, ट्याक्सीमा सामान छुटेमा र कुनै पनि घटना घटेमा सिसी क्यामेराको आधारमा अपराधी पत्ता लगाउन सजिलो हुने भएकाले व्यावसायिक संघ सस्थाहरुले सिसी क्यामेरा अनिवार्य राख्दा राम्रो हुने कार्कीले बताए।

पछिल्लो समय पोखराको छोरेपाटन क्षेत्रमा डेभिड फल्स युवा क्लब र विभिन्न क्लबहरुको सहयोगमा १२ वटा सिसी क्यामेरा राखिएको छ। उक्त क्यामेराले छोरेपाटन क्षेत्रमा हुने कुनैपनि घटनाहरुका बारेमा अनुसन्धानमा सहयोग पुग्ने देखिन्छ।

पुस १४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्