९१ औँ मिनेटको गोलले दिलायो अमूल्य जित

रेलिगेशन जोनबाट माथि उक्लिन प्रयासरत फुलह्यामले त्यसमा महत्वपूर्ण कदम चालेको छ । टिम समस्या पुगेपछि नियुक्त भएका प्रशिक्षक क्लाउडियो रानिएरीले फुलह्यामलाई आउँदो सिजन प्रिमियर लिग फुटबलमै टिकाउने संकेत दिँदै गएका छन् ।

तीन वर्षअघि अप्रत्यासित रुपमा लेस्टर सिटीलाई इंग्लिस प्रिमियर लिगको उपाधि दिलाएका प्रशिक्षक रानिएरीले यो सिजन फुलह्यामलाई जोगाउने प्रयास गरिरहेका छन् ।

लिग अन्तर्गत शनिबार राति भएको खेलमा फुलह्यामले हडर्ल्सफिल्डमाथि महत्वपूर्ण जित निकालेको हो । घरेलु मैदानमा भएको खेलमा फुलह्यामले हडर्ल्सफिल्डमाथि १–० को जित निकालेको हो । उसको जितमा एलेक्सान्ड्र मिट्रोविकले गरेको गोल नै निर्णायक बनेको हो ।

खेल गोलरहित बराबरीको अवस्थामा सकिने लगभग निश्चित हुँदै गएका बेला मिट्रोविकले इन्जुरी समयको पहिलो मिनेट अर्थात ९१ औँ मिनेटमा गोल गर्दै रानिएरीको टिमलाई महत्वपूर्ण जित दिलाएका हुन् ।

पछिल्लो सात खेलमा फुलह्यामको यो पहिलो जित हो । जितपछि फुलह्याम २० खेलबाट १४ अंकसहित १८ औँ स्थानमा पुगेको छ । उ रेलिगेशन जोनबाट माथि रहेको साउथह्याम्पटन भन्दा एक अंकले पछि छ भने १९ औँ स्थानको बर्नली भन्दा दुई अंकले अघि रहेको छ ।

लगातार सात खेलमा हार बेहोरेको पुछारको हडर्ल्सफिल्डको १० अंक मात्रै छ । शनिबार राति नै भएका अरु खेलमा ब्राइटनले एभर्टन तथा कार्डिफले लेस्टर सिटीलाई समान १–० ले हरायो । अर्को खेलमा वाट्फोर्डले न्युक्यासलसँग १–१ को बराबरी खेलेको छ ।

पुस १५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्