रोनाल्डो चम्किए, भिएआरले साथ दियो

इटालियन सिरी ए फुटबल अन्तर्गत शनिबार राति भएको लिगलिडर युभेन्टस र साम्पाडोरिएबिचको खेलमा भिडियो एसिस्टेन्स रेफ्री (भिएआर) को भूमिका महत्वपूर्ण रह्यो ।

घरेलु मैदानमा भएको खेलमा युभेन्टसले साम्पाडोरिएलाई २–१ ले हरायो । यो खेलमा इन्जुरी समयमा साम्पाडोरिएको तर्फबाट भएको गोललाई भिएआरले मान्यता दिएन, अर्थात बराबरी हुन पाएन ।

युभेन्टसको जितमा दुवै गोल क्रिष्टियानो रोनाल्डोले गरेका हुन् । साम्पाडोरिएका लागि फाबियो क्वाइग्लारेलाले गोल गरेका हुन् ।

खेलको दोस्रो मिनेटमा नै रोनाल्डोले गोल गर्दै युभेन्टसलाई सुरुवाति अग्रता दिलाए । एम्री क्यानले करनरमा ह्याण्डबल गरेका कारण साम्पाडोरिएले पेनाल्टी पायो ।

यो पेनाल्टी दिनका लागि रेफ्रीले पाओलो वालेरीले भिएआरको सहायता लिएका हुन् । ३३ औँ मिनेटमा पेनाल्टीमार्फत क्वाइग्लारेलाले साम्पाडोरिएका लागि बराबरी गोल गरे ।

६५ औँ मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत नै युभेन्टसका लागि व्यक्तिगत दोस्रो गोल गरे र टिमलाई अग्रता दिलाए । युभेन्टसले पनि भिएआरमार्फत नै पेनाल्टी पाएको हो ।

खेलको इन्जुरी समयमा साम्पाडोरिएका रिकार्डो सापोनाराले गोल गरेका थिए । तर भिएआरमार्फत पुनरावलोकन गर्दा उनका गोलले मान्यता पाएन र टिम पराजित भयो अर्थात युभेन्टस बराबरीमा रोकिनु परेन ।

रोनाल्डोले सिरी ए मा अहिलेसम्म १४ गोल गरेका छन् ।

जितपछि शीर्षस्थानको युभेन्टसको १९ खेलबाट ५३ अंक भएको छ । उ दोस्रो स्थानको नापोली भन्दा ९ अंकले अघि रहेको छ । लिग अन्तर्गत शनिबार राति नै भएको खेलमा नापोलीले बोलोग्नालाई ३–२ ले हरायो ।

पुस १५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्