सडकजस्तो बाँधमा पानीको निकास दिन भारतसँग आग्रह

भारतीय राजदुताबासका कर्मचारी जयसवाललाई आफ्ना समस्या सुनाउदै मेयर राणा ।

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणाले भारतले दशगजासँग सटाएर निर्माण गरिरहेको सडकजस्तो बाँधमा पानीको आवश्यक निकास निकालिदिन भारतीय राजदुताबासका अधिकारीसँग आग्रह गरेका छन् ।

नेपालगञ्ज आइपुगेका भारतीय राजदुताबासका वरिष्ठ अधिकृत निरजकुमार जयसवालसँग मेयर राणाले नाकामा बनिरहेको सडकजस्तो बाँधमा नेपालतर्फबाट जाने खोला, नालाको निकास निकालिदिन आग्रह गरेका हुन् ।

भारतले बाँकेको हिरमिनिया, पिप्रहवा क्षेत्रमा अहिले सडकजस्तो बाँध निर्माण गरिरहेको छ । यहाँ बनिरहेको सडकजस्तो बाँधमा पानीको उचित निकास नभए नेपालगञ्ज उपमहानगरपालिका नै डुवानमा पर्ने खतरा छ ।

भारतले मेचीदेखि महाकालीसम्म नै नेपाली नाकामा सडकजस्तो बाँध निर्माण गरिरहेको छ । जसलाई सीमाक्षेत्रका बासिन्दाले विरोध गरिरहेका छन् । तर, सरकारले कुनै सुनुवाई गरेको छैन ।
भारतीय दुताबासका वरिष्ठ अधिकृत जयसवाललाई मेयर राणाले भने, ‘हामीले भन्दैमा भारत सरकारले सडकजस्तो बाँध निर्माण नै रोक्न त सक्दैन होला । तर, हाम्रोतिरबाट बग्ने खोला र नालाको उचित निकास निकालिदिनुस् । जसले गर्दा नेपाली भूभाग डुवानमा नपरोस् । त्यही बाँधका कारण नेपाली जनता डुब्दा भारत सरकारलाई राम्रो त पक्कै लाग्दैन होला ।’

भारतीय दुताबासका वरिष्ठ अधिकृत जयसवालले मेयर राणाको कुरालाई आफ्ना उच्च अधिकारीसमक्ष यो कुरा पुर्‍याइदिने प्रतिबद्धता गरेका छन् । ‘मैले तपाईको कुरा नोट गरेको छु । म उच्च अधिकारीसमक्ष यो कुरा पुर्‍याइदिन्छु,’ जयसवालले भने ।

भारतले सन् १९८५ मा राती नदीमा बनाएको लक्ष्मणपुर बाँध र सन् २००० दशगजामा निर्माण गरेको कलकलवा तटबन्धका कारण बाँकेको सयौ विगाह जमिन डुवान, पटान र कटानमा परेको छ । अहिलेसम्म चार हजार बढी विगाह जमिन मरुभूमि भइसकेको लक्ष्मणपुर बाँध संघर्ष समितिका सचिव राजकुमार शुक्लाले बताए । लक्ष्मणपुर बाँध र कलकलवा तटबन्धका कारण पीडित बन्दै भएका राप्ती नदी तटीय क्षेत्रका बासिन्दाहरु भारतले कलकलवा तटबन्धलाई सडकजस्तो बाँधको रुपमा बिस्तार गरेपछि अझ त्रसित भएका छन् ।

भारतले दक्षिण सीमामा पुरै ठाउँमा सडकजस्तो बाँध निर्माण गरिरहेपछि नेपालतर्फबाट बग्ने नदी, खोला र नालाको निकास यसले रोकिदिने गरेको छ । भारतले सडकजस्तो बाँधको केही ठाउँमा कल्भर्ट निर्माण गरेको छ । त्यो ‘हुनुपर्ने जति र पायक पर्ने ठाउँमा’ नरहेको लक्ष्मणपुर बाँध संघर्ष समितिका सचिव शुक्लाले बताए ।
संघर्ष समितिले स्थानीय प्रशासन, मुख्यमन्त्री हुँदै परराष्ट्रमन्त्रीसम्म नै सडकजस्तो बाँधको निर्माण रोकिदिन आग्रह गरेपनि सुनुवाई भएको छैन । भारतले भने धमाधम काम अगाडि बढाइरहेको छ ।

पुस १५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्