ट्राफिक सचेतनाका लागि ब्याण्ड बाजासहितको र्‍याली

नेपालगञ्ज – नेपालगञ्जमा ट्राफिक सचेतनाका लागि प्रहरीले ब्याण्डबाजासहितको र्‍याली निकालेको छ ।

समुदाय प्रहरी पालिका समिति, नेपालगञ्जको आयोजनामा प्रहरीले आइतबार विहान ट्राफिक सचेतना र्‍याली निकालेको हो । ‘ट्राफिक सभ्यताको विकास गर्न र दुर्घटना न्यूनीकरणका लागि’ र्‍याली निकालेको वडा प्रहरी कार्यालय, नेपालगञ्जका इन्चार्ज नारायण डाँगीले बताए ।
त्रिभुवनचोकस्थित उद्योग बाणिज्य संघको कार्यालय अगाडिबाट निस्केको र्‍याली सदरलाइन, त्रिवेणीमोड हुँदै धम्बोझीमा पुगेको थियो ।

र्‍यालीमा प्रहरीको मात्रै उपस्थिति थियो । नेपालगञ्जका मेयर धवलशमशेर राणा, प्रमुख जिल्ला अधिकारी मदन भुजेल, नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य, एसपी अरुण पौडेल, सशस्त्रका एसपी भेषहादुर शाहलगायत र्‍यालीको अग्रपंक्तिमा थिए ।

मेयर राणा, प्रजिअ भुजेल, संघका अध्यक्ष बैश्य र एसपी पौडेलले ट्राफिक नियमको पालना गरेमा दुर्घटना न्यूनीकरण हुने दोहोर्‍याए । ट्राफिक प्रहरीले नेपालगञ्जमा हर्न निषेध गरेको छ । नेपालगञ्ज बजारका ठाउँठाउँमा उपमहानगरपालिकाले पार्किङस्थल तोकेको छ । तीब्रगति रोक्ने, सवारी चलाउँदा मोबाइलमा कुरा गर्न बन्द गर्नुपर्ने, तोकेको ठाउँमा पार्किङ गर्नुपर्ने कुराहरु सचेतना कार्यक्रममार्फत जानकारी गराइएको छ । जिल्ला ट्राफिक प्रहरीका इन्चार्ज हिरेन्द्र रोकायले ट्राफिक नियम पालना गर्ने हो भने दुर्घटना न्यूनीकरण हुने बताए ।

ट्राफिक प्रहरीले सवारी चालक तथा यात्रुहरुलाई यस्तो सचेतना गराइरहदा नगर क्षेत्रमा रहेका छाडा पशु अर्को चुनौत बनेका छन् । सडकमा जताततै रहने छाडा पशुले दुर्घटना र शहरमा फोहोर बढाएका छन् । नगरपालिकाले छाडा पशु नियन्त्रण गर्न सकेको छैन । पछिल्लो समयमा त छाडा पशुबारेमा सबै चुप छन् । पुरानो कान्जीहाउस बन्द भएको छ ।

नयाँ बनिसकेको छैन । छाडा पशु नियन्त्रण अभियान रामभरोसे भएको छ । दुर्घटनामा बढाउनुमा अटोरिक्साले पनि मद्दत पुर्‍याएको छ । हजारौंको संख्यामा रहेका अटोरिक्साको ट्राफिक व्यवस्थापन हुन नसक्दा दुर्घटना हुने गरेका छन् । जिल्ला ट्राफिक इन्चार्ज रोकायले अटोरिक्सा व्यवस्थापनमा लागि परेको बताए ।

यसैबिच, इलाका प्रहरी कार्यालय, जमुनाहाले भारतबाट हेल्मेट नलगाई आउनेलाई कडाई गरेको छ । सीमावर्ती भारतीय बजारमा हेल्मेट नलगाई मोटरसाइकल चलाउने भारतीयहरु नेपालतर्फ आउदा पनि हेल्मेट नलगाई आउने गर्दछन् । जमुनाहामा इन्चार्ज बसन्तकुमार बस्नेतले हेल्मेट नलगाई नेपालतर्फ आउने भारतीयलाई पहिलो चरणमा सम्झाउने अभियान थालेका छन् । केह दिन सम्झाउदा पनि नमानेमा जरिवाना गराउने बस्नेतले बताए ।

नेपालगञ्जमा दैनिक सयौं भारतीय मोटरसाइकल आउँछन् । सीमावर्ती बजार रहेकाले एक दिनका लागि पर्ची काटेर नेपाल आउन पाइन्छ । भारतीयहरुले नेपालगञ्ज बजारसम्म आउदा हेल्मेट लगाउने गरेपनि सीमा आसपासमा आउदा हेल्मेट नलगाई आउने गर्दछन् । नाकामा रहेको जमुनाहा प्रहरीले नेपालभित्र प्रवेश गर्दा हेल्मेट लगाउनै पर्ने बताइरहेको छ ।

ट्राफिक प्रहरीले थालेको हर्न निषेध अभियानमा पनि भारतीय सवारी साधनले उल्लंघन गरिरहेका छन् । भारतमा त्यस्तो नियम नभएकाले यता आउदा पनि उनीहरुले हर्न बजाइरहेका छन् । तर, प्रहरीले त्यस्तालाई कारबाही अभियान थालिसकेको छ ।

पुस १५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्