दूध राखेको भाँडाबाट ब्राउनसुगर बरामद, दम्पतीसहित ४ जना प्रहरीको फन्दामा

बिर्तामोड – अर्जुनधारा नगरपालिका–१० कालिस्थानस्थित एउटा घरमा डेरा गरी बस्ने दम्पतीको कोठाबाट ठूलो मात्रामा लागुपदार्थ ब्राउन सुगर प्रहरीले बरामद गरेको छ।

ताप्लेजुङ थुम्बेदिन स्थायी घर भएका तथा अर्जुनधारा १० मा डेरा गरी बस्दै आएका भीमबहादुर अधिकारीले दुध हालेको भाँडोमा प्लास्टिकमा पोको पारेर लुकाएको अवस्थामा २ सय २ ग्राम ब्राउनसुगर प्रहरीले बरामद गरेको हो।

घरमा खान तलासी गर्न आउने कसैले पनि थाहा नपाओस् भनेर दुध हालेको भाँडामा राखिएको अवस्थामा ब्राउन सुगर भेटिएको लागुऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाका प्रहरी नायव निरीक्षक अनुप निरौलाले बताए।

प्रहरीले अधिकारीसहित उनकी पत्नी ओममाया खतिवडा अधिकारी तथा कचनकवल गाउँपालिका–२ की रेवतीमाया डाँगीलाई नियन्त्रणमा लिएको छ।

प्रहरीले ३१ ग्राम ब्राउनसुगरसहित पाँचथर फाल्गुनन्द गाउँपालिका २ स्थायी घर भएका तथा दमक नगरपालिका ६ बस्दै आएका संग्रामसिंह आङदेम्बेलाई पनि पक्राउ गरेको छ।

आङदेम्बेलाई पक्राउ गरेपछि अधिकारी दम्पतीलाई पक्राउ गर्न सहज भएको प्रहरीले जनाएको छ।

लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट प्राप्त सूचनाका आधारमा ब्राउन सुगर कारोबारी आङदेम्बेलाई खोज्न जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय अनारमनी तथा लागुऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले बताए।

लागुपदार्थ कारोबारी चारै जनालाई शनिबार पक्राउ गरिएको एसपी ढकालले बताए। जम्मा २ सय ३३ ग्राम ब्राउन सुगर बरामद गरिएको उनले जानकारी दिए। ढकालका अनुसार यो परिणाम झापामा बरामद भएको ब्राउन सुगरको मात्रा अहिलेसम्मकै ठूलो हो।

उक्त मात्राको लागुपदार्थ छिमेकी मुलुक भारतको सीमावर्ती बजारबाट कारोबारीले खरिद गरेर ल्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायव उपरीक्षक कृष्ण कोइरालाले बताए।

आइतबार अपरान्ह प्रहरीले पत्रकार सम्मेलन गरी बरामद लागुपदार्थसहित नियन्त्रणमा लिइएका चारै जनालाई सार्वजनिक गरेको छ।

बरामद गरिएको ब्राउनसुगर राजधानी काठमाडौँ लगेर बिक्री गर्ने योजनामा उनीहरु रहेको खुलासा भएको प्रहरीले जनाएको छ।

लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार २५ ग्रामदेखि एक सय ग्रामसम्मको कारोबार गर्नेलाई दश वर्षदेखि पन्ध्र वर्षसम्म कैद र ७५ हजार रुपैयाँदेखि २ लाख रुपैयाँसम्म जरिवाना र एक सय ग्रामदेखिमाथि जतिसुकै परिमाणको कारोबार गर्नेलाई पन्ध्र वर्षदेखि जन्म कैद र पाँच लाख रुपैयाँदेखि २५ लाख रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ।

पुस १५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्